आठ ध्वजाबाहक जहाज थपिन्छः मन्त्री पोखरेल


Aananda-Pokhreal

काठमाडौं, मंसिर २ गते । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले आठ वटा राष्ट्रिय ध्वजावाहक जहाज थपिने बताउनुभएको छ ।

मन्त्री पोखरेलले नेपाल वायुसेवा निगममा आन्तरिक र बाहृय उडान गर्ने चार चारवटा जहाज थप्ने योजना सार्वजनिक गर्नुभएको छ ।

अहिले निगमले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान चार चार ओटा विमानबाट भर्दै आएको छ । मन्त्री पोखरेलले पारदर्शी प्रक्रियाबाट यो संख्या आठ आठ पुर्‍याउने जानकारी दिनुभयो ।

‘मुलुकमा पर्यटक आगमन बढाउन पनि पर्याप्त राष्ट्रिय ध्वजावाहक जहाज चाहिन्छ’ मन्त्री पोखरेलले भन्नुभयो ‘निगमलाई जहाज खरिद गर्नका लागि अब कसैले पनि रोक्न सक्दैन ।

निगमले जहाज खरिद गर्ने प्रकृया अगाडि बढाउने वित्तिकै विभिन्न अवरोधहरु आउने गरेका छन् । यही कारण सञ्चालनमा आएको लामो समय वितिसक्दा समेत निगमले आवश्यक जहाज थप्न सकेको छैन् ।

दुईवटा बोइङ ७५७ उडाउँदै आएको निगमले २७ वर्षपछि दुईवटा एयरबस ३२० भित्र्याएको छ । जहाजको अभाव हुँदा निगमले अन्तर्राष्ट्रिय उडान विस्तार गर्न नसकेको बताउँदै मन्त्री पोखरेलले ‘वाइड बडी’ जहाज किनेर युरोपसम्म सेवा विस्तार गर्ने योजना रहेको सुनाउनुभयो ।

निगम सञ्चालक समितिले पनि ८ वटा नयाँ जहाज खरिद गर्न प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । जसमध्ये अन्तर्राष्ट्रिय उडानका लागि २ वटा वाइड बढी र २ वटा न्यारो बडी जहाज हुनेछन् । बाँकी चारवटा जहाज आन्तरिक उडानका लागि ल्याइने बताइएको छ ।

‘जहाज किन्न अवरोध पुर्‍याउने सबैलाई प्रधानमन्त्रीको नेतृत्वमा बैठक बसालेर एकै ठाउँमा प्रतिवद्धता जाहेर गर्न लगाउँछु’ मन्त्री पोखरेलले भन्नुभयो ‘तालुक मन्त्री भएको नाताले पनि राष्ट्रिय ध्वजावाहक जहाज बढाएर पर्यटन विकास गर्ने मेरो जिम्मेवारी हो ।’

तपाईको प्रतिक्रिया