
धनगढी, मंसिर २२ गते । कैलालीको निर्वाचन क्षेत्र ५ को प्रतिनिधि र प्रदेश सभाको मतगणना शुक्रबार दिउँसो १ बजेबाट सुरु भएको छ । क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन क्षेत्र ५ को मतगणना सुरु गरिएको हो ।
अन्य क्षेत्रको मतगणना अझै शुरु हुन सकेको छैन । मत गणना गरिने कक्षमा तारजाली लगाएर मत पत्रको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।
प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धनबाट नेकपा (एमाले) का नारदमुनी रानाथारुले ६२४, नेपाली कांग्रेसकी आरजु राणा ३११, राजपाका लक्ष्मण थारुले ३६० र विवेकशील साझाका दिनेश भण्डारीले १६ मत प्राप्त गरेको निर्वाचन कार्यालय धनगढीले बताएको छ । १४०२ मत गणना हुँदा ७९ मत वदर भएको सो कार्यालयले जनाएको छ ।
कैलाली जिल्लाको निर्वाचन क्षेत्र १ र ३ मा पनि अपराह्न पछि गणना गर्ने तयारी भैरहेको छ । क्षेत्र नं २ र ४ को गणना कार्य भने आज बेलुकावाट सुरु हुने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कैलाली जिल्लाको निर्वाचन क्षेत्र १ र ३ मा पनि अपराह्न पछि गणना गर्ने तयारी भैरहेको छ । क्षेत्र नं २ र ४ को गणना कार्य भने आज बेलुकावाट सुरु हुने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी कैलाली क्षेत्र नं ५ (क) तर्फ एमालेका नेपालु चौधरीको ६२७, कांग्रेसकी जिवन रानाथारुको ३३७ र विवेकशील साझाका नारायण चौधरीको २७ मत आएको छ । सोहीअनुसार (ख) तर्फ कांग्रेसका डिल्लीराज पन्तको ६३०, माओवादी केन्द्रका रमेश धामीको ३९१ र विवेकशील साझाका प्रकाशचन्द्र भट्टलाई १७९ मत आएको छ ।
निर्वाचन क्षेत्र ४ र २ का कतिपय मतदान केन्द्र भौगोलिकरुपले बिकट टाढा रहेकाले कतिपय मत पेटिकाहरु शुक्रवार दिउँसोसम्म सदरमुकाम पुग्न नसक्दा मतगणना ढिलो भएको हो । अहिले गणना भइरहेको मतगणनामा प्रदेश तर्फ २ र ९ र प्रतिनिधितर्फ ६ र १९ वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





