
अविनाश चौधरी
धनगढी, कात्तिक २६ गते । नयाँ संविधान कार्यान्वयन स्वरुप हुन लागेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कैलालीबाट ४१ जना थारु चुनावी मैदानमा उत्रेका छन् । संविधानप्रति अस्वीकार्यताको आवाज उठाउँदै आएका थारुहरु त्यहि संविधान कार्यान्वयन गराउनका लागि चुनावमा होमिएका छन् ।
आन्दोलनका ‘कमाण्डर’ कहलिएकाहरु समेत उम्मेदवार भएर प्रचार प्रसारमा जुटेका छन् । संविधानप्रति असन्तुष्टी जनाउँदै थारु समुदायले यसअघि सबैभन्दा पहिले कैलालीबाटै आन्दोलन थालेका थिए । विगतमा संविधानप्रति विमति राख्दै आन्दोलन गरेपनि प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा थारु समुदायबाट उत्साहजनक उम्मेदवारी पर्नु संविधान कार्यान्वनका लागि सकारात्मक रहेको चर्चा परिचर्चा यहाँ हुन थालेको छ ।
यद्यपि, थरुहट आन्दोलनले उठाएको मुद्दा सम्बोधन गराउनका लागि नै लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेर चुनावमा होमिएका थरुहट आन्दोलनको पक्षधर नेताले दावी गर्दै आएका छन् । जम्मा ११९ जनाको उम्मेदवारी परेको यो जिल्लामा ३४ दशमलव ४५ प्रतिशत थारु समुदायबाट उम्मेदवारी परेको छ । १२ जनाले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका छन् भने, बाँकीको प्रदेश सभातर्फ उम्मेदवारी छ ।
थरुहट आन्दोलनले उठाएको मुद्दा सम्बोधन गराउनका लागि नै लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेर चुनावमा होमिएका थरुहट आन्दोलनको पक्षधर नेताले दावी गर्दै आएका छन् । जम्मा ११९ जनाको उम्मेदवारी परेको यो जिल्लामा ३४ दशमलव ४५ प्रतिशत थारु समुदायबाट उम्मेदवारी परेको छ ।
राजनीतिक दलबाट ३९ र दुई जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सबैभन्दा बढी आठ जनाले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट उम्मेदवारी दिएका छन् । यस्तै, काङ्ग्रेसबाट छ, वाम गठबन्धन आबद्ध पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट ३÷३ जनाको उम्मेदवारी रहेको छ । सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबाट ५÷५ जना थारु उम्मेदवार छन् । बाँकीले अन्य पार्टीबाट उम्मेदवारी दिएका छन् ।
जातिय हिसाबले पछाडि परेको थारु समुदायको महिलाहरुका उम्मेदवारी भने निकै न्यून छ । सो समुदायबाट चारजना महिलाले मात्रै विभिन्न राजनीतिक दलबाट चुनाव लड्ने अवसर पाएका छन् । त्यसो त जिल्लाभरी गरी विभिन्न पार्टीबाट जम्मा १२ जना महिलाको मात्रै उम्मेदवारी रहेको छ । अङ्क गणितीय हिसाबमा थारु महिलाको प्रतिनिधित्व ३ दशलव ३६ प्रतिशत देखिन्छ ।
नेपाली काङ्ग्रेसबाट क्षेत्र नम्बर ५ प्रदेश सभा (१) तर्फ जिवन रानाथारु, राजपाबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य तर्फ मीना चौधरी र प्रदेश सभा (२) तर्फ सीता थारुको उम्मेदवारी छ । क्षेत्र नम्बर ५ प्रदेश सभा (२) तर्फ जनसमाजवादी पार्टी नेपालबाट टीकादेवी चौधरी उम्मेदवार बनेकी छन् ।
करिब ४३ प्रतिशत थारु समुदायको बसोबास रहेको यो जिल्लामा कतिपय क्षेत्रमा थारु उम्मेदवारबीचमात्रै प्रतिस्पर्धा हुने देखिएको छ । सबैभन्दा बढी १३ जना थारु उम्मेदवार रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्रीद्वय काङ्ग्रेसका रामजनम चौधरी, माओवादी केन्द्रका गौरीशङ्कर थारु र सङ्घीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका थरुहट आन्दोलनका अगुवा भानुराम थारुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार तीनै जना विगतमा भएको थरुहट थारुवान आन्दोलनमा सक्रिय रहेका थिए । यसैगरी, सोही आन्दोलनलाई टेकेर राजनीतिमा उदाएका रेशम चौधरी क्षेत्र नम्बर १, लक्ष्मण थारु क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यतर्फ उम्मेदवार छन् । दुवैले राजपाबाट उम्मेदवारी दिएका छन् । टीकापुर घटनाको आरोप लागेका लक्ष्मण पुर्पक्षका लागि जेल र रेशम निर्वासित जीवन विताइरहेका छन् ।
बहुसङ्ख्यक थारु रहेको कैलालीमा ४१ जना थारु चुनावी मैदानमा उत्रनु पर्याप्त नरहे पनि सन्तोषजनक नै रहेको थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीका प्रवक्ता माधव थारुले बताउनुभयो ।
क्षेत्र नम्बर ५ मा एमालेबाट प्रतिनिधि सभा सदस्यतर्फ सिमान्तकृत राना थारु समुदायको नारदमुनी रानाथारुको उम्मेदवारी परेको छ । थरुहट आन्दोलनलाई सहयोग गरेका निवर्तमान सांसद् जनकराज चौधरी नेपाली काङ्ग्रेसबाट क्षेत्र नम्बर १ मा र पूर्व सभासद् विरमान चौधरीले माओवादी केन्द्रबाट क्षेत्र नम्बर ३ मा प्रदेश सभातर्फ उम्मेदवारी दिएका छन् ।
बहुसङ्ख्यक थारु रहेको कैलालीमा ४१ जना थारु चुनावी मैदानमा उत्रनु पर्याप्त नरहे पनि सन्तोषजनक नै रहेको थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीका प्रवक्ता माधव थारुले बताउनुभयो । उहाँले संविधानप्रति असहमति राख्दै थरुहट आन्दोलनको पक्षधर नेताहरु चुनावमा होमिएका उल्लेख गर्नुभयो ।
संविधानमा आफ्नो हक अधिकार उल्लेख हुनुपर्ने माग राख्दै थारु समुदायले चर्काएको थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा हिंसात्मक घटना हुँदा आठ सुरक्षाकर्मी एक बालकको ज्यान गएको थियो ।




