सरकार नयाँ ढंगबाट अगाडि बढ्छः सञ्चारमन्त्री राई

संविधानको कमजोरी प्रक्रियाबाटै संशोधन


Chautari

काठमाडौं, मंसिर २ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधानको जगमा वर्तमान सरकार गठन भएकाले मुलुक विकास र समृद्धिको नयाँ बाटोबाट अगाडि बढ्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको स्वागत तथा बधाई कार्यक्रममा बुधबार यहाँ बोल्नुहुँदै मन्त्री राईले त्यस्तो बताउनुहुँदै मुलुक हिजोको अवस्थाबाट अगाडि बढ्न नसक्ने प्रष्ट पार्नुभयो । नयाँ संविधानको कार्यान्वयन नहुँदासम्म जनताको अधिकार कागतमै सीमित हुनेहुँदा त्यसको सहज र प्रभावकारी कार्यान्वयनको आवश्यकता उहाँले औल्याउनुभयो ।
नयाँ संविधानमा कमजोरी केही छन् भने संशोधनको वैकल्पिक ढोका खुला रहेकाले वार्ता र संवादकै माध्यमबाट समस्या समाधान गर्न सकिने मन्त्री राईले बताउनुभयो । “संविधान अस्वीकार गर्ने, च्यात्ने, मूलमर्ममाथि नै प्रहार गर्ने काम स्वीकार्य हुनसक्दैन, कमजोरी छन् भने प्रक्रियाबाटै संविधान परिमार्जन गर्न सकिन्छ” सरकारको प्रवक्ता समेत रहनुभएका उहाँले भन्नुभयो ।
नयाँ संविधान जारीसँगै मुलुक संक्रमणकालिन अवस्थाबाट छुटकारा पाएपनि अघोषित नाकाबन्दीको अर्को संक्रमणमा फँसेको मन्त्री राईले बताउनुभयो । आन्तरिक समस्या समाधानका लागि वार्ता र संवाद उच्चतहमा भइरहेको र भारतीय सरकारसँग पनि कुटनीतिक पहल भएकाले विद्यमान संकटको अवस्था चाँडै समाधान हुने विश्वास उहाँले दिलाउनुभयो ।
“नेपाली जनताको पीडामा छिमेकी राष्ट्र मानवीय संवेदननाहिन हुनु हुँदैन” भन्नुहुँदै मन्त्री राईले विद्यमान समस्याको सामना सरकारले नयाँ ढंगबाट गर्ने बताउनुभयो । सरकारको तर्फबाट साझा सहमतिको न्यूनतम कार्यक्रम चाँडै सार्वजनिक हुनगइरहेको जानकारी दिनुहुँदै मन्त्री राईले त्यसले समस्या समाधान तथा विकासको ठोस बाटो तयगर्ने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकको चुनौतिको सामना सरकारसँगै प्रेसजगतले पनि गर्नु परिरहेकाले सबै मिलेर त्यसको समाधान गरिने बताउनुभयो । नेपाली प्रेस जगतमा देखिएको समस्या, चुनौति र कमजोरीलाई समाधान गर्न सरोकारवालापक्ष सबैको परामर्श र छलफलमा आफू अगाडि बढ्ने प्रतिवद्धता जनाउनुहुँदै मन्त्री राईले प्रेसलाई जिम्मेवार, पारदर्शी र अधिकारसम्पन्न बनाउन तत्काल काम शुरुगर्ने प्रतिवद्धता जनाउनुभयो ।
“प्रेस जगतकालागि गर्न बाँकी कामहरुलाई पेन्डिङ्मा राख्दिन, तत्काल अगाडि बढाउँछु” भन्नुहुँदै मन्त्री राईले आमसंचार प्रशिक्षण प्रतिष्ठान, नीति परिमार्जन तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको काममा ढिलाई नगरिने प्रष्ट पार्नुभयो । नयाँ संविधान कार्यान्वयनका लागि यसको सकारात्मकपक्ष र कमजोरीबारेमा नेपाली मिडियालाई सकारात्मक भूमिका निर्वाह गर्न उहाँले सो अवसरमा आग्रह गर्नुभयो ।
एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले नवनियुक्त सञ्चारमन्त्री राईलाई परिणामुखी काम गरेर देखाउन सुझाव दिनुभयो । मन्त्री राई सुशासन तथा अनुगमन समितिका सभापतिको भूमिकामा समेत रहनुभएकाले उहाँले प्रेस जगतलाई जिम्मेवार तथा पारदर्शी बनाउनमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले पत्रकारको व्यवसायिक दक्षता तथा पेशागत सुरक्षाकालागि आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो । प्रेस चौताी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले नेपाली प्रेस जगतले गर्व गर्नलायक काम गर्न मन्त्री राईलाई सुझाव दिनुभयो ।
सो अवसरमा अध्यक्ष अर्याल तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाले मन्त्री राईलाई खादा तथा फूलमालाले स्वागत गर्नुहुँदै बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनुभयो । सोही अवसरमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहाललाई पनि स्वागत तथा बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल सम्बद्ध वरिष्ठ पत्रकार तथा कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।
सोहीअनुसार गोरखापत्र संस्थान कर्मचारी संघ ४७ र प्रेस चौतारी शाखाले संयुक्तरुपमा मन्त्री राईलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ । बुधबार संघका अध्यक्ष राजु महतको नेतृत्वमा गएको प्रतिनिधि टोलीले मन्त्री राईलाई बधाई ज्ञापन गरेको हो ।

Chautari1

SAM_2090

तपाईको प्रतिक्रिया