वाम एकताको सूत्रधार नेता गौतम समृद्धिको योजनामा समेत अब्बल


लक्की चौधरी
काठमाडौं, माघ २२ गते । वाम एकताको सूत्रधारकोरुपमा परिचित नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतम मुलुकको आर्थिक समृद्धिको योजनामा समेत अब्बल देखिनुभएको छ । सोही क्षमताको विश्वास गर्दै सुशासन र आर्थिक विकासका लागि भावी सरकारलाई सुझाव दिने कार्यदल संयोजकको जिम्मेवारी उहाँलाई दिइएको छ ।

सुशासन र विकासका लागि भावी सरकारका प्राथमिकताबारे सुझाव दिन वरिष्ठ उपाध्यक्ष गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । सो कार्यदलको प्रतिवेदनको आधारमा पार्टीको एकता र सरकार गठनको प्रक्रिया अघि बढने विश्लेषण नेताहरुको छ ।

सो बारेमा आवश्यक गृहकार्य गर्न कार्यदलको बैठक निरन्तररुपमा बसिरहेको छ । सुशासन र विकासका विज्ञहरुसँग अहिलेसम्म कार्यदलले चार पटक बैठक बसी राय सुझाव लिइसकेको छ । प्रतिवेदन तयारीकालागि विभिन्न विषयगत उपसमिति गठन गरिएको संयोजक गौतमले बताउनुभयो । आन्तरिकरुपमा युद्धस्तरमा कार्यदलले गृहकार्य गरिरहेको गौतमले जानकारी दिनुभयो । विषयगत उपसमिति गठन गरी प्रतिवेदन तयारीको काम भइरहेको छ उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक कार्यक्रममा गौतम नेतृत्वको कार्यदलले दिने प्रतिवेदनकाआधारमा पार्टीको एकता र सरकार गठन प्रक्रिया अघि बढ्ने बताउनुभएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक कार्यक्रममा गौतम नेतृत्वको कार्यदलले दिने प्रतिवेदनकाआधारमा पार्टीको एकता र सरकार गठन प्रक्रिया अघि बढ्ने बताउनुभएको थियो । दुवै दलका अध्यक्षहरुसँगको निरन्तर समन्वयका आधारमा कार्यदलले आफ्नो गृहकार्य गरिरहेको कार्यदलका सदस्यहरुको भनाई छ ।

कार्यदलका संयोजक गौतमले भन्नुभयो, “अहिलेसम्म विषयविज्ञहरुसँग चारपटक परामर्श गरेका छौं, उहाँहरुको परामर्श र कार्यदलका सदस्यहरुको राय र सुझावकाआधारमा माघ मसान्तभित्र प्रतिवेदन बुझाउँछौं ।” दुवै अध्यक्षको नेतृत्वमा रहेको पार्टी एकता संयोजन समितिको बैठकमा सो प्रतिवेदन कार्यदलले बुझाएपछि बाँकी एकता र सरकार गठनको प्रक्रिया अघि बढ्ने विश्वास गौतमले गर्नुभयो ।

कार्यदलको बैठकमा संयोजकको नाताले गौतमले प्रतिवेदनबारेको प्रस्तुतीकरण गर्नुभएपछि कार्यदलभित्रै विभन्न विषयगत उपसमिति गठनगरी गृहकार्य भइरहेको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बताउनुभयो ।

“सकेसम्म छिटो प्रतिवेदन दिने गृहकार्यमा छौं, ढिलोमा मसान्तभित्रै प्रतिवेदन बुझाउँछौं” उहाँले भन्नुभयो । कार्यदलले गरेका सबै प्रगति र छलफलबारे अहिले नै सबै बताउन मिल्दैन, हाम्रो गृहकार्य अन्तिम चरणमा पुगिसकेको छ पोखरेलले तर्क गर्नुभयो ।

आर्थिक विकासकालागि परम्परागत विकास योजनाभन्दा छलाङ र तिव्रस्तरको आर्थिक विकास गर्ने योजनासहितको प्रतिवदेनको तयारी कार्यदलले गरेको छ ।

कार्यदलले अब बन्ने सरकारले लिने आर्थिक विकासको पहल र पाँच वर्षिय योजनाबारेको सुझावसहितको प्रतिवेदन एकता संयोजन समितिमा बुझाउने तयारी गरेको छ । कार्यदलका संयोजक गौतमकाअनुसार सुशासन, त्यसकानिम्ति गरिनुपर्ने काम, योजना र उद्देश्यबारेमा वृहत सुझावसहितको प्रतिवेदन बुझाउनेछ । त्यसमा आर्थिक विकासकालागि परम्परागत विकास योजनाभन्दा छलाङ र तिव्रस्तरको आर्थिक विकास गर्ने योजनासहितको प्रतिवदेनको तयारी कार्यदलले गरेको छ ।

कार्यदलको प्रतिवेदनले जलविद्युतको विकासमार्फत अन्य विकास गर्न सकिने र विद्युत उत्पादन र व्यवस्थापनको कार्यान्वयनको उपायसहितको प्रतिवेदन बुझाउने छ । आगामी पाँच वर्षभित्र देशको ७५ प्रतिशत बाहनहरु विद्युतीय गर्ने योजना र तीन वर्षभित्र काठमाडौं उपत्यकामा विद्युतीय वाहनमात्र चलाउने योजनासहितको प्रतिवेदनको तयारी कार्यदलले गरेको छ ।

कार्यदलले समेट्ने प्रतिवेदनमा एकैचोटी २० हजार मेगावाट क्षमताको आयोजनाहरु एकसाथ शुरु गरिने सुझाव प्रस्तुत गर्दैछ । त्यसकालागि शुरुमा पाँच हजार मेगावाट विजुली बाहिरबाट खरिद गरी काम शुरुगर्ने सुझाव समेत प्रतिवेदनमा समेटिनेछ । सो विजुली भारत, चीन र बंगलादेशबाट खरिद गर्ने सुझाव कार्यदलले दिने तयारी गरेको छ ।

कार्यदल स्रोतले दिएको जानकारीअनुसार देशभरको ५६ लाख परिवारको १० हजार रुपैयाँको दरले विमा गर्ने सुझाव कार्यदलले दिने तयारी गरेको छ ।

पुरानो सहरलाई स्तरोन्नति गर्ने, खाद्यान्नमा मुलुकलाई दुई वर्षभित्र आत्मनिर्भर बनाउने, कृषिको आधुनिकीकरण गर्नेदेखि लिएर हरेक परिवारको विमा गर्नेसम्मको सुझाव प्रतिवेदनमा समेटने प्रयास गरिएको छ । कार्यदल स्रोतले दिएको जानकारीअनुसार देशभरको ५६ लाख परिवारको १० हजार रुपैयाँको दरले विमा गर्ने सुझाव कार्यदलले दिने तयारी गरेको छ ।

कार्यदलमा एमालेबाट भीमबहादुर रावल, डा. विजय पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडा र माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन, गिरिराजमणि पोखरेल र योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ रहनुभएको छ ।

वाम एकताको सूत्रधारकोरुपमा भूमिका निर्वाह गर्दैआउनुभएका एमाले उपाध्यक्ष गौतमले मुलुकको आगामी आर्थिक समृद्धि र विकासमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने क्षमता राख्नुहुन्छ । उहाँको क्षमता र लगनशीलताको मूल्यांकन गर्दै वाम गठबन्धन दलले सुशासन कार्यदलको संयोजकको जिम्मेवारी सुम्पेको थियो । आर्थिक विकास र समृद्धिमा सुस्पष्ट योजनाको ज्ञान राख्नुहुने गौतमले नयाँ बन्ने सरकारले मुलुकको आर्थिक समृद्धिका लागि भूमिका निर्वाह गर्न दिएमा आगामी पाँच वर्षभित्र मुलुकको आर्थिक कायापलटक गर्न सकिने बताउँदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया