
कारी महतो
चितवन, मंसिर २२ गते । चितवनको खैरहनी नगरपालिकास्थित एक महिला समूहले कृषि मजदुरी गरेर भूकम्परहित सामूदायिक भवन निर्माणमा लागेको छ ।
खैरहनी नगरपालिका वडा नं. ७ सुर्ताना गाउँका ४८ जना महिलाहरुले २०७१ सालमा प्रगति महिला किसान समूह गठन गरेका थिए । तीन वर्षको अवधिमा उनीहरुले कसैको सहयोगविना नै उल्लेखनीय प्रगति गरेका छन् ।प्रगति महिला किसान समूहले आफ्नै कोषबाट ११ लाख बराबरको ६ धुर घडेरी किनेर त्यसमा ३ कोठे पक्की भवन निर्माण गरिरहेका छन् ।
हालसम्म भवन बनाउनका लागि घडेरीसहित ३५ लाख खर्च भैसकेको समूहका सचिव रीता महतोले बताइन् । उक्त भवनको छत ढलान गर्न मात्र बाँकी छ । भवन बनाउनका लागि कुनै पनि संघ संस्थाले आर्थिक सहयोग नगरेपछि समूहका सबै सदस्यहरुले आर्थिक संकलन गर्न सामूहिकरुपमा कृषि मजदुरी गर्दै आएका छन् ।
“हामीले नगरपालिका लगायत विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोगकालागि अनुरोध गरेका थियौं तर कुनै संघ संस्थाले पनि सहयोग नगरेकोले भवन निर्माण सम्पन्न गर्न ज्यालामजदुरी गर्न थालेका हौं” सचिव महतोले बताइन् ।उनीहरुले हरेक काम समूहका सबै सदस्यहरुको सहमतिमा गर्ने गरेका छन् ।
कृषि मजदुरी अन्तर्गत उनीहरुले सामूहिक रुपमा विभिन्न कृषि बालीहरु रोप्ने, गोडमेल गर्ने, काट्ने इत्यादि सबै काम गर्ने गरेका छन् । यसवर्ष सामूहिक रुपमा धान गोडमेल गरेर ३ लाख १ हजार रुपैयाँ संकलन गरेको कुरा समूहका सदस्य भगवती चौधरीले बताइन् । उनले भनिन् “धान गोडेर तीन लाख एक हजार जम्मा गरेका छौं, थप रकम संकलन गर्न सामूहिक रुपमा तोरी काट्ने सल्लाह पनि भएको छ ।”
“धान गोडेर तीन लाख एक हजार जम्मा गरेका छौं, थप रकम संकलन गर्न सामूहिक रुपमा तोरी काट्ने सल्लाह पनि भएको छ ।”
समूहले जग्गा भाडामा लिएर सामूहिक अर्गानिक खेती पनि गर्ने गरेका छन् । अर्गानिक खेती अन्तर्गत उनीहरुले टनेल बनाएर टमाटर, काउली, बन्दा लगायत खेती गरेका थिए । समूहले गरेको अर्गानिक खेतीबाट प्रभावित भई जिल्ला कृषि विकास कार्यालय चितवनले त्यस समूहलाई पुरस्कार समेत दिएको कुरा समूहका सदस्य काली चौधरीले बताइन् ।समूहले विभिन्न मेला महोत्सवमा थारु खानाका परिकारहरु बिक्री वितरण गरेर पनि रकम संकलन गर्दै आएका छन् ।
गतवर्ष सात दिनसम्म खिचरा महोत्सवमा समूहले ६० हजार नाफा गरी बचत गरेको कुरा समूहका सदस्य जानकी चौधरीले बताइन । यसवर्ष ११ दिन सम्म चल्ने खिचरा महोत्सवमा उनीहरुले कम्तिमा डेढ लाख रुपैयाँ नाफा गरी बचत गर्ने तयारी गरेका छन् । सामाजिक उद्यमी महिला सहकारी संस्थाको नामबाट मेला महोत्सवमा उनीहरुले थारु खानाका परिकारहरुको बिक्री वितरण गर्ने गरेका समूहका सदस्य पार्वती चौधरीले बताइन् ।
२०६९ सालमा दर्ता भएको सामाजिक उद्यमी महिला सहकारी संस्थाको सक्रियतामा विभिन्न २८ वटा समूहहरु गठन गरिएको छ । सहकारीमा २२० जना सदस्यहरु छन् ।
महोत्सवहरुमा अरु होटल स्टलको तुलनामा निकै कम मूल्यमा थारु परिकार बेच्ने गरेकोले थोरै नाफा भएको महिला समूहका सदस्य पार्वती चौधरीले बताइन् । नाफा कमाउने भन्दा पनि थारु खानाको प्रचारप्रसार गर्ने हाम्रो उद्देश्य भएकोले अरु स्टल भन्दा हामीले सस्तोमा बिक्री गर्ने गरेको उनले बताइन् । खिचरा महोत्सवमा स्टल बुकिङ्ग गर्न आएको समूहले सो कुरा बताएका हुन् ।
२०६९ सालमा दर्ता भएको सामाजिक उद्यमी महिला सहकारी संस्थाको सक्रियतामा विभिन्न २८ वटा समूहहरु गठन गरिएको छ । सहकारीमा २२० जना सदस्यहरु छन् । सहकारीका सबै सदस्यहरु महिला छन् । ती मध्ये प्रगति महिला किसान समूहले कम अवधिमा प्रगति गरेको छ ।
अध्यक्ष तेजकुमारी चौधरीको अनुपस्थितिमा पनि अन्य पदाधिकारी र सदस्यहरु निकै सक्रियतापूर्वक हरेक काममा सहभागी हुने भएकोले सहकारी र समूहले प्रगति गरेको हो । महिलाहरुको सहकारी संस्था र समूहको सामूहिक क्रियाकलापहरुलाई मध्यनजर गरी नगरपालिका, जिल्ला कृषि विकास कार्यालय लगायत दातृ संस्थाहरुले सहयोग गरेको खण्डमा यी महिलाहरु नेपालकै नमूना सहकारी र कृषक समूह बन्न सक्छ ।




