
लक्की चौधरी
काठमाडौं, मंसिर १० गते । बत्तीस जिल्लाका प्रतिनिधि सभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ७४ निर्वाचन क्षेत्रकालागि आइतबार सम्पन्न भएको निर्वाचनमा ६५ प्रतिशत बढी मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आइतबार साँझ आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सो कुरा बताउँदै निर्वाचन शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको बताएको छ । सबैभन्दा वढी बाजुरामा ८० प्रतिशत मतदान भएको आयोगले जनाएको छ । पहिलो चरणमा कुल ४ हजार ४६३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएपनि दुई निर्वाचन क्षेत्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यावदकाअनुसार रुकुम पश्चिमको बाफिकोट गाउँपालिका ५, रत्न मा.वि. (क) मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट न.पा. ११ स्थित राष्ट्रिय मा.वि. गत्तसैना (ख) मतदान केन्द्रमा मतपेटिकामा केही समूहले आगजनी गरेपछि मतदान कार्य स्थगित भएको छ । सो ठाउँमा चाँडै पुनः मतदानको व्यवस्था मिलाउनेगरी निर्णय गरिने उहाँले जानकारी दिनुभयो ।
मतदाताको उत्साहजनकरुपमा मतदानमा भएको सहभागिताबाट संविधानको कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत र राजनीतिक स्थायित्वका लागि नेपाली जनता प्रतिवद्ध रहेको पुष्टि भएको आयोगले भनेको छ । जनताको सहभागिताको आयोगले उच्च सम्मान गरेको डा. यादवले बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो, “संकलन भएको मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने छ ।”
मतदान सम्पन्न भएपछि सबै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलनको काम भएको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो, “संकलन भएको मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने छ ।”
मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतसहित सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढङ्गबाट सुरक्षित स्थानमा राखिने हुनाले विश्वस्त रहन प्रमुख निर्वाचन आयुक्त डा. यादवले सबैमा आग्रह गर्नुभयो । दोस्रो चरणको निर्वाचन मंसिर २१ गते सम्पन्न भए लगत्तै सोही साँझबाट मतगणनाको काम शुरुहुने उहाँले जानकारी दिनुभयो ।
मतदानका क्रममा केही छिटफुट र सामान्य घटना बाहेक सबै ठाउँमा शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न भएको भन्दै आयोगले सरकारले गरेको सुरक्षा प्रबन्ध प्रभावकारी भएको बताएको छ । निर्वाचन सम्पन्न गराउन खटिएका राष्ट्रसेवक कर्मचारीको आयोगले उच्च प्रसंशा गरेको छ । त्यस्तै, “निर्वाचन सफल पार्न अहम भूमिका खेल्नुहुने सबै राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ताले देखाउनु भएको सहयोग, सदभाव, मैत्रीपूर्ण व्यवहार, समझदारी र सकारात्मक सहभागिताप्रति आयोग आभार प्रकट गर्दछ” आयोगद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ ।
यसअघि स्थानीय तहमा मुलुकभर करिब ७३ प्रतिशत बढी मतदान भएको आयोगले जनाएको थियो । चिसो र प्राकृतिक प्रतिकुलताका कारण आशा गरेअनुसार मतदान हुन नसकेको बुझाई निर्वाचन आयोगको छ ।
सोहीअनुसार निर्वाचनमा सघाउनुहुने मित्रराष्ट्र, दातृ निकाय, विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदाय, पर्यवेक्षक, नागरिक समाज, आम मतदाता, सञ्चारकर्मी सबैलाई आयोगले धन्यवाद ज्ञापन गरेको छ । पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि अब आयोगको सबै ध्यान मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा केन्द्रीत हुने प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
दोस्रो चरणको निर्वाचनमा समेत सोहीअनुसारको साथ, सकारात्मक सहयोग र व्यवहारको अपेक्षा आयोगले सबैबाट गरेको छ । आइतबार पहिलो चरणमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय कायम गरिएको थियो । उच्च पहाडी र हिमाली ३२ जिल्लामा मतदान सम्पन्न भएको छ । दोस्रो चरण मंसिर २१ गते ४५ जिल्लामा मतदान हुने निर्वाचन आयोगले बताएको छ ।
यसअघि स्थानीय तहमा मुलुकभर करिब ७३ प्रतिशत बढी मतदान भएको आयोगले जनाएको थियो । चिसो र प्राकृतिक प्रतिकुलताका कारण आशा गरेअनुसार मतदान हुन नसकेको बुझाई निर्वाचन आयोगको छ । आयोगले दिएको प्रारम्भिक अनुमान ६५ प्रतिशत भएपनि त्यसको प्रतिशत अझै बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।




