
काठमाडौँ, मंसिर २७ गते । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै छ।
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार समानुपातिक तर्फ कुल खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मत मध्ये गणना भएको ५१ लाख ५६ हजार ६१० मत गन्दा एमालेले सबैभन्दा बढी १८०९४४३ अर्थात ३५ प्रतिशत मत ल्याएको छ। नेपाली कांग्रेसले भने ३३.४ प्रतिशत मत प्राप्त गर्दै एमालेलाई पछ्याइरहेको छ।
३ प्रतिशत थ्रेस होल्ड कटाउने दलले मात्र राष्ट्रिय पार्टीका रूपमा समानुपातिकको १ सय १० सिटको वितरणमा सहभागी हुन पाउनेछन्।
विगतमा थोरै मत ल्याएर पनि समानुपातिकबाट एक सिट पाएर संविधानसभामा प्रतिनिधित्व गर्ने दल आधा दर्जनभन्दा बढी थिए । तर यस पटक समानुपातिकमा सिट पाउने दलले न्यूनतम ३ लाख वरिपरि मत ल्याउनुपर्ने छ ।
निर्वाचन कानुनले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ३ र प्रदेशसभाका लागि १.५ प्रतिशत मतको थ्रेसहोल्ड तोकेको छ । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६०(११) र प्रदेशसभा निर्वाचन ऐनको दफा ६०(९) मा त्यससम्बन्धी प्रावधान उल्लेख छ ।
समानुपातिक तर्फ कुल खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मत मध्ये गणना भएको ५१ लाख ५६ हजार ६१० मत गन्दा एमालेले सबैभन्दा बढी १८०९४४३ अर्थात ३५ प्रतिशत मत ल्याएको छ।
त्यस्तै नेकपा माओवादी केन्द्र ६ लाख २३ हजार ९७३ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले एक लाख ५६ हजार ९८२ मत पाएको छ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ९९ हजार ३९८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ९७ हजार ५२८, विवेकशील साझाले ९५ हजार ४०८, नयाँ शक्ति पार्टी नेपालले ४८ हजार ३०१, राप्रपा प्रजातान्त्रिकले ३२ हजार ७०० र राष्ट्रिय जनमोर्चाले ३१ हजार ५८२ मत प्राप्त गरेका छन् । समानुपातिकमा कायम थ्रेसहोल्ड कटाउन नसक्ने दलको मत खेर जानेछ ।
समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालका अनुसार प्रतिनिधिसभाको हकमा ३ र प्रदेशसभाको हकमा डेढ प्रतिशतभन्दा कम मत ल्याउने दलले सम्बन्धित सभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व पाउदैनन्। समानुपातिकको सिट बाँडफाँड गर्दा थ्रेसहोल्डमा तोकिएभन्दा कम मतलाई जोडिदैन।




