दोषिलाई कारवाही गरेरै छाड्छुः मन्त्री मण्डल


काठमाडौ, मंसिर गते । युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले जस्तोसुकै दवाव आएपनि खेलकुद क्षेत्रमा विकृति भित्र्याउनेलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री मण्डलले त्यस्तो प्रतिवद्धता व्यक्त गर्नुभयो । “दोषीलाई कारवाही गर्दा मन्त्रीपद धरापमा पर्छ भने पनि मलाई मतलब छैन, कारवाही गरेरै छाड्छुँ” उहाँले भन्नुभयो ।
मन्त्री मण्डलले एन्फाका निलम्बित अध्यक्ष गणेश थापाले गरेको भ्रष्टाचारको विषयमा लेखा समिति र अख्तियारले छानविन गरेपनि ओझेलमा परेको बताउनुभयो । खेलकुद क्षेत्रमा देखिएको विकृतिको स्वतन्त्र छानविनको लागि मन्त्री परिषदमा प्रस्ताव लैजाने उहाँले जानकारी गराउनुभयो ।
मन्त्री मण्डलले खेलकुद क्षेत्र सामान्ती राजसंस्थाबाट निर्देशित निजी पेवा जस्तो बनेको आरोप लगाउनुभयो । गणेश थापाको नेपाली खेलकुदमा योगदान हुँदाहुँदै सिंगो मुलुकलाई कलंकित बनाएको मन्त्री मण्डलले बताउनुभयो ।
खेलकुद क्षेत्रको विकासको लागि नयाँ संविधानको भावना अनुसार खेलकुद ऐन संसोधन गर्ने जानकारी दिनुहुँदै खेलकुदबाट परिवारबाद, ब्यक्तिबाद र राजनीतिक हस्तक्षेपबाट मुक्तगर्ने बताउनुभयो ।
खेलकुद परिषदका सदस्य सचिव केशब विष्टले गणेश थापामाथिको कारवाही अगाडि बढाउन फिफाबाट आधिकारिक दस्तावेज आइनसकेको बताउनुभयो । दस्तावेज प्राप्त भएपछि कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो ।

Mandal

तपाईको प्रतिक्रिया