जनजाति महासंघको अध्यक्षमा ह्योल्मो निर्वाचित, महासचिवमा सारु मगर


हमार पहुरा डट कम
काठमाडौं, चैत ८ गते । आदिबासी समुदायको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित हुनुभएको छ ।

शनिबार सम्पन्न मतदानको मत गणना आइतबार विहान गरिएको थियो । मतगणनाको परिणामअनुसार ह्योल्मो अध्यक्षमा ३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँको प्रतिस्पर्धी जीवनकुमार राईले ११ मत प्राप्त गरी पराजित हुनुभयो । ५६ मत रहेको महासंघको निर्वाचनमा ५१ मत खसेको थियो ।

महासंघका निवर्तमान महासचिव दिवस राईका अनुसार २१ सदस्यीय नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डिलबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभयो । त्यस्तै, ७ जना उपाध्यक्षहरुमा क्रमशः अमृतबहादुर सुनुवार ३७ मत, आङ पासाङ शेर्पा ४० मत, चन्द्रलाल राजभण्डारी ३५ मत, रामकुमारसिंह दनुवार ४२ मत ल्याएर निर्वाचित हुुनुभयो । तीनजना उपाध्यक्ष चिनीमाया माझी, मनमाया छन्त्याल र जुनिता राई (शान्ति देवान) निर्विरोध निर्वाचित हुनुभयो ।

सोहीअनुसार महासचिवमा बिमल सारु मगरले २९ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी प्रेम येक्तेनले २० मत ल्याएर पराजित हुनुभयो । त्यस्तै, उपमहासचिवमा गणेश कुमाल निर्विरोध निर्वाचित हुनुभयो । सोहीअनुसार ८ जना सचिवमा क्रमशः महेन्द्र दुरा २४ मत, सन्तबहादुर चेपाङ २९ मत, शिवचन्द्र मण्डल २५ मत, शैलेन्द्रकुमार ताजपुरिया २४ मत, चकचकी राजवंशी ४१ मत, छेवाङ बुम्छोक गुरुङ २९ मत, जसवी मण्डल २२ मत, बीना मम्बा तामाङ २६ मत ल्याएर निर्वाचित हुनुभयो ।

त्यस्तै, कोषाध्यक्षमा मिङमा कामी शेर्पाले २९ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँको प्रतिस्पर्धी खेमराज भुजेल १८ मत प्राप्त गरी पराजित हुनुभयो । सोहीअनुसार सहकोषाध्यक्षमा प्रभातकुमार चौधरी निर्विरोध निर्वाचित हुनुभयो ।

महासंघको ११ औं महाधिवेशन चैत ५ र ६ तय गरिएको भए पनि लम्बिएर निर्वाचनको परिणाम आउन दुई दिन ढिलोगरी ८ गते विहान कुर्नुपरेको निवर्तमान महासचिव राईले बताउनुभयो । महासंघमा आवद्ध ५६ जातीय संस्थाका प्रतिनिधिहरुबाट एक जातीय संस्थाबाट १ जना मतदाता रहने विधानमा व्यवस्था छ । निर्वाचनमा ५ जना मतदाता अनुपस्थित रहेका थिए ।

निर्वाचितमध्ये अध्यक्षसहित १३ जना नेपाली कांग्रेस निकट, दुई उपाध्यक्ष र एक महासचिवसहित ७ जना नेकपा (एमाले) निकट र १ जना नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया