सामाजिक सदभाव कायम गर्न भन्दै सामुहिक सहभोज कार्यक्रम


अविनाश चौधरी
धनगढी, कात्तिक २४ गते । कैलालीको पर्यटकीय क्षेत्र कोइलहुवा ताल परिसरमा ब्राहमण, क्षेत्री, दलित र जनजाती समुदाय सम्मिलित संयुक्त सहभोज कार्यक्रम आयोजना गरिएको छ ।

जातीय छुवाछुत अन्त्यको पहल र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मुक्त कमैया महिला विकास मञ्चको आयोजनामा सो सहभोज गरिएको हो । सामाजिक सद्भाव र लोकतान्त्रिक सहभागिताका लागि युवाहरुको पहलमा सहभोज गरिएको आयोजकले बताइएको छ ।

विगतमा राजनीतिक मुद्दाको उत्थान र विभिन्न आन्दोलनको क्रममा यहाँ जातिगत फुटको अवस्था सिर्जना भएको थियो । समाजमा त्यसको असर कुनै न कुनै रुपमा अझै पनि कायम रहेकाले एकताकालागि सहभोज आयोजना गरिएको मञ्चले जनाएको छ । यसले आपसी भाइचाराको सम्बन्ध बृृद्धि र सबैको सहभागितामा टेवा पुग्ने मञ्चका कार्यक्रम संयोजक इन्द्र चौधरीले बताउनुभयो ।

‘छुवाछुत र फुटले समाज अगाडि बढ्न सक्दैन’, उहाँले भन्नुभयो–‘सामाजिक सद्भावका लागि सबैको सहभागिता र एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक छ । यो कार्यक्रमले सहभागिता हुनुकासाथै अस्तित्व स्वीकार गर्नमा दबाव पुग्ने छ ।’

तल्लो जातिमाथि भेदभाव र जातीगत हिनताबोध रहेसम्म समाजमा बिखण्डन कायम रहि रहने भएकाले परिवर्तनका लागि युवाहरु सचेत भएर अगाडि बढ्न आवश्यक रहेको सहभोजका सहभागीले जोड दिए ।

‘छुवाछुत र फुटले समाज अगाडि बढ्न सक्दैन’, उहाँले भन्नुभयो–‘सामाजिक सद्भावका लागि सबैको सहभागिता र एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक छ । यो कार्यक्रमले सहभागिता हुनुकासाथै अस्तित्व स्वीकार गर्नमा दबाव पुग्ने छ ।’

सद्भाव बोली र व्यवहारबाट कायम हुने इजी नेपालका कार्यक्रम संयोजक विरेन्द्र चौधरीले बताउनुभयो । उहाँले सर्वस्वीकार्यताले मेलमिलाप र उत्तरदायित्व बढाउने उल्लेख गर्दै सामाजिक सद्भाव कायमकालागि सबैको अन्तरक्रियात्मक सहभागिता हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सहभोजमा सहभागी गौरीगङ्गा नगरपालिकाका दानबहादुर बिकले जातीय छुवाछुत न्यूनीकरण हुँदै गएपनि अन्त्य नभएको बताउनुभयो । अचेल भेदभावको स्वरुप परिवर्तन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘समाजमा कायम रहेको जातीय छुवाछुत अन्त्यका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ । यस्ता कार्यक्रमले भेदभाव न्यूनीकरणमा सहयोग पु¥याउने देखिन्छ ।’

कैलारी गाउँपालिका वडा नम्बर ८ का वडा स्तरीय युवा सञ्जालका अध्यक्ष लौटन कठरियाले सहभोज कार्यक्रमले आफ्नो वडामा सामाजिक सदभाव कायम राख्नका लागि सहयोग पु¥याएको बताउनुभयो । उहाँले विकासको लागि जातीय छुवाछुतको अन्त्य हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कैलारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दुःखीराम कठरियासहित सो वडाका विभिन्न समुदायका युवा, महिला, विद्यार्थी लगायतको सहभोज कार्यक्रममा सहभागिता रहेको थियो ।

जातीय छुवाछुतको न्यूनीकरण र सामाजिक सद्भावका लागि यूएनडीपीको सहयोगमा मुक्त कमैया महिला विकास मञ्चले गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाको केहि वडामा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया