कैलाली जिल्लामा तीनजना थारु प्रतिनिधिसभातर्फ जितको निकट


लक्की चौधरी

धनगढी, मंसिर २४ गते । थारु समुदायको सबैभन्दा वढी जनसंख्या रहेको कैलाली जिल्लाको पाँचवटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा तर्फ तीनजना थारु उम्मेदवार जितको निकट पुगेका छन् । थारु समुदायमा उत्साह देखिएको छ ।

कैलाली क्षेत्र नं. ५ अन्तर्गत वाम गठबन्धनको नेकपा (एमाले) बाट नारदमुनी रानाथारु प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई पराजित गर्ने अन्तिम चरणमा पुग्नुभएको छ । पछिल्लो मत परिणामअनुसार रानाथारु राणाभन्दा २७६६ मतले अगाडि हुनु  हुन्छ ।  रानाथारुले २१ हजार ६३९ मत प्राप्त गर्दा राणाले १८ हजार ८७३ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा अहिलेसम्म ५१ हजार ९५० मत गणना भइसकेको छ । अब ९ हजार ९८४ मत गणना गर्न बाँकी छ । जहाँ ६१ हजार ९३४ मत खसेको थियो ।

शुरुवाती चरणदेखि मत अग्रता गर्नुभएका रानाथारुको जित करिब सुनिश्चित भइसकेको छ ।  रानाथारुले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अब मेरो जित करिब सुनिश्चित भइसकेको छ, मलाई सहयोग गर्नुहुने सबै महानुभावहरुलाई धेरै धेरै धन्यवादसहित आभार व्यक्त गर्न चाहन्छु ।” रानाथारुले यस्तो प्रतिक्रिया सार्वजनिक गरिरहँदा डा. राणाको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

“अब मेरो जित करिब सुनिश्चित भइसकेको छ, मलाई सहयोग गर्नुहुने सबै महानुभावहरुलाई धेरै धेरै धन्यवादसहित आभार व्यक्त गर्न चाहन्छु ।” रानाथारुले यस्तो प्रतिक्रिया सार्वजनिक गरिरहँदा डा. राणाको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. ३ मा वाम गठबन्धनकै माओवादी केन्द्रका गौरीशंकर चौधरीले पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस नेता रामजनम चौधरीलाई करिब तीन हजार मतले पछाडि पार्दै अग्रता लिइरहनुभएको छ । उहाँको जित पनि करिव सुनिश्चित्जस्तै देखिएको छ ।  पछिल्लो मतअनुसार गौरीशंकरले १४ हजार २७६ मत पाउँदा रामजनमले ११ हजार ८८३ मत प्राप्त गर्नुभएको छ । दुवैबीचको मत फरक २३९३ रहेको  छ । शुरुवाती चरणदेखि गौरीशंकरको अग्रताले उहाँकै पोल्टामा जित आउने करिब पक्का देखिएको छ ।

त्यस्तै, अर्को सुनिश्चित देखिएको क्षेत्र १ हो । टीकापुर घटनामा आरोप खेप्नुभएका रेशम चौधरीलाई त्यस क्षेत्रका थारु समुदायको एकछापे मत गएको देखिएको छ । सो क्षेत्रमा करिब ६५ प्रतिशत थारुको मत छ । जुन मतको प्रभाव चौधरीमा देखिएको छ । जहाँ वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारलाई धेरै मतान्तरले पछि पार्दै चौधरीले अग्रता लिइरहनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार चौधरीले १० हजार ८२७ मत पाउँदा एमालेकी गरिमा शाहले २३१३ र कांग्रेसकी ईश्वरी न्यौपानेले १९२४ मत प्राप्त गर्नुभएको छ । यद्यपि थारु पकड क्षेत्रको मतपेटिकाको मत गणना भएकाले चौधरीको पक्षमा मत आएको बुझाई गैरथारु समुदायको प्रतिक्रिया देखिएको छ । थारु समुदाय बाहेकको निर्वाचन क्षेत्रमा सो मत परिणाममा फरक आउने दावी गैरथारु समुदायको छ ।

टीकापुर घटनामा आरोप खेप्नुभएका रेशम चौधरीलाई त्यस क्षेत्रका थारु समुदायको एकछापे मत गएको देखिएको छ । सो क्षेत्रमा करिब ६५ प्रतिशत थारुको मत छ ।

कैलाली ५ मा राजपाबाट उम्मेदवार बन्नुभएका थरुहट आन्दोलनका अगुवा लक्ष्मण थारुको पक्षमा पनि थारु मत उल्लेख्यरुपमा गएको छ । थारु जेल बाहिर रहेको भए मतमा धेरै बढोत्तरी गर्नसक्ने अनुमान धेरैको थियो । थारुले अहिलेसम्म ६०३० मत प्राप्त गरिसक्नुभएको  छ । जहाँ विवेकशील साझाका दिनेश भण्डारीको २४०४ मात्र मत छ ।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा थारुको जनसंख्या अधिक छ । कैलालीमा ४२ प्रतिशत थारु छन् भने कञ्चनपुरमा २५ प्रतिशत थारु छन् ।

कैलालीमा थारु समुदायका उम्मेदवारले उल्लेख्य जित हात पारिरहँदा कञ्चनपुरमा भने थारुको अवस्था निराशाजनक छ । थारु समुदायको मत थारु उम्मेदवारमा जानु भनेको थारु समुदायमा चेतनास्तर बृद्धि भइरहेको कतिपय थारु अगुवाहरुको बुर्झा छ ।

तपाईको प्रतिक्रिया