थारु पत्रकार संघको केन्द्रीय अधिवेशन शनिबारदेखि सुनसरीमा शुरु


सुनसरी, कात्तिक १७ गते । थारु पत्रकार संघ नेपालको तेस्रो केन्द्रीय अधिवेशन शनिबारबाट सुनसरीको झुम्कामा शुरु भइरहेको छ । अधिवेशनमा भाग लिन काठमाडौं उपत्यकासहित १३ जिल्ला शाखाका प्रतिनिधि झुम्कामा शुक्रबार साँझसम्म जम्मा भइसकेको आयोजकले बताएको छ ।

२०६७ साल चैत १६ गते विधिवत केन्द्रमा दर्ता भई सञ्चालनमा रहेको थारु पत्रकारको साझा संगठनकोरुपमा रहेको पत्रकार संघमा देशभरका करिब अढाईसय पत्रकार गोलबद्ध रहेका छन् । एक जिल्लाबाट तीनजना प्रतिनिधिलाई भागलिन सर्कुलर केन्द्रले गरेपनि पश्चिम नेपालको कैलाली, बाँके, द ाङ, रुपन्देही जिल्लाबाट दश जनाको संख्यामा प्रतिनिधि सुनसरी पुगेको संघ सुनसरीका अध्यक्ष कुलदीप चौधरीले बताउनुभयो ।

अधिवेशनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु पनि शुक्रबार साँझ सुनसरीको झुम्का पुगिसकेको स्थानीय आयोजक संघका अध्यक्ष चौधरीले बताउनुभयो । अधिवेशनमा करिब एकसय थारु पत्रकारको सहभागिता रहने आयोजकले बताएको छ ।  थारु समुदायको भाषा, संस्कृतिको उत्थान, थारु अधिकारको विषय तथा सञ्चारमाध्यममा थारु पत्रकारको उपस्थिति र सहभागिताका लागि पहल गर्ने उद्देश्यसाथ गठन भएको संघको हरेक दुई वर्षमा नयाँ कार्य समिति चयन हुनेगर्छ ।

अधिवेशनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु पनि शुक्रबार साँझ सुनसरीको झुम्का पुगिसकेको स्थानीय आयोजक संघका अध्यक्ष चौधरीले बताउनुभयो ।

यसअघिसम्म संघको नेतृत्व जयप्रकाश थारु, विनिता चौधरी, लक्की चौधरीले गरिसक्नुभएको छ । अहिले कृष्णराज सर्वहारी संघको अध्यक्षमा रहेपनि शनिबार हुने अधिवेशनबाट नयाँ कार्य समिति चयन हुने आयोजकले बताएको छ । अधिवेशनको तयारी पूरा भएको सुनसरी शाखाले बताएको छ ।

झुम्काबजारस्थित कृषि तालिम केन्द्रमा सम्पन्न हुन गइरहेको अधिवेशनका लागि शनिबार विहान झुम्काबजारमा प्रभातफेरि गरिने, विहान ९ बजेदेखि उद्घाटनसत्र शुरु गरी साँझसम्म नयाँ कार्य समिति चयन गरिसक्ने तयारी भएको केन्द्रीय अध्यक्ष सर्वहारीले बताउनुभयो । थारु पत्रकार संघ नेपालका पत्रकारहरु देशभरबाट १७४ जना नेपाल पत्रकार महासंघको सदस्य रहेका छन् । अधिवेशनमा स्थानीय संस्था थारु महिला उत्थान समाजले सहयोग गरिरहेको संघ सुनसरीले जनाएको छ ।

संघको कञ्चनपुर, कैलाली, वर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चित्तवन, बारा, सप्तरी, सुनसरी, मोरङमा जिल्ला शाखा र काठमाडौं उपत्यकामा केन्द्रीय समिति रहेको छ ।

तपाईको प्रतिक्रिया