
लक्की चौधरी
काठमाडौं, माघ १३ गते । सरकारको राष्ट्रिय गौरवको आयोजनाकोरुपमा रहेको पश्चिम सेती जलविद्युत आयोजना तत्काल बनाउनुपर्ने सरोकारवालाहरुले जोड दिनुभएको छ । आयोजनाको ढिलाईले सुदूरपश्चिमको विकासमा समेत ढिलाई हुने तर्क उहाँहरुले गर्नुभयो ।
सुदूरपश्चिम सरोकार मञ्च र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) को संयुक्त आयोजनामा शनिबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले त्यस्तो धारणा राख्नुभयो । राष्ट्रिय गौरवको आयोजना भएपनि सुदूरपश्चिममा पर्ने हुनाले राज्यबाट उपेक्षित भइरहेको टिप्पणी गर्नुहुँदै उहाँहरुले सरकारले चासो नदेखाए सुदूरपश्चिमका जनताले आफ्नै लगानीमा आयोजना पूरागर्ने बताउनु भयो ।
सो अवसरमा उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले पश्चिम सेती जलविद्युत आयोजना मुलुकको आवश्यकता भएपनि त्यसमा अनेक प्राविधिक कठिनाई ल्याएर अल्झाउने काम भइरहेको बताउनुभयो । लगानीकर्ता नै अनेक बहाना बनाई आयोजनामा चासो नदेखाएको आरोप उहाँले लगाउनु भयो । सरकारको पक्षबाट हामीले गर्नेकाम सबै गरिसकेका छौं, तर लगानीकर्ता कम्पनीले बहाना बनाई समय घर्काउने काम गरिरहेको छ उहाँले भन्नुभयो ।
आयोजनाको क्षेत्रमा जग्गा अधिग्रहणको काम थाल्दा स्थानीयले काठमाडौंमै आफूहरुलाई बसोबास गर्नुपर्ने माग गरिरहेको बताउनुहुँदै उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आयोजनामा चासो राख्न आग्रह गर्नुभयो । सबैको चाहना आयोजना छिटो बनोस् छ तर अनेक बाधा अडचनले आयोजनाको काम अघि बढ्न सकेको छैन उहाँले भन्नुभयो ।
ईप्पानका पूर्व अध्यक्ष इन्जिनियर खडकबहादुर विष्टले स्मेक कम्पनीले ७५० मेगावाट क्षमताको आयोजना भनेपनि चाइनिज कम्पनीले ६०० मेगावाट मात्र हुने दावी गरिरहेको बताउनुभयो । सो आयोजनाका लागि एकसय ४८ अर्व रुपैयाँ आवश्यकता पर्ने भएपनि त्यसको स्रोत जुटाउने काममा समस्या आइरहेको उहाँले तर्क गर्नुभयो ।
ईप्पानका पूर्व अध्यक्ष इन्जिनियर खडकबहादुर विष्टले स्मेक कम्पनीले ७५० मेगावाट क्षमताको आयोजना भनेपनि चाइनिज कम्पनीले ६०० मेगावाट मात्र हुने दावी गरिरहेको बताउनुभयो । सो आयोजनाका लागि एकसय ४८ अर्व रुपैयाँ आवश्यकता पर्ने भएपनि त्यसको स्रोत जुटाउने काममा समस्या आइरहेको उहाँले तर्क गर्नुभयो । आयोजना बन्दा त्यहाँ २७ सयले रोजगारी पाउने बताउनुभयो ।
सुदूरपश्चिम सरोकार मञ्चका उपाध्यक्ष बहादुरसिंह विष्टले सरकारले आयोजना निर्माणको वातावरण बनाउनुपर्ने बताउनुभयो । सरकारले नसके सुदूरपश्चिमबासीले नै आयोजना निर्माण गरेर देखाउने उहाँले चेतावनी दिनुभयो । आयोजनाको निर्माणमा सुदूरपश्चिमको विकास जोडिएकाले ढिलाई गर्न नहुने उहाँले चर्चा गर्नुभयो ।
मञ्चका संस्थापक अध्यक्ष मोतिलाल बोहराको अध्यक्षतामा भएको कार्यक्रममा ईप्पानका अध्यक्ष शैलेन्द्र गुरागाई, राष्ट्रिय योजना आयोगका सदस्य डा. गोविन्दराज भट्ट, एमाले बाजुराका सांसद प्रकाश शाह, माओवादी केन्द्र अछामका सांसद झपट बोहरा, नेपाली कांग्रेस डडेल्धुराका सांसद कर्ण मल्लले पश्चिम सेती जलविद्युत आयोजना सुदूरपश्चिमको मात्र नभई नेपालकै गौरवको आयोजना भएकाले त्यसको काममा ढिलाई हुन नहुने बताउनुभयो । आयोजनाको चाँडो निर्माणकालागि वातावरण बनाउने काम गर्ने उहाँहरुले प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा शिवराज श्रेष्ठ, विष्णु कँडेल, उपेन्द्रदेव भट्ट, माधव भट्ट, पत्रकार लक्ष्मण वियोगी, भिम गौतम लगायतले आयोजनाको निर्माण र समस्याका बारेमा धारणा राख्नुभएको थियो ।
मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजान उर्जाको विकास अपरिहार्य रहेको भन्दै वक्ताहरुले पश्चिम सेती जलविद्युत आयोजनाको निर्माणले मुलुक उर्जाको क्षेत्रमा फड्को मार्ने दावी गर्नुभयो । सो जलविद्युत आयोजनाले सुदूरपश्चिमको डोटी, डडेल्धुरा, बझाङ र वैतडी जिल्लाका हजारौं घरधुरीका नागरिकलाई प्रभाव पार्ने अध्ययनले देखाएको छ ।




