मोदी थारुको आमाले भन्नुभयो, ‘छोरालाई मन्त्री भएको देख्ने इच्छा छ’


विराटनगर, कात्तिक २५ गते । बालोदेवी मोदी थारू ६७ वर्षकी हुनुभयो । मोरङको ग्रामीण थारू महिलाभन्दा खासै फरक छैन उहाँको जीवनशैली । घरधन्दासँगै आयआर्जनको काम पनि गर्नुहुन्छ ।

भन्नेहरू उहाँलाई ‘नेताकी आमा हौ अब काम नगर’ पनि भन्छन् । ‘तर मन कहाँ मान्थ्यो र मलाई काम नगरी बस्दा पट्यार लाग्छ । अरू दिन बारीको काम भएपनि हटियाको दिन आलुचप प्याज बेच्न आउँछु’, मोदीले भन्नुभयो, ‘आलुचप बेचेरै हो सकी नसकी त्यो कान्छो छोरो र छोरीलाई पढाएको ।’

अहिले उहाँका तिनै कान्छो छोरो अमनलाल मोदी थारु वर्ष ३६ गिरिजाप्रसाद कोइरालाको छत्रछायाँबाट ‘राजनीतिमा ब्रेक पाएका पूर्वअर्थमन्त्री महेश आचार्यलाई मोरङ क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट टक्कर दिँदै हुनुहुन्छ ।
बूढीगंगा गाउँपालिका ७ तिलाठी चौकको हाट बजारमा भेट्दा बालोदेवी परम्परागत ‘अचरा खड्गी’ लगाएरै आलुचप बनाउँदै हुनुहुन्थ्यो । १५ वर्ष भयो यो कर्म थालेको । हातगोडा लागुन्जेल काम नछाड्ने योजना बुनेकी छु उहाँले भन्नुभयो ।

‘हाम्रो टोलवरिपरि पहाडी समुदायको बसोवास थियो । उनीहरूका छोराछोरी सधैं विद्यालय गएको देख्थें, मलाई पनि छोराछोरी पढाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो तर पैसा हुँदैनथ्यो’, विगत सम्झँदै मोदीले भन्नुभयो, श्रीमान् बितेकाले मलाई छोराछोरी हुर्काउन निकै कठिन भयो, कान्छो अमनलाई त आलुचप बेचेर पढाएँ, माहिली छोरी शान्तिलाई वकिल बनाएँ ।’

पति पवनलाल हटिया घुमेर चामल बिक्री गर्थे । तर, ०४३ सालमा उनको मृत्यु भएपछि व्यवहार धान्न निकै गाह्रो भयो । बनिबुतो र आलुचप बिक्री गरेर छोराछोरीलाई पढाएँ उहाँले भन्नुभयो ।

एमाओवादीका निवर्तमान सांसद अमनलाल मोदीकी आमा बालोदेवीलाई गाउँमा ‘नेताकी माई छिय अब यी काम छोड्दिय (नेताकी आमा हौ अब यो काम छादिदेऊ)’ भन्दै छिमेकीले दबाब दिन खोज्छन् तर उहाँलाई आफ्नो कामप्रति ‘कुनै पश्चात्ताप र हीनताबोध छैन बरु गर्व छ ।’
मोदीले प्याजी र आलुचप बिक्री गरेको १५ वर्ष भइसकेको छ । एक पटकमा ७ सय रुपैयाँ कमाइ गरेको बताउनुहुन्छ ।

पति पवनलाल हटिया घुमेर चामल बिक्री गर्थे । तर, ०४३ सालमा उनको मृत्यु भएपछि व्यवहार धान्न निकै गाह्रो भयो । बनिबुतो र आलुचप बिक्री गरेर छोराछोरीलाई पढाएँ उहाँले भन्नुभयो ।

दुःखमा हुर्किएका अमनलालले डंग्राहाको नारायणी माविमा कक्षा ८ सम्म र त्यसपछि सुनसरी दुहबीको सरस्वती माविबाट विद्यालयस्तरीय पढाइ पूरा गर्नुभयो । विराटनगरमा महेन्द्र मोरङ क्याम्पस पढ्नेक्रममा उहाँ माओवादीमा संगठित भएर भूमिगत हुनुभएको थियो ।

अब एकपटक ‘बाँसको टाटीले बेरेको घरमा जन्मिएर राजनीतिमा होमिएको छोरो मन्त्री बनेको हेर्ने रहर छ’, मोदीले भन्नुभयो, ‘मलाई यो छोरोले यस्तो सानो काम नगर भनेर कहिल्यै निरुत्साहित गरेको छैन बरु कामलाई माया गर्न हौस्याएको छ ।’अहिले छोरी पूर्णकला र सीता सामाजिक कार्यकर्ता छन् । मान्ति टेलर्स व्यवसायी र विष्णु जागिरे छन् । अमनलाल मोदी दोस्रो संविधानसभा सदस्य निर्वाचन ०७० मा माओवादी केन्द्रबाट सांसद बन्नुभएको थियो ।

तपाईको प्रतिक्रिया