थारु संस्कृतिको प्रवर्दन गर्न झुम्का बजारमा महिलाले चलाए माघी महोत्सव


लक्की चौधरी

झुम्का (सुनसरी), माघ ६ गते । थारु समुदायमा प्रमुख पर्वकोरुपमा स्थापित माघी पर्वको अवसरमा झुम्का बजारमा थारु महिलाले आफ्नै नेतृत्वमा माघी महोत्सव २०७४ सञ्चालन गरेर उदाहरणीय सन्देश प्रवाह गरेका छन् ।

थारु महिला उत्थान समाज रामधुनी, सुनसरीको आयोजनामा भएको सातदिने थारु माघी तथा तिला संक्राइत महोत्सवले थारु संस्कार, संस्कृति, भेषभुषाको प्रवद्र्धनमा उदाहरणीय काम गरेको स्थानीयको बुझाई छ । थारु युवाहरुलाई लक्षित गरी थारु पहिचानजन्य संस्कार संस्कृतिबारे जनचेतना जगाउन महोत्सवको आयोजना गरिएको समाजकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

पुस ३० गते उदघाटन भएको महोत्सव माघ ६ गते शनिबार समापन हुँदैछ । महोत्सवको हरेक दिन १० देखि १५ हजारले अवलोकन गर्नेगरेको दावी आयोजकको छ । सात दिनसम्म चलेको महोत्सवको करिब एकलाख व्यक्तिले अवलोकन गरेको महोत्सव मूल आयोजक कमिटीकी संयोजक आशा चौधरीले बताउनुभयो ।

महोत्सवमा थारु भेषभुषा, संस्कृति र संस्कारको प्रवद्र्धन त भएको छ नै महोत्सवलाई शान्त र मर्यादित बनाउन भन्दै आयोजकले महोत्सवमा मदिराजन्य पेय पदार्थमा निषेध गरेको छ । २० वटा स्टल रहेको महोत्सवमा थारु समुदायको सबै पाकवान उपलब्ध भएपनि मदिरा भने उपलब्ध छैन । सुरक्षाकर्मीहरुसँगको सहकार्य र छलफलमा मदिरा स्टलमा प्रवेश निषेध गरिएको संस्थाकी अध्यक्ष चौधरीले बताउनुभयो ।

मदिराजन्य पेय पदार्थको विक्री वितरण नगरिएको भएपनि व्यानर र पम्पलेटमा भने त्यसको प्रचार गरिएका छन् । महोत्सवमा मदिराजन्य पेयपदार्थ निषेध गरिए पनि व्यापार कमजोर नभएको स्टल व्यापारीहरुको बुझाई छ । पेय पदार्थको विक्रीवितरणमा रोक लगाएर महोत्सव सभ्य र मर्यादित भएको बुझाई स्थानीयको छ ।

महोत्सवमा सुरक्षार्थ खटिनुभएकी कमला अधिकारी घोंघीको चुस्कीमै भेटिनुभयो । उहाँकाअनुसार राती १० बजेपछि महोत्सव क्लोज हुने गरेको छ । सुरक्षालाई मध्यनजर गर्दै महोत्सवको कार्यक्रम राती अवेर चलाउन नदिइएको उहाँले बताउनुभयो । थारु परिकार, थारु भेषभुषा, कला संस्कृतिको जगेर्नाका लागि महोत्सव उत्कृष्ट रहेको उहाँले तर्क गर्नुभयो । यस्तो महोत्सवले सबै जातजातिको वीचमा भावनात्मक सम्बन्ध कायम गर्नेगरेको उहाँको बुझाई छ ।

सुरक्षार्थ खटिनुभएका अर्का सुरक्षाकर्मी मेखबहादुर बुढाथोकी र लीला कार्कीले मदिराको विक्री वितरणमा रोक लगाएर आयोजकले महोत्सव सभ्य बनाएको बताउनुभयो । मदिराको विक्री वितरण नभएपनि व्यापारमा कुनै कमी देखिएको छैन उहाँले भन्नुभयो । महोत्सवमा सुरक्षा पनि दिइरहेका छौं, थरिथरिका थारु पाकवानको स्वाद पनि लिइरहेका छौं उहाँहरुले भन्नुभयो ।

महोत्सवमा स्टल सञ्चालन गर्दैआउनुभएका लहरी थरुनी, उर्मिलादेवी चौधरी र मञ्जु चौधरीले महोत्सवमा विक्री वितरण उत्साहप्रद रहेको तर्क गर्नुभयो । दिनको एकहजार स्टलको भाडा तिर्छौ, १० देखि १५ हजारको सामान विक्री गर्छौं उहाँहरुले खुशी व्यक्त गर्नुभयो ।

थारु महिलाको नेतृत्वमा पनि महोत्सव चलाउन सकिनेरहेछ भन्ने महोत्सवले गतिलो सन्देश दिएको दावी उहाँहरुको छ । महोत्सवमा रोटे पिङ, ठूलो पिङ, थारु खानाका परिकारमा भक्का, घोंघी, सिपी, परेवा, खसी, लोकल कुखुराको मासु, वगिया, पापड, अण्डाको परिकार, भूजा, तिलको लड्डु, आदि सामग्री राखिएका छन् । एउटा भक्काको दश रुपिया र घोंघी प्लेटको ३० रुपैया र मासुको परिकार प्लेटको एकसय रुपिया कायम गरिएको आयोजकले बताएको छ ।

स्थानीयरुपमा सञ्चालन गरिएको महोत्सव भएकाले सबैको पहुँच पुगोस् भनेर सस्तोदरमा सामान उपलब्ध गराइएको आयोजकले बताएको छ । महोत्सव व्यापारकेन्द्रीत भन्दापनि थारुको संस्कार, संस्कृति, भाषा, भेषभुषाको जगेर्ना, प्रवद्र्धन र युवामा त्यसको हस्तान्तरणकालागि गरिएको संस्थाकी अध्यक्ष सीता चौधरीले बताउनुभयो ।

हेर्नुहोस् फोटो फिचरमा महोत्सव

तपाईको प्रतिक्रिया