सुदूरपश्चिम महोत्सवको भव्य तयारी


mahotsab

धनगढी, मंसिर ३ गते । कैलालीको धनगढीमा मङ्सिर २२ देखि पौष २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुने भएको छ ।
यस क्षेत्रको कृषि, पर्यटन, औद्योगिक विकास गर्ने उद्देश्यका साथ विगतवर्ष झैं यो वर्ष पनि महोत्सव हुने आयोजक कैलाली उद्योग वाणिज्य संघले बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
महोत्सवको उद्घाटन मुलुकका कार्यकारी प्रमुखबाट गराउने र उहाँलाई सुदूरपश्चिमबासीको तर्फबाट १८ बुँदे माग राख्ने संघका अध्यक्ष शङ्कर बोगटीले बताए । उनले १० औं पटकको महोत्सव आयोजना हुँदासम्म सुदूरबासीका तर्फबाट कैलाली उद्योग वाणिज्य संघले राख्दै आएको मध्ये पाँचमाग पूरा भइसकेकाले यसवर्ष १८ किलोको फूलको माला प्रमुख अतिथिलाई लगाउने बताउनुभयो ।
धनगढीको अञ्चल प्रहरी मैदानमा आयोजना हुने महोत्सवमा दुई सय ५० वटा स्टल रहने र स्टलहरुमा कृषि प्रदर्शनीका साथै होटल, रेस्टुरेन्ट लगायतका सामग्री राखिने आयोजकले जनाएको छ ।
महोत्सव आयोजनाका लागि करिब ७५ लाख रुपिया खर्च हुने र महोत्सवबाट करिब १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको संघका महासचिव रुपेश स्वाँरले बताउनुभयो ।
महोत्सवको आकर्षणको रुपमा एमाजोन चिल्ड्रेन फन पार्क, चौरी गाई अवलोकन गराउने प्रयास भैरहेको छ । महोत्सव अवधिभरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृति प्रस्तुति पनि राखिने आयोजकले जनाएको छ ।
यसवर्ष महोत्सवमा होटल व्यवसायी संघ कैलालीले स्वच्छताका आधारमा अनुमति दिएका खानाका परिकारमात्रै होटल तथा रेस्टुरेन्टमा राख्न पाईने आयोजकको भनाई छ । करिब ७० प्रतिशत महोत्सवको तयारी भइसकेको संघका अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया