एमाले–माओवादी एकतामा नेतृत्व तयार भएपछि सम्भवः गौतम


लक्की चौधरी
काठमाडौं, पुस २७ गते । नेकपा (एमाले) का कार्यबाहक अध्यक्ष वामदेव गौतमले नेपाली कम्युनिष्ट दलहरुबीचको एकताकालागि लामो समयदेखि वार्ताप्रक्रिया थालिए पनि नेतृत्वकर्ता तयार नभएकाले एकता हुन नसकेको बताउनुभएको छ ।

अध्यक्ष ओली स्वास्थ्यपरीक्षणकालागि बैंकक जानुभएपछि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनुभएका गौतमले विहिबार यहाँ केही पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै त्यस्तो बताउनुभयो । वाम गठबन्धन दल एमाले र माओवादी केन्द्रका नेतृत्वकर्ता तयार भएकैकारण अहिले दुई दलबीच एकता प्रक्रिया शुरुभएको प्रष्ट पार्नुभयो ।

“दुवै अध्यक्षले पार्टी एकताको प्रस्तावमा पछिल्लो समय सकारात्मक भएपछि मेरै प्रस्ताव र प्रयासअनुरुप पार्टी एकताको प्रक्रियाले मूर्तरुप लिने तयारीमा छ, यसलाई कुनै हालतमा पूरा गराएरै छाड्ने मेरो दृढता छ” उहाँले भन्नुभयो ।

कम्युनिष्ट दललाई एक हुन नदिन अनेक षडयन्त्र भएपनि त्यो अव पूरा नहुने बताउनुहुँदै कार्यबाहक अध्यक्ष गौतमले भन्नुभयो, “मेरो शुरुदेखिको चाहना हो कम्युनिष्ट दल एक हुन् भन्ने, करिब तेह्र वर्षको प्रयासपछि परिणाम नजिक पुगेका छौं ।” माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पार्टी एकताको प्रस्ताव राखेपछि उहाँ तयार देखिनुभएपछि एमाले अध्यक्ष ओलीसँग सो प्रस्ताव आफूले राखेको उहाँले प्रष्ट पार्नुभयो ।

“दुवै अध्यक्षले पार्टी एकताको प्रस्तावमा पछिल्लो समय सकारात्मक भएपछि मेरै प्रस्ताव र प्रयासअनुरुप पार्टी एकताको प्रक्रियाले मूर्तरुप लिने तयारीमा छ, यसलाई कुनै हालतमा पूरा गराएरै छाड्ने मेरो दृढता छ” उहाँले भन्नुभयो । “पार्टी एकीकरण गरी मुलुकको समृद्धि पूरागर्ने मेरो उद्देश्य छ, त्यसलाई पूरा गराउनेतर्फ वातावरण बनेको छ” गौतमले दावी गर्नुभयो ।

दोस्रो जनआन्दोलन ०६२÷०६३ पछि कम्युनिष्ट पार्टी एकताको प्रयास शुरु गरिएको थियो, तर राजनीतिक खिचातानी र बदलिदो परिस्थितिले सो कामले गति लिन नसकेको उहाँले स्मरण गर्नुभयो । “२०६३ मा अध्यक्ष प्रचण्डसँग तोरीबारीमा भेटभएको थियो, त्यहीबेला पार्टी एकताको प्रस्ताव राखेको थिएँ, उहाँ सकारात्मक देखिनुभएपछि तत्कालिन एमाले महासचिव माधवकुमार नेपालसँग कुरागरी केन्द्रीय कमिटीबाट पार्टी एकताको प्रस्ताव पारित गराउन लगाएको थिएँ” गौतमले भन्नुभयो ।

त्यतिबेला वार्ता टोलीमा म र विष्णु पौडेल थियौं, ईश्वर पोखरेल पछि वार्ता टोलीमा बस्ने इच्छा व्यक्त गरेपछि उहाँलाई पनि समितिमा राख्यौं उहाँले भन्नुभयो । कार्यबाहक अध्यक्ष गौतमले केही समयपछि एकताको वार्ता प्रक्रिया अवरुद्ध भएपछि ०६६ मा पुनः प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । सोबेला चार पाँचवटा वार्ता भए, तर सफल हुन सकिएन उहाँले भन्नुभयो । “त्यतिबेला नेपाल नेतृत्वको सरकार थियो, पछि राजनीति वातावरण विग्रेपछि माओवादी सरकारको विरुद्धमा लामो सडक संघर्षमा उत्रियो र वार्ता प्रक्रिया पनि भंग भयो” उहाँले भन्नुभयो ।

०७२ बाट पुनः पार्टी एकताको वार्ता शुरु भएपछि एमाले र माओवादीको संयुक्त सरकार बनाएर पार्टी एकताको प्रक्रिया अगाडि बढाउने प्रयास भएको गौतमले जानकारी दिनुभयो । “एमाले र माओवादीबीच सरकार बनाउने सहमति त भयो तर पार्टी एकता प्रक्रियाले गति लिन सकेन” उहाँले भन्नुभयो । यसअघि अध्यक्ष ओली नेतृत्वको सरकार गठन हुँदा अध्यक्ष प्रचण्ड उच्चस्तरीय समितिको संयोजक हुने सहमति गरेर पार्टी एकताको प्रयास गरिएको थियो उहाँले प्रष्ट पार्नुभयो ।

“प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र पार्टी एकताका लागि मुख्यतः जनार्दन शर्मा र मैले प्रयास गरेका हौं, प्रयास सफल भयो र एकता प्रक्रिया समिपमा पुगेको छ ।”

पछिल्लो समय ०७२ साउनदेखि वार्ता प्रक्रिया शुरु भएपनि म, विष्णु पौडेल र माओवादीका नारायणकाजी श्रेष्ठको प्रयासमा नेतृत्वसँग एकता प्रक्रियाका लागि वार्ता भएपछि केही ठोस परिणाम आउने चरणमा छ भन्नुहुँदै गौतमले भन्नुभयो, “प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र पार्टी एकताका लागि मुख्यतः जनार्दन शर्मा र मैले प्रयास गरेका हौं, प्रयास सफल भयो र एकता प्रक्रिया समिपमा पुगेको छ ।”

पार्टी एकता प्रक्रिया अन्तिमचरणमा पुगेकाले अध्यक्ष ओली फर्किने वित्तिकै बसेर एकता प्रक्रियाले गति लिने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेताहरुको पद व्यवस्थापनमा कुनै समस्या नरहेको पनि उहाँले दावी गर्नुभयो ।

हारको कारण अन्तर्घातः
कार्यबाहक अध्यक्ष गौतमले आफू वर्दिया १ बाट पराजित हुनुको मुख्यकारण पार्टी र गठबन्धन दलको अन्तर्घात भएको दावी गर्नुभयो । केही नेताहरु आफूलाई पराजित गर्न योजनावद्धरुपमा लागेकाले आफू पराजित भएको उहाँले टिप्पणी गर्नुभयो ।

हारको कारणबारे पत्ता लगाउन छानविन समिति गठन भई काम गरिरहेकाले सत्यतथ्य कुरा बाहिर आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यबाहक अध्यक्ष गौतम कांग्रेस नेता संजय गौतमसँग ७५३ मतले पराजित हुनुभएको थियो । छानविन समितिले दिने प्रतिवेदनकाआधारमा दोसीलाई पार्टीले कारवाही गर्नुपर्ने माग उहाँले गर्नुभयो ।

तपाईको प्रतिक्रिया