मसुरियास्थित युवा सूचना केन्द्रलाई विद्युतीय उपकरण सहयोग


अविनाश चौधरी

धनगढी, कात्तिक २७ गते । कैलालीको गौरीगङ्गा नगरपालिकास्थित मसुरियामा स्थापना भएको युवा सूचना केन्द्रलाई मुक्त कमैया महिला विकास मञ्चले विद्युतीय उपकरण सहयोग गरेको छ ।

एक कार्यक्रमबीच केन्द्रलाई एक एक थान प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराएको हो । मञ्चका सदस्य लक्ष्मी चौधरी र यूएनडीपीका सतिश पाण्डेयले मसुरियास्तरीय युवा सञ्जालका संयोजक र केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज भुषाललाई उक्त उपकरण हस्तान्तरण गर्नुभयो ।

सूचना प्रविधिको प्रयोगमार्फत युवाको क्षमता बृद्धि विकास गरेर युवालाई सशक्त बनाउने उद्देश्यले संस्थामार्फत विद्युतीय उपकरण सहयोग गरेको मञ्चका कार्यक्रम संयोज इन्द्र चौधरीले बताउनुभयो । उहाँले सूचना प्रविधिको प्रयोगमार्फत युवालाई सशक्त बनाएर सामाजिक सद्भाव कायम गर्न सकिने उल्लेख गर्नुभयो ।

‘मुक्त कमैया महिला विकास मञ्च कमैया र कमलरीको क्षेत्रमा मात्रै कामगर्ने संस्था होईन’, चौधरीले भन्नुभयो–‘यसले सामाजिक सद्भाव कायम गर्नका लागि मिश्रित समुदायमा मिश्रित समूह र सूचनाको हक सम्बन्धी युवा सञ्जाल गठन गरेको छ ।’ सूचनाको हक सम्बन्धी सञ्जाल मसुरियाको पहलमा युवा सूचना केन्द्र स्थापना गरिएको छ ।

‘मुक्त कमैया महिला विकास मञ्च कमैया र कमलरीको क्षेत्रमा मात्रै कामगर्ने संस्था होईन’, चौधरीले भन्नुभयो–‘यसले सामाजिक सद्भाव कायम गर्नका लागि मिश्रित समुदायमा मिश्रित समूह र सूचनाको हक सम्बन्धी युवा सञ्जाल गठन गरेको छ ।’

यसैबीच, युवा सूचना केन्द्र तथा पुस्तकालय र बसपार्क व्यवस्थापन योजनाको सार्वजनिक सुनुवाई पनि गरिएको छ ।  केन्द्र तथा पुस्तकालय व्यवस्थापन सञ्चालक समितिका अध्यक्ष पुष्पराज भुषालले ६ लाख ६३ हजार रुपैया खर्चेर केन्द्र स्थापना भएको बताउनुभयो । यस्तै, बसपार्क व्यवस्थापनमा दुई लाख २३ हजार रुपैया खर्च भएको जनाइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका गौरीगङ्गा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले युवाहरुको क्षमता विकासमा युवा सञ्जालबाट महत्वपूर्ण सहयोग हुने अपेक्षा गर्नुभयो ।   यस्तै, सूचनाको हक सम्बन्धी अधिकारका अभियन्ता समेत रहनु भएका पत्रकार उमीद बागचन्दले बहुद्देश्य राखेर युवा सञ्जालमार्फत युवा सूचना केन्द्र स्थापना भएको बताउनुभयो । उहाँले गौरीगङ्गालाई आगामी दिनमा मुलुककै पहिलो सूचनामैत्री नगरपालिका घोषणा गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

विभिन्न संस्थाको पहलमा २०७२ सालमा साविकको मसुरिया गाविसलाई मुलुकको पहिलो सूचनामैत्री गाविस घोषणा गरिएको थियो । युवा सूचना केन्द्रलाई नियमित सञ्चालनकालागि सञ्जाल तत्पर रहेको संयोजक बोगटीले बताउनुभयो  । उहाँले भन्नुभयो–‘यसलाई निरन्तरता दिन निकै चुनौती छ । सञ्जालका युवा साथीहरुले स्वयम्सेवीकोरुपमा काम गरिरहेका छन् । त्यसैले सहयोगी सबै निकायबाट निरन्तर सहयोगको अपेक्षा गरेका छौं ।’

तपाईको प्रतिक्रिया