
काठमाडौं, पुस ३ गते । पहिलो पटक हुन लागेको मिस एण्ड मिष्टर थारु सेलेक्सन प्रक्रिया काठमाडौंको नाचघरमा शुरुभएको छ । प्रतियोगिताबाट एकजना मिस थारु र एकजना मिष्टर थारुको ताज पहिरिने छन् ।
मिस थारुका लागि २७ जना विभिन्न जिल्लाका युवतीले प्रतियोगितामा भाग लिएका छन् भने युवातर्फ २१ जनाको सहभागिता छ । अन्तिम प्रतिस्पर्धामा उत्रेका सबैजनाको भाग्यको फैसला सोमबार रातीसम्म हुनेछ । कार्यक्रमको उद्घाटन थारु नेता विजयकुमार गच्छदारले गरेका छन् । कार्यक्रममा थारु युवा तथा युवतीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

सहभागीहरु तराईका कञ्चनपुरदेखि पूर्वको झापा, मोरङ, सुनसरीसम्मका रहेका छन् । २५ वर्ष मुनिकालाई प्रतियोगितामा सहभागी गराइएको छ । मिस एण्ड मिष्टर थारु प्रतियोगिता यो पहिलो पटक हुन लागेका हो ।
यसअघि मिस नेपाल प्रतियोगितामा विभिन्न थारु युवतीले प्रतिस्पर्धा गरेपनि मिष्टर थारु र मिस थारुका लागि पहिलो पटक प्रतियोगितामा भाग लिएका छन् । छनौट समितिमा मिस नेपाल प्रतियोगितामा भाग लिइसकेका थारुहरु रहेका छन् ।
छनौट समितिमा मिस नर्थ इण्डिया २०१३ की ईसा सिंह, मिस नेपाल बब्ली २०१५ की निष्मा चौधरी, मिस एशिया नेपालकी कृषा गिरी, मिस एरोमा चित्तवनकी ईषा प्रधान, मिस नेपाल इन्टरनेशनल वर्षा लेखी र थारु फिल्मस प्रोडक्सनका प्रबन्धक रामलाल चौधरी रहेको आयोजकले बताएको छ ।






