राजनीतिलाई कमाइखाने भाँडो नबनाउः नेम्वाङ


1हमार पहुरा
काठमाडौं, कात्तिक ३० गते । पूर्व सभामुख तथा तत्कालिन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले राजनीतिलाई कमाइखाने भाँडो बनाउन नहुने बताउनुभएको छ ।
संसदीय पत्रकारलाई धन्यवाद ज्ञापन गर्न सोमबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेम्वाङ्ले त्यस्तो बताउनुहुँदै राजनीति गर्नेले सहायक पेशा र व्यवसाय अनिवार्य गर्नुपर्ने सुझाव दिनुभयो । राजनीतिमा मात्र लाग्दा आय आर्जनको स्रोत नहुँदा राजनीति विकृत हुनेगरेको उहाँले सुझाव दिनुभयो ।
सभामुख पदबाट बाहिरिनुभएपछि सोमबार पहिलो पटक पत्रकारहरुसँग सामुहिक भेटघाट गर्नुभएका नेम्वाङ्ले आफू वकालती पेशा अङ्गालेर राजनीति गर्ने प्रष्ट पार्नुभयो । “राजनीतिबाट टाढा भाग्न त म सक्दिन तर राजनीति सँगसँगै आफ्नो वकालती पेशालाई पनि कायम राख्छुँ” उहाँले भन्नुभयो ।
नयाँ संविधान निर्माणमा पत्रकारले सरकार र जनताबीचको सेतुको भूमिका निर्वाह गरेको भन्दै उहाँले पत्रकार तथा सञ्चारमाध्यमलाई धन्यवाद ज्ञापन गर्नुभयो । संविधान निर्माणमा पत्रकारको अहम्भूमिका रहेको उहाँले प्रष्ट पार्नुभयो ।
नयाँ संविधानले सबै वर्ग र समुदायको अधिकार सुनिश्चित् गरेको दावी गर्नुहुँदै अध्यक्ष नेम्वाङ्ले वार्ता र संवादबाटै सबै समस्याको समाधान खोज्न दलका नेता तथा आन्दोलनरत पक्षसँग आग्रह गर्नुभयो । “नयाँ संविधानले सबैलाई अधिकार दिएको छ, व्यक्तिगत क्षमता र विवेक आफैले बनाउनुपर्छ” उहाँले भन्नुभयो ।
नयाँ संविधानमा चाहेकाबेला संशोधन गर्न सकिने प्रावधान रहेकाले साह्रै लचिलो भएको उहाँले तर्क गर्नुभयो । संविधान जारीभएको दिन नै आफ्नो सभामुख कार्यकालको सबैभन्दा खुशीको क्षण भएको तर्क गर्नुहुँदै नेम्वाङ्ले पहिलो संविधानसभाबाट संविधान नबन्दा सबैभन्दा दुःखी भएको बताउनुभयो ।
“संविधान निर्माण गर्दाको समय जसरी दलका नेताहरु एकजुट हुनुभयो, कार्यान्वयनका बेला पनि एकजुट हुनुपर्छ” सुझाव दिनुहुँदै नेम्वाङ्ले दलका नेताहरु नमिल्दासम्म संविधानको सहज कार्यान्वयन नहुने बताउनुभयो । “संविधान निर्माण गर्ने एउटा जिम्मेवारी पूरा भएको छ तर कार्यान्वयनको अर्को जिम्मेवारी बाँकी नै छ” भन्नुहुँदै नेम्वाङ्ले सबै नेताहरुलाई एक ठाउँमा उभिन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया