थारु पत्रकारलाई ‘झुम्का’ले लगाएको गुन

तेस्रो अधिवेशन समिक्षा

लक्की चौधरी

थारु पत्रकार संघ, नेपालको तेस्रो अधिवेशन कात्तिक १८ गते सुनसरीको झुम्कामा सम्पन्न भयो । यसअघि पहिलो र दोस्रो अधिवेशन काठमाडौंमा भएपनि पहिलो पटक उपत्यका बाहिर संघको अधिवेशन आयोजना भयो । संघ सुनसरी र मोरङको सक्रियता र क्रियाशीलताका कारण सो अधिवेशन उपत्यका बाहिर हुन सम्भव भयो । केन्द्रलाई खासै आर्थिक व्ययभार नपर्नेगरी शाखा कार्यालयले चुस्त व्यवस्थापन गरे । त्यसैले दुवै शाखालाई केन्द्रको तर्फबाट धन्यवाद ज्ञापन गर्नैपर्छ ।

थारु पत्रकार संघ, विशुद्ध थारुको हकहितकालागि पैरवी गर्ने पत्रकारको संगठन हो । यसको गठन गर्ने बेलामै सो परिकल्पना गरिएको थियो । काठमाडौंलाई कार्यथलो बनाई विभिन्न सञ्चारमाध्यममा कार्यरत दुईचार पत्रकारको सक्रियता र परिकल्पनाले संघ गठन भएको थियो । थारु पत्रकारबीच आन्तरिक चिनजान हुने, थारु पत्रकारलाई एउटै छातामुनी गोलबद्ध गर्ने, थारु समुदायको हकअधिकार तथा गतिविधिलाई आमरुपमा लैजाने र ‘प्रेसर ग्रुप’को रुपमा काम गर्ने यसको ध्येय हो । थारु मुद्दाको समयानुकुल पहिचान गरी समुदायलाई बाटो देखाउने र त्यसको सम्बोधनमा दवावको काम गर्ने अर्को ध्येय संघको छ । त्यसअतिरिक्त थारु पत्रकारको व्यावसायिक क्षमता अभिबृद्धि र सशक्तिकरण, थारु भाषा, संस्कृतिको जगेर्नामा मद्दत गर्ने, थारुको इतिहासजन्य खोज र पैरवी गर्ने काम पनि संघकै उद्देश्यअन्तर्गत छन् । यी सब काम गर्न संघभित्र आवद्ध पत्रकारको लगनशीलता, सक्रियता, ऐक्यवद्धता र एकता अनिवार्य पक्ष हो ।

संघ गठनको इतिहासः

नेपाल टेलिभिजनमा कार्यरत पत्रकार जयप्रकाश चौधरीको सक्रियतामा २०६६ वैशाख १२ गते संघको पहिलो तदर्थ समिति गठन गरिएको थियो । संघ गठन भएको तीन महिनामै उनको कालगतिले निधन भयो । चौधरीको निधनपछि संघ निस्क्रिय भयो । केन्द्रमा संघ गठनको महिना दिनमै संघको कैलालीमा शाखा गठन भएको थियो । जिल्लामा शाखा गठन भएको सम्भवतः कैलाली नै पहिलो हो । पङ्क्तिकारकै अध्यक्षतामा शाखा गठन भएको थियो । सोही वर्ष माघ २७ गते गोरखापत्र दैनिकमा नियुक्ती पाएपछि पङ्क्तिकारको काठमाडौं बसाई सुरु भयो । कैलालीको जिम्मेवारी उपाध्यक्ष उन्नति चौधरीलाई कार्यबाहक दिएर ।

काठमाडौंमा केन्द्र निस्क्रिय अवस्थामै थियो । काठमाडौंको बसाई नियमित शुरुभएपछि रेडियो नेपालकी विनिता चौधरी (चित्तवन) र स्वतन्त्र पत्रकार कृष्ण सर्वहारी (दाङ) सँग पङ्क्तिकारले छलफल चलायो । सोही छलफलको परिणाम २०६७ भाद्र २ गते रेडियो नेपालको प्राङ्गण सिंहदरवार परिसरमै तत्कालिन उपाध्यक्ष विनिता चौधरीको अध्यक्षतामा संघको अर्को तदर्थ समिति गठन भयो । उपाध्यक्षमा पङ्क्तिकार र महासचिवको जिम्मा लिए सर्वहारीले । संघलाई दर्तागरेर अगाडि बढ्ने सल्लाहअनुसार संघले विधानको मस्यौदा गर्ने जिम्मेवारी पङ्क्तिकारलाई दियो । छ महिनामा विधान मस्यौदा तयार भयो । मस्यौदा गर्नमा अधिवक्ता महेश्वरप्रसाद चौधरीले राम्रो सहयोग गरे । सोहीअनुरुप २०६७ चैत १६ गते संघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एक गैरसरकारी संगठनकोरुपमा विधिवत दर्ता भयो । संघ दर्ता गर्दा संस्थापक अन्य सदस्यमा गीता थारु (नवलपरासी), रत्ना चौधरी (सुनसरी), शत्रुघन चौधरी (दाङ), चन्द्रप्रसाद चौधरी (सप्तरी), प्रदीप चौधरी (सप्तरी) र सरला चौधरी (दाङ) थिए । सुरुवातीकालमा थारु पत्रकार न्यून भएकाले कार्य समिति गठन गर्न हम्मे परेको थियो ।

सकारात्मक पक्षः

संघको अधिवेशन उपत्यका बाहिर हुनु आफैमा सकारात्मक पक्ष हो । काठमाडौं केन्द्रीत कार्यक्रमले मोफसलकालाई वाक्कदिक्क बनाउने गरेको गुनासो यदाकदा सुनिने गरिन्छ । त्यसले पनि सुनसरीमा आयोजना भएको कार्यक्रमले बाहिरबाट आउने पत्रकारलाई र काठमाडौंबाट जाने पत्रकारलाई केही आनन्दानुभूति गरायो होला । खर्चको व्यवस्थापन गर्न केही कठिनाई भएको होला, त्यो अर्को पाटो हो । सुरुवातीकालमा औंलामा गिन्नमिल्ने थारु पत्रकार तेस्रो अधिवेशनसम्म आइपुग्दा पन्ध्र जिल्लामा शाखा गठन भइसकेको थियो । अढाई तीनसय पत्रकारको संख्या संघमा आवद्धता भइसकेको थियो । ७० बढी पत्रकारको सुनसरीमा उपस्थिति थियो । ५६ जना पत्रकार त अधिवेशनको प्रतिनिधि नै थिए । प्रतिनिधि नभएका धेरै पत्रकारको पनि त्यहाँ उपस्थिति थियो । त्यसले देशभर एक किसिमको सन्देश प्रवाह गरेको थियो । सुनसरी–मोरङलाई पनि तराईभरी छरिएर रहेका थारु पत्रकारलाई आफ्नो जिल्लामा स्वागत गर्न पाउँदा गर्विलो महशुस भएकै होला ।

जिल्लामा त्यतिधेरै संख्याको पत्रकारलाई व्यवस्थापन गर्नु, खाना बस्न र स्वागतको काम कम चुनौति थिएन । केन्द्रलाई आर्थिक भारविना नै शाखाले चुस्त व्यवस्थापन गर्नु अझ खुशीको विषय हो । सुनसरी–मोरङका शाखाका साथीहरुले ‘वेल–म्यानेज’ गरे । काम गर्ने सिलसिलामा केही त्रुटी, कमजोरी हुनु अर्को पाटो हो । यो मानवीय सिकाईको विषय पनि हो । पश्चिम कञ्चनपुर–कैलालीका पत्रकारलाई पूर्वको सुनसरी–मोरङसम्मका साथीसँग साक्षात्कार हुनु, त्यही मेसोमा धरानको भेंडेटारसम्मको भ्रमणको अवसर जुर्नु, थारुको भाषा, संस्कृति र कलाको विषयमा जानकारी पाउनु कम रोचक विषय होइन । उसैपनि हामी थारु–थारुलाई जोड्ने अभियानमा छौं । त्यसकालागि पूर्वका थारुले पश्चिम र पश्चिमका थारुले पूर्वका थारुसँगको चिनजान, अपनत्व र सहयोगको खाँचो पर्छ नै । संघको अधिवेशनले केही हदसम्म त्यो चाहना पूरा गरेकै होला ।

तेस्रो अधिवेशनमा प्रमुख सहयोग स्थानीय थारु महिला उत्थान समाजको थियो । १८ गते विहानको ¥यालीको सहभागी र व्यवस्थापनमा उत्थान समाजले लोभलाग्दो सहयोग गर्यो । सीता चौधरी अध्यक्ष रहेको सो संस्थाको आन्तरिक सहयोगको प्रतिफल अधिवेशन सफल भएको हो भन्नमा कन्जुस्याई गर्नु हुँदैन । उत्थानकी आशा चौधरीसहितको समूहका सदस्यको सक्रियता र मनकारी स्वागतले सहभागीलाई प्रभावित बनायो नै । सहयोगी हातहरुलाई सलाम ! सहभागीका लागि खानाको व्यवस्था पनि सोही संस्थाले मिलाएको थियो । समाजका सदस्यले आफ्नै हातले सहभागीका लागि मीठा र स्वादिला परिकार बनाएर स्वागत गरेका थिए । थारु परिकार, घोङ्घी, सितवा (सिपी), मासु परिकारको लोभलाग्दो स्वागत सहभागीले पाए । त्यसको गुन सायदै थारु पत्रकारले भुल्न सक्लान् । सो गुन चुकाउनु भनेकै पत्रकारले समाचार, लेख लेखेर प्रकाशन गर्नु नै हो । सकारात्मकरुपमा कलम चलाएर गुन तिर्नमा कन्जुस्याई गर्न हुँदैन पत्रकारले । अधिवेशनको उदघाटनसत्रमा थारु पहिरनमै महिलाहरुको सक्रिय सहभागीता रहनु, विभिन्न थारु नृत्यकालागि समूह तयार गरेर प्रदर्शनको व्यवस्था गरिनु अधिवेशनको आकर्षणको अर्को पक्ष थियो । त्यसको पनि व्यवस्था महिला उत्थान समाजले नै गरेको थियो । त्यसैले उत्थान समाजलाई मुरीमुरी धन्यवाद नदिई रहन सकिदैन । थारु महिला सभा सुनसरी शाखाको  झाँकीले पनि उत्साहित बनाएको थियो ।

हामी थारु–थारुलाई जोड्ने अभियानमा छौं । त्यसकालागि पूर्वका थारुले पश्चिम र पश्चिमका थारुले पूर्वका थारुसँगको चिनजान, अपनत्व र सहयोगको खाँचो पर्छ नै । संघको अधिवेशनले केही हदसम्म त्यो चाहना पूरा गरेकै होला ।

संघको तेस्रो अधिवेशनले उद्देश्यअनुरुप थारु पत्रकारबीच चिनजान गरायो । एकअर्कालाई बुझ्ने र भाइचाराको वातावरण सिर्जना गरायो । थारु भेषभुषा झल्कने कार्यक्रमको प्रस्तुती पनि देखायो । त्यो भन्दा पनि सुन्दरपक्ष सुदूरपश्चिमका पत्रकार र सुदूरपूर्वका पत्रकारको सम्बन्ध जोड्ने काम गरायो । अधिवशेनको वजनदार पक्ष त्यही हो ।

नकारात्मक पक्षः

संघको विधानअनुरुप वार्षिक साधारणसभा र दुई वर्षमा अधिवेशन गर्ने व्यवस्था छ । सोहीअनुरुप संघको छ वटा साधारणसभा र तीनवटा अधिवेशन सम्पन्न भए । यसअघिको पाँचौ साधारणसभा पर्यटकीय नगरी चित्तवनको सौराहामा सम्पन्न भएको थियो । संघका अध्यक्ष कारी महतो, सदस्यहरु सन्तकुमार चौधरी, राजु चौधरी, सुमित्रा महतो लगायतको सहयोगलाई विर्सन सकिदैन । तेस्रो अधिवेशनसम्म आइपुग्दा संघमा केही वैचारिक विचलन देखियो, जुन संघको हितमा छैन । यसअघिसम्म संघको कार्यसमिति सर्वसम्मत हुनेगथ्र्यो । लोकतान्त्रिक प्रक्रिया भन्दै संघका केही सदस्यले निर्वाचनमा जाने अडान लिएकैकारण तेस्रो अधिवेशनमा सबै पदमा सर्वसम्मत हुन सकेन । सहमतिभन्दा उत्तम अरु लोकतान्त्रिक प्रक्रिया हुँदै होइन । निर्वाचन त त्यसको विकल्प मात्र हो । यद्यपि सहमतिको प्रयास निकै गरिएको थियो । सोहीकारण अधिवेसन सम्पन्न गर्न रातीको बाह्र बज्न गयो । उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत भएपनि अध्यक्ष, महासचिव र सचिवमा निर्वाचन नै गराउनु पर्यो । त्यसले राम्रो सन्देश गएन । हामी थारुलाई जोड्ने कुरा गर्दैछौं तर आफै फुटेर गयौं भने त्यसको के अर्थ ? थारु एकताको खाँचो छ । सामुहिकतामै ताकत छ । जबसम्म मन मिल्छ तवसम्म एकताको गुन्जाइस बाँकी रहन्छ । मन टुट्यो भने एकताको कुरा मिथ्या हुनजान्छ ।

संघ गठन आफैमा एउटा मिसन थियो । थारु पत्रकारको मिसन पत्रकारिता बाँकी नै छ । कुनै बेला नेपाली पत्रकारिता पनि मिसनअनुरुप चलेको थियो । चाहे राणा शासन अन्त्यकाबेला होस्, पञ्चायती शासन अन्त्य, निरंकुश राजतन्त्रको अन्त्य गर्नेबेला किन नहोस् । नेपाली पत्रकारिताको मिसन पत्रकारितामा केही समयकालागि विराम लागेको होला, तर थारु पत्रकारिताको मिसन अझै जारी छ । थारु समुदायको संवैधानिकरुपमा हक अधिकार सुनिश्चित नहुँदासम्म, राज्यको सबै संयन्त्रमा थारुको समान प्रतिनिधित्व नहुँदासम्म, नेपाल पत्रकार महासंघमा थारुको प्रतिनिधित्व सुनिश्चित् नहुँदासम्म त्यो मिसन जारी नै रहन्छ । त्यो मिसनलाई लक्ष्यमा पुर्याउने प्रमुख भूमिकामध्ये थारु पत्रकारको रहन्छ । कार्य समितिमा रहेका पदाधिकारी र सदस्यले त्यसलाई आत्मसात गर्न भूल्नु हुँदैन । मिसन भुल्नेलाई कार्य समितिमा बस्नुको कुनै औचित्य रहँदैन ।

सुनसरी–मोरङ शाखाले तेस्रो अधिवेशन भव्यरुपमा सफल पारे । त्यसको बदलामा धन्यवाद र प्रसंशा जति गरेपनि कम हुन्छ । तर संघमा आवद्ध सदस्यहरुले प्रसंशा गर्नुको साटो व्यवस्थापनको कमजोरी देखाएर टिप्पणी गर्नु विल्कुल गलत छ । अरुतिर औंला ठड्याउन सहज हुन्छ । सो काम आफ्नै टाउकोमा पर्दा त्यसको अनुभूति हुन्छ । त्यसैले रचनात्मक सुझाव दिन छुट सबैलाई छ, आलोचना र गाली गर्ने छुट कसैलाई छैन । त्रुटी र कमजोरी सबैबाट हुन्छ । जीवन भनेकै सिकाई हो । कमजोरीविना सही सिकाई पनि सम्भव छैन । त्यसलाई त्यहीरुपमा लिनु सान्दर्भिक हुन्छ । जिल्लाले जति तयारी गर्यो, केन्द्रको तयारी देखिएन । पदाधिकारी र सदस्यले संघको विधानसमेत पढेको देखिएन । विधानअनुरुप गर्नुपर्ने काममा निकै ‘ल्याप्सेस’ देखियो । आवश्यक कागजातको तयारी गरेको देखिएन । हुँदाहुँदा उत्कृष्ट शाखालाई प्रसंशापत्रसमेत उपलब्ध गराउन नसक्नु लापरवाहीको चरम रुप थियो । अन्य त्रुटीहरु व्यानर, प्रसंशापत्रको अशुद्धता त सामान्य मान्न सकिएला । आगामी दिनमा त्यसो नहोस् भन्नेतिर ध्यान जावस् ।

निस्कर्षः

सही नेतृत्व त्यही हो जसले आफ्नो कार्यकाल सही ढंगले सम्पन्न गरी नयाँ कार्य समितिलाई हस्तान्तरण गरोस् । केही हदसम्म सर्वहारी नेतृत्वको कार्य समितिले आफ्नो कार्यकाल सम्पन्न गर्यो । सर्वसम्मत नासही, निर्वाचन गराएर भएपनि विधिवत नेतृत्व हस्तान्तरणको कामभयो । त्यसकालागि सर्वहारी नेतृत्वको कार्य समितिलाई धन्यवाद दिन सकिन्छ । अधिवेशन सम्पन्न गर्नमा नेतृत्वसहित पदाधिकारी र सदस्य तथा सल्लाहकारको भूमिकालाई कम आँक्न भने मिल्दैन । थारु पत्रकार संघ गठन यता जसरी संघले गति लिनुपर्ने हो, त्यसरी लिन नसके पनि संघ कायम हुनु नै अहिलेका लागि ठूलो विषय हो । थारु पत्रकारलाई संघमा आवद्ध गर्नसक्नु, जिल्ला शाखाको विस्तार गर्नु प्राथमिक चरणका राम्रा काम हुन् । पत्रकारको दक्षता अभिबृद्धि, व्यावसायिकता, नेपाल पत्रकार महासंघमा थारु पत्रकारको पहुँच र केन्द्रीयस्तरका मिडियामा थारु पत्रकारको पहुँचको विषय अर्को पाटो हो । त्यसकालागि संघले प्रयास जारी नै राख्नुपर्छ । थारुलाई नयाँ संविधानले नै क्लष्टरको मान्यता दिइसकेको छ । लोकसेवा आयोगले समेत थारुको कोटा छुट्याउन शुरु गरेकाबेला नेपाल पत्रकार महासंघको पदाधिकारी र सदस्यमा थारु कोटा छुट्याउन लगाउनु अबको नयाँ कार्यसमितिको काँधमा जम्मेवारी छ । त्यसको अलावा संघको विधानलाई संघीयताअनुरुप संशोधन गरी परिमार्जन गर्नु यो कार्यसमितिको अर्को जिम्मेवारीको विषय हो । यो तव सम्भव हुन्छ, जब थारु पत्रकारबीच एकताको भावना कयमै रहन्छ । सर्वसम्मत नेतृत्व चयन भएको भए यो काम गर्न अझ सहज हुनेथियो ।

(लेखकः संघका पूर्व अध्यक्ष तथा गोरखापत्र दैनिकका उपसम्पादक हुन् ।)

तपाईको प्रतिक्रिया