प्रतिनिधि सभातर्फ १० र प्रदेश सभामा १७ थारु उम्मेदवार निर्वाचित


लक्की चौधरी

काठमाडौं, मंसिर २८ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा थारु समुदायबाट जनसंख्याको अनुपातमै प्रतिनिधिसभाबाट उम्मेदवार निर्वाचित भएपनि प्रदेशसभामा हुन सकेनन् । प्रतिनिधिसभातर्फ १० जना थारु र प्रदेशसभा तर्फ १७ जना थारुले बाजी मारे ।

कुल जनसंख्याको करिब ७ प्रतिशत रहेका थारु समुदायका लागि यो संख्या अलिकतिले मात्र कमी हो । प्रतिनिधिसभाको कुल १६५ को १० जना भनेको ६ प्रतिशत हो । यद्यपि उम्मेदवारी भने धेरैजनाको परेको थियो । निर्वाचित दशजना थारुमा तीनजना माओवादी केन्द्र, तीनजना नेपाली कांग्रेस, दुईजना नेकपा (एमाले) र दुईजना राजपाबाट रहेका छन् ।

निर्वाचित थारुमा माओवादी केन्द्रका अमनलाल मोदी थारु (मोरङ ४), सन्तकुमार थारु (वर्दिया २), गौरीशंकर चौधरी (कैलाली ३) छन् । त्यस्तै, कांग्रेसबाट तेजुलाल चौधरी (सप्तरी ४), उमाकान्त चौधरी (बारा १), विजयकुमार गच्छदार (सुनसरी ३) रहेका छन् । एमालेबाट नारदमुनी रानाथारु (कैलाली ५) र मेटमणी चौधरी (दाङ १) छन् भने राजपाबाट रेशमलाल चौधरी (कैलाली १) र चन्द्रकान्त चौधरी (सप्तरी ३) रहेका छन् ।

सोहीअनुसार प्रदेश सभातर्फ १७ जना थारुले जित निकालेका छन् । यो कुल ३३० मा ५.१५ प्रतिशत मात्र हो । प्रदेशसभातर्फ एमालेबाट सातजना, माओवादी केन्द्रबाट पाँचजना, कांग्रेसबाट तीनजना र राजपाबाट दुईजना छन् । थारु उम्मेदवारहरुले राजनीतिक विरासत कायम गरेका चर्चित उम्मेदवारलाई पराजित गर्दै जित निकाल्न सफल भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाका पत्नी डा. आरजु राणा देउवालाई पराजित गर्दै कैलाली ५ मा नारदमुनी रानाथारुले जित सुनिश्चित गर्नुभयो । त्यस्तै, अमनलाल मोदी थारुले पूर्व वनमन्त्री महेश आचार्यलाई पराजित गरी निर्वाचित हुनुभयो ।

प्रदेशसभा तर्फ निर्वाचित थारुमा एमालेबाट वैजनाथ चौधरी (नवलपरासी २ (क)), त्रिलोकी चौधरी (बारा १ (क)), तुलसीप्रसाद चौधरी (रुपन्देही ३ (ख)), कविराम थारु (वर्दिया १ क)), लगनलाल चौधरी  (सिराहा १ (क)), नेपालु चौधरी (कैलाली ५ (क)) र कुलवीर चौधरी (कञ्चनपुर १ (ख)) रहेका छन् ।त्यस्तै, माओवादी केन्द्रबाट इन्द्रजीत थारु (दाङ १ (क)), रामलाल महतो थारु (चित्तवन ३ (क)), दिपेश चौधरी (वर्दिया २ (क)), वीरमान चौधरी (कैलाली ३ (क)) र विजय विश्वास थारु (मोरङ ४ (क)) छन् ।

सोहीअनुसार कांग्रेसबाट डिल्लीबहादुर चौधरी (दाङ ३(क)) , चुमनारायण तवदार थारु (मोरङ ६ (क)) र अगमलाल चौधरी (सुनसरी ३ (ख)) बाट निर्वाचित हुनुभयो । त्यस्तै राजपाबाट शंकरलाल चौधरी (पर्सा ४ (क)), कृष्णबहादुर चौधरी (कैलाली १ (क)) रहेका छन् । टीकापुर घटनामा आरोपित रेशमलाल चौधरी कैलाली १ बाट जित सुनिश्चित गर्दा वाम गठबन्धन र कांग्रेस दललाई आश्चर्यचकित नै पार्नुभयो ।

वाम गठबन्धनकी उम्मेदवार गरिमा शाह र कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै चौधरी भारी मतले निर्वाचित हुनुभयो । सो जितलाई धेरैले अप्रत्याशित जित भनेका छन् ।

चर्चित मत पाएर पराजितःथारु समुदायका चर्चित उम्मेदवारमध्ये केहीले सम्मानजनक मतकासाथ पराजय भोग्नुप¥यो । कांग्रेसबाट उम्मेदवारी दिनुभएका डा. गोपाल दहित (वर्दिया २) मा माओवादीका सन्तकुमार थारुबाट पराजित हुनुभयो । ३६ हजार ७३५ मत ल्याएर पनि उहाँ पराजित हुनुभयो । सन्तकुमार थारुले ५० हजार ५५५ मत ल्याएर दहितलाई पराजित गर्नुभयो ।

त्यस्तै, सुनसरी ३ बाट कांग्रेसका विजयकुमार गच्छदारबाट पराजित हुनुभएका एमालेकी नेतृ भगवती चौधरीको मत पनि सम्मानजनक   छ । ३८ हजार ६५१ मतकासाथ उहाँलाई पराजय व्यहोर्नुप¥यो । गच्छदारले ३८ हजा ९७२ मत ल्याउँदा भगवती ३२१ मतले पछाडि पर्नु  भयो । संविधानसभाको दोस्रो निर्वाचनमा गच्छदार ३६५ मतले चौधरीलाई पराजित गर्नुभएको थियो ।

त्यस्तै, उदयपुर १ बाट कांग्रेसका नारायण खड्कासँग पराजित हुनुभएकी एमालेकी अर्का नेतृ मञ्जुकुमारी चौधरीको मत पनि सम्मानजनक छ । उहाँले ३२ हजार ५९४ मत ल्याएर पराजित हुनुभयो । खड्काले ३३ हजार १४२ मत प्राप्त गर्दा चौधरी ५४८ मतले पछाडि पर्नुभयो ।

त्यस्तै, अन्य चर्चित थारु उम्मेदवारमा कांग्रेसका रामजनम चौधरी (कैलाली ३) बाट पराजित हुनुभयो । सुरेन्द्रप्रसाद चौधरी (पर्सा ३) बाट पराजित हुनुभयो । त्यस्तै, जनकराज चौधरी (कैलाली १ (क) बाट पराजित हुनुभयो भने राजपाका लक्ष्मण थारु (कैलाली ५) र राजकुमार लेखी (सप्तरी १ (क)) बाट पराजित हुनुभयो ।

तपाईको प्रतिक्रिया