म्यादी प्रहरी मृतक विनोद चौधरीको परिवारलाई राहतस्वरुप १० लाख


काठमाडौँ, मंसिर १४ गते । सरकारले बम विस्फोटमा परी निधन भएका दाङका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपैया दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएका थिए । उपचारका क्रममा उनको निधन भएको थियो ।

म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएका थिए । उपचारका क्रममा उनको निधन भएको थियो ।

बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै बैठकले त्यस्ता घटनामा परी घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय गरेको गृहसचिव सापकोटाले बताए ।

सरकारले निर्वाचनको सुरक्षा बिथोल्न खोज्ने समूहको तीव्रताकासाथ अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने बताएको  छ । शान्ति सुरक्षा सरकारको प्राथमिक दायित्व भएको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सबै कानुनी उपाय अवलम्बन गर्ने बताएको छ ।

प्रधानमन्त्री एवं गृहमन्त्री देउवाको अध्यक्षतामा भएको सो बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव सापकोटा, नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका प्रमुख सिंहबहादुर श्रेष्ठलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया