
गीता चौधरी
काठमाडौं, फागुन ५ गते । नेपाली मिडियामा आदिबासी जनजाति पत्रकारको सहभागिता र प्रतिनिधित्व नभएकाकारण सो समुदायको मिडियामा तुलनात्मक कम समाचार समेटिने गरेको अगुवाहरुले बताएका छन् ।
नेपाल पत्रकार महासंघको आदिबासी जनजाति समितिद्वारा शनिबार यहाँ आयोजित ‘पत्रकारितामा आदिबासी जनजाति पत्रकारको अवस्था र सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले त्यस्तो बताउनुभयो ।
सिद्धान्ततः नेपाली मिडिया ‘आवाजविहिनको आवाज’ बन्नुपर्ने ठाउँमा मिडिया ‘आवाज हुनेहरुको आवाज’ भएको गुनासो आदिबासी जनजाति पत्रकारले गर्नुभयो ।
नेपाली मिडियामा आदिबासी जनजाति पत्रकारको सहभागिता बढाउन र सो समुदायको समाचारमा बढोत्तरी गर्न सो समुदायका पत्रकारलाई नै सक्षम र दक्ष बनाउन आवश्यक रहेको धेरैको तर्क छ । सिद्धान्ततः नेपाली मिडिया ‘आवाजविहिनको आवाज’ बन्नुपर्ने ठाउँमा मिडिया ‘आवाज हुनेहरुको आवाज’ भएको गुनासो आदिबासी जनजाति पत्रकारले गर्नुभयो ।
सूचनाको हकलाई पत्रकारले तल्लोस्तरसम्म लगेर ती नागरिकको सूचनाको हकमा पहुँच बढाउन चेतनाबृद्धि गर्न वक्ताहरुले सुझाव दिनु भयो । सूचनाको हक नागरिकको मौलिक अधिकार भएकाले त्यसबारे जानकारी गराउने काम पत्रकारको भएको विषयमा वक्ताहरुले जोड दिनुभयो ।
वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले आदिबासी जनजाति पत्रकारको दक्षता बृद्धिगर्नमा नेपाल पत्रकार महासंघजस्ता छाता संगठनले भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पत्रकार सक्षम भएपछि जुनसुकै मिडियामा सजिलै पहुँच पाउने बताउनुहुँदै उहाँले आदिबासी पत्रकारले भाषिक संरक्षणको अभियानमा लाग्न सुझाव दिनुभयो । सबै जातजातिको भाषा लोपहुने अवस्थामा रहेको बताउनुहुँदै उहाँले विभिन्न भाषामा समाचार प्रकाशन गर्ने सिकाई गोरखापत्रबाट अन्य मिडियाले सिक्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले समानुपातिक समावेशी सिद्धान्तमा रहेर समावेशीताको अभ्यास गरिरहेको बताउँदै आदिबासी जनजाति पत्रकारलाई त्यसमा लाग्न आग्रह गर्नुभयो । आदिबासी जनजाति पत्रकारलाई अझै सबै संरचनामा प्रतिनिधित्व गराउन नसकिएको बताउँदै उहाँले पत्रकारितालाई संघीय संरचनामा लग्न पनि बाँकी रहेको बताउनुभयो । नेपाली पत्रकारितामा समावेशी नेपालको चित्र देखिनेगरी विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
नेपाली पत्रकारितामा समावेशी नेपालको चित्र देखिनेगरी विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सूचनाको हक पत्रकारलाई भन्दापनि आम नागरिकको अधिकार भएकाले त्यसलाई नागरिकसम्म लग्नेकाम पत्रकारको भएको बताउनुभयो । तर सो हकको प्रयोग पत्रकारले पनि गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । जनता जगाउने काम मिडियाको भएकाले सो भूमिका निर्वाह गर्न उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।
वरिष्ठ पत्रकार टीकाराम राईले सूचनाको हक जुन समुदायकालागि हुनुपर्ने हो त्यहाँसम्म पुग्न नसकेको बताउनुभयो । आयोगले पहुँच भएकाहरुलाई नै तालिम र प्रशिक्षण दिनुभन्दा सामान्य नागरिकस्तरमा सूचनाको हकको पहुँच बढाउन जोड दिनुभयो । आदिबासी जनजाति पत्रकारको सहभागिताकालागि पत्रकार नै पहिले आफूलाई दक्ष बनाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
जनजातिको कार्यक्रममा गैरजनजाति पत्रकारलाई समाचार संकलनमा पठाउँदा उसले के बुझ्ने र समाचार के लेख्ने ? विचारणीय रहेको चर्चा गर्नुभयो ।
पत्रकार खिम घलेले सूचनामा सबै वर्ग र समुदायको पहुँच पुग्ने उनीहरुको अधिकार भएपनि बुझिने भाषामा सूचना दिनेकाम राज्य र मिडियाको भएको बताउनुभयो । खसभाषालाई एकलरुपमा प्रयोग गर्दा खसभाषा नबुझ्ने विभिन्न जातीवर्ग सूचना पाउनबाट बञ्चित भइरहेको उहाँले बताउनुभयो । जनजातिको कार्यक्रममा गैरजनजाति पत्रकारलाई समाचार संकलनमा पठाउँदा उसले के बुझ्ने र समाचार के लेख्ने ? विचारणीय रहेको चर्चा गर्नुभयो । त्यसकालागि पनि मिडिया समावेशी आवश्यक रहेको सुझाव उहाँको छ ।
नेपाल पत्रकार महासंघ अन्तर्गतको आदिबासी जनजाति समितिका संयोजक टेकराज थामीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य राजेश चाम्लिङ राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमाथि महासंघका उपाध्यक्ष दिलिप थापामगर, महासचिव रमेश विष्ट, प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटी लगायतले टिप्पणी गर्नुभएको थियो ।




