थारु महिला उत्थान समाजद्वारा अपाङ्गता विद्यार्थीलाई पोशाक सहयोग


सुनसरी, कात्तिक १६ गते । सुनसरीको झुम्कामा कार्यरत थारु महिला उत्थान समाजले स्थानीय रामधनुी ३ स्थित जनता माध्यमिक विद्यालयका अपाङ्गता भएका २१ जना विद्यार्थीलाई जाडोमा लगाउने जंक–शुट थान २१ वितरण गरेको छ ।

दीपावलीको अवसरमा देउसी भैली खेलेर संकलन गरिएको रकममध्ये २० हजार रुपैयाँको न्यानो कपडा किनेर बालबालिकालाई वितरण गरिएको समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो । अरुले देउसी भैली खेलेर संकलन गरेको रुपैयाले वनभोज खाएर सक्काउँछन्, हामीले बालबालिकालाई न्यानो कपडा वितरण गर्यौ उहाँले भन्नुभयो ।

न्यानो कपडा सँगसँगै कापी, कलम र पेन्सील पनि सो बालबालिकालाई वितरण गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । नर्सरी कक्षादेखि १४ वर्ष उमेर रहेका विद्यार्थीलाई सो सामान एक समारोहकाबीच वितरण गरिएको चौधरीले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र पौडेलले थारु उत्थान समाजले समाजमा सराहनीय काम गर्दैआएकोमा प्रशंसा गर्नुभएको थियो । सरकारले गर्नुपर्ने काम संघ संस्थाले गर्नु भनेको आफैमा राम्रो काम हो, यस्तो सामाजिक कामकाजलाई संघ संस्थाले जारी राखेमा समाज परिवर्तन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामधनुी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार चौधरी, वडा नं ४ का वडाअध्यक्ष मनेसकुमार चौधरीको उपस्थितिमा राहत सामग्री वितरण गरिएको उत्थान समाजकी अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सो अवसरमा अन्य समाजसेवी, सञ्चारकर्मी तथा उत्थान समाजका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, उत्थान समाजले रामधुनी २ मा घर भएकी रमिता चौधरीको घरमा आगलागी भई सम्पत्ति नष्टभएकाले सो अवसरमा केही सहयोग होस भनेर केही नगद सहयोग गरिएको उत्थान समाजकी कोषाध्यक्ष आशा चौधरीले बताउनुभयो । संस्थाको तर्फबाट नगद पाँचहजार एक रुपैयाँ सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

सो सहयोगले केही भएपनि पीडितलाई राहत पुग्ने विश्वासकासाथ सहयोग गरिएको सो संस्थाकी उपाध्यक्ष विमला चौधरीले बताउनुभयो । अध्यक्ष सीता चौधरीको नेतृत्वमा गएको सहयोग टोलीमा समाजका अन्य सदस्यहरुको पनि सहभागिता थियो ।

स्थानीयस्तरमा २०६५ सालदेखि गतिविधि गर्दैआएको थारु महिला उत्थान समाज २०७३ सालमा स्थानीय प्रशासनमा दर्ता भएर गैरसरकारी कार्यालयकोरुपमा कार्यरत रहेको छ । स्थानीयरुपमा विभिन्न सामाजिक गतिविधिहरु गर्दैआएको उत्थान समाजले महिलाको सशक्तीकरण, संस्कृतिको जगेर्नाको अभियानसँगै, आपतविपतमा परेकाहरुको राहतको काम गर्दैआएको छ ।

तपाईको प्रतिक्रिया