मलेसियाको कोलालमपुरमा पहिलो पल्ट माघी महोत्सवको तयारी


काठमाडौं, पुस ४ गते । काम विशेषले मलेसियाको कोलालमपुरमा बसोबास गर्ने थारु समुदायले यस वर्ष माघी महोत्सव २०७४ गर्ने तयारी गरेका छन् । मलेसियामा यो पहिलो थारु माघी महोत्सव हुनेछ ।

यसअघि कतार, दुवई लगायतका ठाउँमा थारु माघी महोत्सव आयोजना हुने गरेपनि मलेसियामा पहिलो पटक तयारी गरिएको प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक आर.एन. चौधरीले बताउनुभयो । कार्यक्रमको उद्घाटन श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने आयोजकले बताएको छ ।

सन् २०१६ डिसेम्बरमा गठन भएको प्रवासी थारु सेवा समाज मलेसियाले पुस ३० गते (जनवरी १४) मा माघी महोत्सव गर्ने निर्णय गरेको संस्थापक अध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।

महोत्सवमा थारु परिकारसहित थारु, कला संस्कृति झल्काउने नृत्यहरु, झाँकीहरु प्रदर्शन गरिने आयोजकले बताएको छ । मलेसियामा करिब आठ लाख नेपाली काम विशेषले बसोबास गर्ने गरेको बताइन्छ । सो मध्ये करिब ४० हजारको हाराहारीमा थारुहरुको बसोबास रहेको मानिन्छ ।

तपाईको प्रतिक्रिया