कैलालीको निर्वाचन तयारी पूरा, सुरक्षा व्यवस्था चुस्त छः प्रशासन


लक्की चौधरी

धनगढी, मंसिर २० गते । विहिबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सबै तयारी पूरा भएको र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदान गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले आम मतदाताहरुमा आव्हान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बुधबार विहान सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत, नागरिक समाजका अगुवा, निर्वाचन पर्यवेक्षक, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग निर्वाचन तयारीका विषयमा छलफल गर्दै त्यस्तो आव्हान गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालकाअनुसार एक दुई ठाउँमा सामान्य समस्या रहेपनि सबै ठाउँमा निर्वाचन उत्साहप्रदरुपमा सम्पन्न हुनेछ । रिजालकाअनुसार गोदावरी न.पा.–१२, ग्वाँसी समैजीस्थितको चाँप गाउँ निर्वाचन केन्द्र निर्धारणमा स्थानीयको असन्तुष्टि रहेको छ । त्यहाँ स्थानीयले केही समस्या पार्न सक्छन् रिजालले भन्नुभयो । तर आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले निर्वाचन प्रभावित नहुने उहाँले प्रष्ट पार्नुभयो ।

त्यस्तै, मोहन्याल गाउँपालिका ६, सोल्टास्थित सरस्वती निमा.वि. सेतीखोर निर्वाचन केन्द्रप्रति पनि स्थानीयको गुनासो रहेकाले केही समस्या आउनसक्ने बुझाई प्रशासनको छ । मतदाता कम संख्या रहेको ठाउँमा मतदानकेन्द्र राखिएकोभन्दै स्थानीयले अन्यत्र केन्द्र निर्धारण गर्न माग गरेका थिए । तर पूर्व निर्णयअनुसार केन्द्र स्थापना भएपछि स्थानीय आक्रोशित रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । त्यसकालागि पनि आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले मतदान प्रभावित भने नहुने उहाँको बुझाई छ ।

बाँकी अन्य ठाउँमा निर्वाचन उत्साहप्रदरुपमा सम्पन्न हुने र सबै तयारी पूरा भएको उहाँले जानकारी दिनु भयो । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले निर्वाचनको तयारी पूरा भएको जानकारी   दिनुभयो । स्थानीय आवश्यकता र मतदानका लागि आवश्यक पर्ने सबै वन्दोवस्त मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन उहाँले मतदाताहरुलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय निर्वाचन आयोगका आयुक्त सुदीप पाठकले निर्वाचन आचारसंहिताको उल्लंघनको घटनाहरु देशव्यापी रहेकाले कैलालीमा त्यस्तो हुन नदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि भएको स्थानीय निर्वाचनको मतगणनामा सूचनामा पत्रकारको पहुँच पुग्न नसकेको र सूचना लिन निकै कठिनाई भएको गुनासो गरेपछि मुख्य निर्वाचन अधिकृत अर्यालले त्यसलाई सिकाईकोरुपमा लिंदै नागरिकलाई सूचना दिनमा कुनै कन्जुस्याई नगरिने प्रतिवद्धता जनाउनुभयो । प्राविधिकरुपमा केही व्यवस्थापन गर्न कठिनाईका कारण सूचनाहरु पत्रकारले मागेका बखत दिन नसकिएको स्वीकार्दै उहाँले जनशक्ति र प्राविधिक समस्याको तालमेल मिल्न नसक्दा त्यसो भएको प्रष्टिकरण दिनुभयो । यसपाली त्यसलाई सुधारेर जाने उहाँको प्रतिक्रिया थियो ।

राष्ट्रिय निर्वाचन आयोगका आयुक्त सुदीप पाठकले निर्वाचन आचारसंहिताको उल्लंघनको घटनाहरु देशव्यापी रहेकाले कैलालीमा त्यस्तो हुन नदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो । मतदातालाई भयरहित वातावरणमा मतदान प्रक्रियामा सहभागीता गराउने जिम्मेवारी सुरक्षा निकायको भएकाले त्यस्को अनुभूति गराउन उहाँले आग्रह गर्नुभयो । शारीरिक अपाङ्गता भएका, गर्भवती, बृद्धबृद्धालाई मतदानमा सहज पहुँच पुग्नेगरी व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी रिजाल र मुख्य निर्वाचन अधिकृत अर्यालको ध्यानाकर्षण गराउनुभयो ।

तीन घेरामा सुरक्षाः

प्रमुख जिल्ला अधिकारी रिजालले निर्वाचन प्रक्रियालाई चुस्त र भयरहित बनाउनेगरी तीन घेरामा सुरक्षा परिचालन गरिएको बताउनुभयो । पहिलो घेरामा जनपद प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो र अन्तिम घेरामा नेपाली सेनाको परिचालनको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय अनुसन्धान सुरक्षामा खटिएकाहरुको जिम्मेवारी पनि हरेक ठाउँको रिपोर्ट लिने सुरक्षालाई अलर्ट गराउने गरी केही जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालकाअनुसार कैलालीमा करिब आठ हजार सुरक्षा जनशक्ति र हजारौंको संख्यामा म्यादी प्रहरीलाई निर्वाचनमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्था चुस्त बनाइएकाले मतदान प्रक्रियामा कुनै समस्या नआउने रिजालले दावी गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी रिजालकाअनुसार कैलालीमा करिब आठ हजार सुरक्षा जनशक्ति र हजारौंको संख्यामा म्यादी प्रहरीलाई निर्वाचनमा परिचालन गरिएको छ । सुरक्षा व्यवस्था चुस्त बनाइएकाले मतदान प्रक्रियामा कुनै समस्या नआउने रिजालले दावी गर्नुभयो । प्रधानमन्त्रीलाई लक्षित गरेर वम स्थानीय प्रशासनले सुरक्षा अवस्थामा कडाई गरिएको भने पनि प्रधानमन्त्री शेरबहादुर देउवा बसेको डिभोटी होटलभन्दा करिब तीनसय मिटर दूरीमा रहेको स्थानीय सुकुटी खोला पुलनजिक अज्ञात समूहले दुईवटा शक्तिबाली बम राखेको  थियो । सोमबार विहान अज्ञात समूहले राखेको एउटा वम पडके पनि अर्को वमलाई सेनाको डिस्पोज गरेको थियो ।

वम राखेको सूचना स्थानीयले सुरक्षाकर्मीलाई दिएपछि वम डिस्पोज गर्ने सुरक्षा टोलीले वम निस्क्रिय गरेको थियो । वम पडकेर सामान्य क्षति पुगेको छ । त्यस्तै, मंगलबार राती माओवादी केन्द्रका नेता लेखराज भट्टको अत्तरियास्थित निवास नजिक अज्ञात समूहले शंकास्पद वस्तु राखेको सूचना पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । सेनाको वम डिस्पोजल टोलीले सो वमलाई पनि डिस्पोज गरेको थियो ।

सोहीअनुसार कैलालीको सुख्खद, लम्की लगायतका ठाउँमा पनि सामान्य शंकास्पद वस्तु सुरक्षाकर्मीले फेला पारेपछि निस्क्रिय बनाएको थियो ।

आचारसंहिताको उल्लंघन

निर्वाचन आचारसंहिताको आशा गरेजस्तो पालना नभएको भन्दै स्थानीय प्रशासनले गुनासो गरेको  छ । आचारसंहिताको परिपालनाकालागि सबै दल र उम्मेदवारलाई पटक पटक आग्रह गरिएको भएपनि त्यसको सुनुवाई नभएको गुनासो प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

ठूलठूला व्यानर, पर्चा, पम्पलेटको व्यापक प्रयोग भएको र टांगीएका व्यानर हटाउने आग्रहअनुसार दलका प्रतिनिधिले खासै चासो नदिएको उहाँले बताउनुभयो ।  त्यस्तै, मौन अवधिको समयमा उम्मेदवारले आचारसंहिताको उल्लंघन गर्दै नगद र जिन्सी सामान मतदातालाई वितरण गरेको रिपोर्ट आफूकहाँ आएको उहाँले जानकारी गराउनुभयो ।

सोबारेमा दलका नेताहरुलाई आचारसंहिता उल्लंघन नगर्न र मतदातालाई कुनै किसिमको प्रलोभनमा नपार्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।

कैलालीमा पाँचवटा निर्वाचन क्षेत्र रहेको छ । जहाँ ४ लाख ६० हजार ५७९ मतदाता रहेका छन् । जसमध्ये ८ जना तेस्रोलिङ्गी मतदाता छन् ।

करिब पाँचहजार कर्मचारी

२१ गतेको निर्वाचनका लागि कैलालीमा करिब चारहजार पाँचसय कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । कैलालीका लागि सो संख्या पर्याप्त नभएपनि काम चुस्त बनाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत अर्यालकाअनुसार कर्मचारीको अभावमा स्थानीय तहको निर्वाचन परिणाम आउनमा ढिलाई भएको थियो ।

यसपाली पनि मागअनुसारको कर्मचारीको व्यवस्थापन हुन नसकेकाले निर्वाचन आयोगले निर्धारण गरेकोजस्तो समय प्रतिनिधिसभाको पाँचदिनमा र सबै मत परिणाम आउन आठ दिनको समय प्राविधिकरुपमा अपुग हुने बताउनुभयो । जनशक्तिको अभावमा तोकिएकै समयमा परिणाम आउन कठिन हुने अर्यालले गोरखापत्रलाई बताउनुभयो ।

कैलालीमा पाँचवटा निर्वाचन क्षेत्र रहेको छ । जहाँ ४ लाख ६० हजार ५७९ मतदाता रहेका छन् । जसमध्ये ८ जना तेस्रोलिङ्गी मतदाता छन् । स्थानीय तहकोभन्दा ५७ हजार २९८ मतदाता बृद्धि भएको निर्वाचन आयोग कैलालीले बताएको छ । क्षेत्रगतरुपमा कैलालीको क्षेत्र नं. १ मा ९३ हजार ६७३, क्षेत्र नं. २ मा ८९ हजार ८७१ मतदाता छन् ।  त्यस्तै, क्षेत्र नं. ३ मा ९१ हजार ८३३, क्षेत्र नं. ४ मा ९३ हजार ३८४ र क्षेत्र नं. ५ मा ९१ हजार ८१८ मतदाता रहेका छन् ।

कैलालीको पाँचवटै निर्वाचन क्षेत्रमा पाँच सिटका लागि प्रतिनिधिसभामा ४२ जना, प्रदेशसभामा १० सिटकालागि ७२ जना गरी जम्मा ११४ उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, २३१ मतदान स्थल रहेको कैलालीमा ५३८ मतदान केन्द्र कायम गरिएको मुख्य चिर्वान अधिकृतको कार्यालयले जानकारी गराएको छ । कैलालीको पाँचवटै निर्वाचन क्षेत्रमा पाँच सिटका लागि प्रतिनिधिसभामा ४२ जना, प्रदेशसभामा १० सिटकालागि ७२ जना गरी जम्मा ११४ उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं. ५ मा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाको नेपाली कांग्रेसबाट उम्मेदवारी रहेकाले अन्य क्षेत्रभन्दा सो क्षेत्रको प्रभाव र सुरक्षाकर्मी बढी परिचालन गरिएको स्थानीय प्रशासनले बताएको छ । डा. राणासँग वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का युवा नेता नारदमुनी रानाथारुको उम्मेदवारी रहेको छ । दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको स्थानीय मतदाताको भनाई छ ।

निर्वाचन परिणाम नआउँदासम्म केही भन्न सक्ने अवस्था नरहेको स्थानीय एक मतदाताले भन्नुभयो । कैलालीको पाँचवटै निर्वाचन क्षेत्रमा थारु समुदायको मत नै निर्णायक भएकाले उम्मेदवारले सो समुदायका मतदाता फकाउनमा व्यस्त देखिएका छन् ।

तपाईको प्रतिक्रिया