
लक्की चौधरी
झम्का (सुनसरी), कात्तिक १९ गते । नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले स्थानीय विकास र आर्थिक समृद्धिकालागि सहयोग गर्न मतदाताहरुसँग आग्रह गर्नुभएको छ ।
थारु पत्रकार संघ नेपालको तेस्रो केन्द्रीय अधिवेशनको शनिबार यहाँ उदघाटन गर्दै चौधरीले त्यस्तो आग्रह गर्नुभयो । “पटक पटक सहयोग गर्नुस् भन्दिनँ, यहाँको परिवर्तन र आर्थिक समृद्धिकालागि एक पटक मलाई सहयोग गरिदिनुस्” उहाँले भन्नुभयो । स्थानीयस्तरमा प्रविधिमैत्री शिक्षाको खाँचो औल्याउँदै उहाँले थारुमा शैक्षिक जागरण नल्याउँदासम्म परिवर्तन सम्भव नहुने बताउनुभयो । त्यसकालागि आफू निर्वाचितभएमा स्थानीयस्तरमा प्रविधिमैत्री शिक्षाको व्यवस्था गर्ने योजना आफूसँग रहेको दावी गर्नुभयो ।
“थारु भाषा, संस्कृति र थारु संग्रहालय, थारु अध्ययन केन्द्र स्थापना गर्ने मेरो लक्ष्य छ, त्यसकालागि म निर्वाचित हुनुपर्छ” आग्रह गर्नुभयो । नयाँ संविधानले थारुसहित अन्य वर्गको अधिकार सम्बोधन गरेको र बाँकी अधिकारका लागि नियमित संघर्ष गर्ने बताउँदै उहाँले थारुलाई एक भएर दवाव दिन आग्रह गर्नुभयो । राजनीतिक शक्तिबाटै मागहरु सम्बोधन सम्भव रहेको भन्दै उहाँले थारुलाई राजनीतिक नेतृत्वमा आउन आग्रह समेत गर्नुभयो ।

थारुसहित पछाडि परेका अन्य वर्गको अधिकार सुनिश्चित्ताकालागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण हुने बताउँदै उहाँले त्यसकालागि निश्पक्ष भएर कलम चलाउन पत्रकारकर्मीलाई आग्रह गर्नुभयो । मिडियाको शक्तिले नै समाजमा जागरण कायम गर्न सकिने भएकाले परिवर्तन पनि मिडियाकै बलमा सम्भव रहेको तर्क गर्नुभयो ।
अधिवेशनको उदघाटनसत्रमा थारु नेता तथा राजपाबाट सप्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार लेखीले शासकहरुले वैधानिकरुपमा थारुमाथि विभेद गरिरहेको आरोप लगाउनुभयो । राजनीतिक नेतृत्वमा आउन नसकेकैकारण थारुको माग मुद्दा सम्बोधन नभएको भन्दै उहाँले आफू निर्वाचित भएमा त्यसको पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा थारु उत्थान महिला समाजकी अध्यक्ष सीता चौधरीले समाजको परिवर्तनकालागि मिडियाको सहयोग सँगसँगै थारु नेतामा इमान्दारिताको खाँचो औल्याउनुभयो । इमान्दारितापूर्वक काम गरेमा परिवर्तन गर्न समय नलाग्ने भन्दै उहाँले त्यसकालागि कलम चलाउन पत्रकारसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा कानून व्यवसायी रामराज चौधरी, थारु महिला सभाकी अध्यक्ष सुशीला चौधरी, फोनिज सुनसरीका अध्यक्ष धीरेन्द्र चौधरी, लेखिका मिरा भगत, तेजनारायण चौधरी, थारु पत्रकार संघ सुनसरीका अध्यक्ष कुलदीप चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थारु झाँकी, विभिन्न नृत्यका साथै थारु पौराणिक गीतहरु पनि प्रस्तुत गरिएका थिए ।
सो अवसरमा पत्रकार विश्वराज पछल्डंग्यालाई उत्कृष्ट थारु पत्रकारिता पुरस्कार र उन्नति चौधरीलाई जोखन रत्गैंया राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४ ले सम्मानित गरिएको थियो । हरेक वर्ष दिइने सो पुरस्कारको राशी क्रमशः ११ हजार १११ र पाँच हजार एक रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।
त्यस्तै, हरेक वर्ष संघले एक जिल्ला शाखालाई उत्कृष्ट शाखा घोषणा गरी सम्मान प्रदान गर्दैआएको छ । यस वर्षको उत्कृष्ट शाखा बाँके शाखा भएको छ । सो शाखाकी अध्यक्ष विमला चौधरीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
संघमा नयाँ कार्य समिति
यसैबीच थारु पत्रकार संघ नेपालको तेस्रो अधिवेशनले मदन चौधरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । यसअघि नौ सदस्यीय कार्यसमितिलाई प्रदेश स्तरमा विस्तार गरी सत्र सदस्यीय बनाउने प्रस्ताव बन्दसत्रले अनुमोदन गरेको थियो ।

संघको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः सञ्जय चौधरी, किशोर चौधरी, इन्दु चौधरी र प्रतिमा चौधरी निर्वाचित हुनुभयो । त्यस्तै, सदस्यहरुमा क्रमशः सन्तोष दहित, सहदेव चौधरी, पुष्पा चौधरी, लक्ष्मी चौधरी, कमल चौधरी, राजु चौधरी, सीताराम चौधरी, उन्नति चौधरी, वुनु चौधरी, सन्तकुमार चौधरी, दुष्यन्त चौधरी र कुलदीप चौधरी सर्वसम्मत निर्वाचित हुनुभयो ।
दुई वर्षे कार्यकाल रहेको संघमा यसअघि विनिता चौधरी, लक्की चौधरी, कृष्णराज सर्वहारीले नेतृत्व गरिसकेका छन् । प्रमुख निर्वाचन अधिकृत लक्की चौधरी प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलमा अधिवक्ता रामराज चौधरी, पत्रकार गणेश चौधरी सदस्य रहेका थिए । निर्वाचन मण्डलले सर्वसम्मतको प्रयास गर्दागर्दै सहमति हुन नसकेपछि अध्यक्ष, महासचिव र सचिव पदकालागि निर्वाचन गराएको थियो ।




