दुई वाम दललाई एक बनाउने मैले महत्वपूर्ण भूमिका निर्वाह गरेको छुँ


६८ औं प्रजातन्त्र दिवसको दिन सातबुँदे सहमति गरी प्रारम्भिक पार्टी एकताको आधार तयार गर्नुभयो, कसरी वातावरण बन्यो ?
यो एकै दिनको प्रयासको फल होइन । करिब दश वर्षको निरन्तर प्रयासको प्रतिफल हो । पार्टी एकताको प्रारम्भिक आधार बनेको छ । ०६३ सालदेखि निरन्तर पार्टी एकताको प्रयास गरिए पनि परिस्थिति अनुकुल नहुँदा सम्भव भएको थिएन । अहिलेको समय र परिस्थितिले हामीलाई एकै ठाउँमा आउन बाध्य गरायो र हामी एक भयों । यसमा धेरथोर हाम्रो र धेरै नेतृत्वको चाहनाले सम्भव भयो ।

औपचारिकरुपमा पार्टी एकताको घोषणा कहिलेसम्म होला ?
२१ गते संघीय संसदको पहिलो बैठक आव्हान भएको छ । २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सो पछि वढीमा दुई साता समय व्यवस्थापन गर्न लाग्ला । संरचनागत आधार तयार गर्न केही समय लाग्ला । छिटोमा सम्भवतः फागुन मसान्तसम्म, नभए चैत पहिलो सातासम्म औपचारिक कार्यक्रम गरेर दुई दल एक भएको घोषणा गर्ने तयारी छ ।

फरक फरक पृष्ठभूमिका दुई कम्युनिष्ट दललाई एक ठाउँमा ल्याउन कसरी सम्भव भयो ?
दुईटा पार्टीका राजनीतिक पृष्ठभूमि विल्कूल अलग अलग छन् । एउटा सिधैं हिंसात्मक संघर्षबाट विकसित भयो । अर्को शान्तिपूर्ण जनआन्दोलनबाट विकसित भएर आयो । २००६ सालमा गठित कम्युनिष्ट दल र आजको नेकपा (एमाले) २०४७ साल पुस २२ गते पुनर्गठन भएको पार्टी हो । पुरानो माले र माक्र्सवादीको एकताबाट बनेको पार्टी हो । संसदीय, जनसंघर्ष र सडक संघर्षलाई केन्द्रीत गरेर आयौं । कम्युनिष्ट पार्टीको अर्को हिस्सा माओवादी सशस्त्र युद्धमा होमिएर आयो । एमालेको हिंसात्मक ढंगले सत्ताकब्जा गर्ने नीति थिएन तर माओवादीको त्यो नीति थियो । शान्तिपूर्ण प्रयत्नबाट पनि देशको समस्या समाधान गर्न सकिन्छ भन्ने वहस शुरु गरेर लामो समय र प्रयासपछि आज दुई मुख्य कम्युनिष्ट दल एक ठाउँमा आउने वातावरण तयार भएको छ । यो सबैकालागि खुशीका कुरा हो । हाम्रो प्रयास र दुवै दलका नेतृत्व तयार भएपछि पार्टी एकताको बाटोमा आउन सफल भइयो ।

हरेक पार्टी र संगठनभित्र कमजोर तत्व, अवसरवादी तत्व हुन्छन् । तिनलाई प्रतिद्वण्द्वी शक्तिले प्रयोग गर्छन् । ती तत्व पार्टीका ‘लुपहोल्स’ हुन् ।

पार्टी एकताको घोषणा भयो भने पार्टीको अध्यक्ष र अन्य नेताको व्यवस्थापन कसरी होला ?
पार्टी एकता घोषणा भएपछि दुवैजना अध्यक्ष रहनुहुन्छ । को–चेयरम्यानको स्पिरिटमा हामी जान्छौं । एकताको महाधिवेशन नहुँदासम्म पालोपालो पार्टीको अध्यक्षता गर्नुहुनेछ । बाँकी अन्य नेताको व्यवस्थापन पनि पार्टीको निर्णयअनुसार नै हुन्छ । पार्टीको केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटि, सचिवालय, प्रदेश कमिटी, जिल्ला समन्वय समिति, स्थानीय र वार्ड कमिटीहरु रहन्छन् । त्यहाँ नेताहरुलाई योग्यताअनुसार व्यवस्थापन गरेर जान्छौं । नेपाल कम्युनिष्ट पार्टीमा कम्तिमा आठलाख संगठित सदस्य हुनेछन् । सबैलाई प्रशिक्षित गरेर पार्टीको कुनै न कुनै इकाई कमिटीमा समाहित गराउँछौं ।

दुई कम्युनिष्ट पार्टीबीच एकता भएको हो कि, एक–अर्कामा विलिन भएको हो ? के भन्नुहन्छ ?
अहिले दुवै दलको अघिजाने बाटो सिद्धान्ततः एउटै हो । शान्तिपूर्ण संघर्षबाटै उपलब्धी प्राप्त गर्ने बाटो तय भएको छ । न एमालेले माओवादीलाई तानेर मिसाएको हो न माओवादीले एमालेलाई ल्याएर मिसाएको हो । हतियारको संरचना माओवादीको समाप्त भई शान्तिपूर्ण प्रतिस्पर्धामा आएको छ । जनसंगठनको माध्यमबाट राजनीतिक प्रतिस्पर्धामा आयो । एमाले पहिलेदेखि यो बाटोमा थियो । हतियारबाटै सत्ता कब्जा गर्ने सिद्धान्त माओवादीको सकियो । आज एउटै बाटोमा हिडिरहेकाबेला एक भएका हौं । कोही कसैमा विलिन भएको होइन ।

पार्टी एकतापछि त्यसको व्यवस्थापनमा के–कस्ता चुनौति आउलाजस्तो लाग्छ ?
माओवादीहरु फुटदै जुट्दै आए । ३६ औं पटक फुटे र पुनः जुटे । हामी पनि २०२२ सालदेखि फुट्दै जुटदै आयों । गिन्तीगर्दा हामी ४६ औं पटक फुटदै र जुटेका छौं । हरेक पार्टी र संगठनभित्र कमजोर तत्व, अवसरवादी तत्व हुन्छन् । तिनलाई प्रतिद्वण्द्वी शक्तिले प्रयोग गर्छन् । ती तत्व पार्टीका ‘लुपहोल्स’ हुन् । पार्टीभित्र आफ्नो स्थान सुरक्षित गर्ने प्रतिस्पर्धा आउन सक्ला । पदकालागि पुनः असन्तुष्टि आउनसक्छ । पार्टीभित्र गुटबन्दी हावी हुनसक्ला । दाउपेचको प्रयास हुनसक्ला । त्यसमा नेतृत्व चनाखो हुनुपर्छ । नेतृत्व नै विग्रियो भने समस्या त आउँछ नै । हामी यी सबै चुनौतिलाई हेरेर, मूल्याङ्कन गरेरै पार्टी एक गरेका हौं, समस्या आए सामना गर्नुपर्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिमा अस्थिर छविका नेताकोरुपमा चिनिनुहुन्छ ? कसरी विश्वास गर्न सकिएला ?
प्रचण्ड मेरो असल मित्र हो । व्यक्तिगत सम्बन्ध ठूलो छ । मैले उहाँलाई बढी जोड गरेर भन्छु, उहाँले पनि जोड गरेर मलाई भन्नुहुन्छ । तर स्वार्थकालागि मैले कहिल्यै सम्बन्ध बनाएन । देशको राजनीतिक स्थायित्व र प्रगतिका लागि प्रचण्डको म इमान्दार साथी हुँ । हामीसँग मिल्दामिल्दै प्रचण्ड कांग्रेससँग मिल्न जानुभयो । त्यतिबेला हामीलाई उहाँप्रति अविश्वास बढेकै हो । २०७३ असारमा प्रचण्डले मलाई बोलाउनुभयो । एकछिन भेटम भन्नुभयो । म गएँ । त्यतिबेला केपी ओली नेतृत्वमा सरकार थियो । प्रचण्डले राष्ट्रिय सहमतिको सरकारका लागि सल्लाह माग्नुभयो । कांग्रेसले मलाई समर्थन गर्नेभो तपाईको भनाई के छ, यसमा ? जिज्ञासा गर्नुभयो । साथीको नाताले सहयोग गर्न आग्रह गर्नुभयो ।

मेरो पार्टीको अध्यक्ष सरकारको नेतृत्वमा हुनुहुन्छ, कसरी तपाईले कल्पना गर्नुभयो कि मैले अध्यक्षको सरकार ढलाएर तपाईलाई सहयोग गर्छु भनेर ? मैले उल्टै जिज्ञासा गरें । यस्तो सोचाई कसरी आयो तपाईको दिमागमा ? प्रश्न गरें । ‘म प्रेसरमा छुँ । जनयुद्धको मुद्दा व्यूँताउने धम्की र दवाव आइरहेको छ’, प्रचण्डले भन्नुभयो । यो दवाव कहाँबाट आयो ? मैले जिज्ञासा गरें । सरकारबाट आयो ? हैन । जनताबाट आयो ? हैन । एमालेबाट आयो ? हैन । कोबाट आयो त ? कांग्रेसबाट आयो ? हो । छिमेकी भारतबाट आयो ? हो । युरोपियन युनियनका राष्ट्रबाट आयो ? हो । यो दवावबाट तपाई आफूलाई कसरी जोगाउनु हुन्छ ? उनीहरुले भनेको गर्नुहुन्छ कि आफै जोगिनु हुन्छ ? तपाईलाई एमालेले जोगाउन सक्छ । नेपाली जनताले जोगाउन सक्छन्, सुझाएँ । । तैपनि उहाँ कांग्रेससँग गठबन्धन बनाएर सरकारमा जानुभयो । कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डलाई फर्काउन धेरै चरणमा छलफल भयो । ठूलो मेहनत गर्नुप¥यो । खासगरी म र नारायणकाजी श्रेष्ठ मिलेर छलफल चलायौं । अध्यक्ष अ‍ोलीसँग परामर्श गरेर अघि बढ्यौं । आखिरमा लामो समयको प्रयासपछि प्रचण्ड मान्नुभयो । पछिल्लो समय म, विष्णु पौडेल र जनार्दन शर्माको प्रयासले असोज १७ को घोषणामा पुगियो ।

अब प्रचण्डको सुरक्षाको जिम्मा पार्टीको हो, हामी सबै कम्युनिष्ट कार्यकर्ता र नेताहरुको हो । प्रचण्डमात्र होइन, माओवादी नेताको सुरक्षाको जिम्मा पार्टीको हो ।

अध्यक्ष प्रचण्डलाई यत्रो थ्रेट रहेछ, अब एमालेले उहाँको सुरक्षाको जिम्मा लिन्छ त ?
पार्टी एकता भएपछि हाम्रै जिम्मा हो । सबै जिम्मा हामीले लिन्छौं, जिम्मा नलिएर हुन्छ ? कांग्रेसले प्रचण्डलाई प्रयोग गर्न खोज्यो, उहाँ डराउनुभयो । डर देखाएर कांग्रेसले प्रचण्डको सुरक्षा गर्छ ? अब प्रचण्डको सुरक्षाको जिम्मा पार्टीको हो, हामी सबै कम्युनिष्ट कार्यकर्ता र नेताहरुको हो । प्रचण्डमात्र होइन, माओवादी नेताको सुरक्षाको जिम्मा पार्टीको हो । हामी मन, वचन र विचारले एक भएका हौं, सुरक्षा गर्छौ ।

वाम एकता कायम गराउनमा तपाई यत्रो योगदान गर्नुभयो, अब पार्टीले कस्तो मूल्याङ्कन गरिदियोस् लाग्छ ?
छैन, मैले केही खोजेको छैन । मेरो योगदान देखिएला, मलाई केही देलान भनेर काम गरेको होइन । म खोज्दै कम्युनिष्ट पार्टीमा गएको व्यक्ति हुँ । पुष्पलाललाई खोज्दै कम्युनिष्टमा आएँ । पार्टीको कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चा थियो, त्यतिबेला । जहाँ जीवराज आश्रित, मदन भण्डारी, मोदनाथ प्रश्रित र म थियौं । त्यतिबेलै म पक्राउ परें । दुई वर्ष जेल बसें । पछि सम्मेलनबाट नेकपा (माले) बन्यो । म जेलबाट निस्केपछि घर गएँ । त्यहाँ केन्द्रीय कमिटीको बैठक चलिरहेको थियो । सीपी मैनाली, जीवराज आश्रित र माधवकुमार नेपाल पनि हुनुहुन्थ्यो । सीपी मैनाली महासचिव हुनुहुन्थ्यो । कहाँ काम गर्न जानुहुन्छ ? सोध्नुभयो । जहाँ पठाउनुहुन्छ त्यही जान्छु भने । जोड गरेर सोध्नुभयो । हाम्रो पार्टीको काम नभएको जिल्ला कहाँ छ ? त्यही पठाउनुस् भनें । गण्डकी, धवलागिरी भन्नुभयो । म त्यही गएँ । मेरो काम देखेर केन्द्रीय कमिटीमा पार्टीले मलाई लग्यो । मेरोनिम्ति अहिले पनि म केही माग गरेको छैन । जिम्मेवारी आउँदा म जुन भूमिका निर्वाह गर्न तयार छुँ ।

कुनै बेला दुई अध्यक्ष ओली र प्रचण्ड एक–अर्काको तिखो आलोचक हुनुहुन्थ्यो, कसरी एकै ठाउँमा आउनु भयो ?
हाम्रो पार्टीभित्र माओवादीको सबैभन्दा तिखो आलोचक केपी ओली नै हुनुहुन्थ्यो । ०६२ सालमा भारत सरकार र भारतीय ‘कांग्रेस आई’ले हाम्रा नेतालाई भारत भ्रमणकालागि निम्ता ग¥यो । त्यो टोलीमा माधवकुमार नेपाल, केपी ओली, झलनाथ खनाल, अमृत बोहरा हुनुहुन्थ्यो । माधव नेपाल महासचिव हुनुहुन्थ्यो । उहाँले मलाई कार्यबाहक दिएर जानुभयो । भारतले त्यहाँ माओवादीसित वार्ताको वातावरण बनायो । यो बीचमा माओवादीसित वार्ता हुन्छ, वार्तामा जानुहोला भनेर माधव नेपालले भन्नुभयो । रोल्पाको घर्ती गाउँ आसपासमा म र युवराज ज्ञवाली गयौं । प्रचण्ड, बाबुराम र कृष्णबहादुर महरा हुनुहुन्थ्यो । दुई दिन वार्ता गरेर छबुँदे सहमति ग¥यों ।

त्यो सहमति भएपछि पार्टीभित्र र बाहिर ठूलो आलोचना भयो । संयुक्त राष्ट्र संघका एकजना प्रतिनिधि नेपाल आए । मसित भेटेर सहमतिको ड्राफट मागे । फोटोकपी गरेर दिएँ । अमेरिकन राजदूतले सहमतिको कडा आपत्ति जनाए । त्यसपछि वामदेवले गल्ती ग¥यो भन्ने निस्कर्ष निकालियो । पार्टीको स्थायी कमिटी बैठक बस्यो । बैठकमा मेरो बेस्सरी आलोचना भयो । पार्टीबाट कारवाही गरी निष्काशित गर्नेसम्मको कुरा उठ्यो । झलनाथ खनालले एउटा उपाय सुझाउनुभयो । कांग्रेसलाई सामेल गराएर माओवादीसित एउटा सहमति गरौं भन्नुभयो । भारतमा गएर वार्ता गरेर सहमति गर्ने कुरा भयो । त्यतिबेला सहमतिको कडा आलोचक केपी ओली पनि हुनुहुन्थ्यो । मलाई कारवाही गर्ने पक्षमा उभिनुभयो । माधव नेपालले मलाई सहयोग गर्नुभयो । मसँग परामर्श गरेर मेरो निर्देशनमा वामदेवले सहमति गर्नुभएको हो, कारवाही गर्न मिल्दैन भन्नुभयो । त्यसपछि म कारवाहीबाट जोगिएँ ।

बाह्रबुँदे सहमति गर्ने कुरा भयो । नारायणकाजी, बाबुराम भट्टराई, कृष्णप्रसाद सिटौला र केपी ओली मिलेर १२ बुँदेको ड्राफट तयार गर्नु    भयो । माओवादी तयार भएपछि भारतमै १२ बुँदे सम्झौता भयो । केपी ओली पनि अव सम्झौतामा सामेल हुनुभयो । कारवाहीको कुरा त्यसपछि ट¥यो । अहिलेको अवस्था त समय परिस्थितिले एक ठाउँमा ल्यायो । त्यसमा केही भुमिका हामीले खेलेहौंला । देशको आर्थिक अवस्था जर्जर छ । राजनीतिक स्थायित्व कायम गरी देशलाई निकास दिनुपर्छ भन्ने साझा बुझाई भएपछि दुई अध्यक्ष परिस्थितवश एक ठाउँमा आउनुभयो । हाम्रो प्रयास र दुई अध्यक्षको इच्छाशक्ति मिलेपछि एक ठाउँमा आउने वातावरण तयार भयो ।

सुशासन कायम गर्न र आर्थिक बाटो तय गर्न तपाई नेतृत्वको कार्यदलले सोमबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो । प्रतिवेदनको सार बताइदिनुस न ?

सानोतिनो विकास अभियानले मुलुकको विकासमा छलाङ मार्न सकिदैन । अव समस्या छैन, सरकार स्थायी बनेको छ, राजनीतिक स्थायित्व कायम भएको छ । विकासको काम गर्न अव समस्या    पर्दैन ।

एक महिना लगाएर ६१ पृष्ठको ७२ बुँदे प्रतिवेदन बुझाएका छौं । माघ ७ गते गठन भएको मेरो नेतृत्वको कार्यदलले फागुन ७ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो । भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै आर्थिक समृद्धिको वाटो तय गर्न सुझाव दिएका छौं । जनताको आधारभूत समस्या समाधान गर्दै समाजवादको बाटो तयगर्ने सुझाव प्रतिवदेनमा छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले देशको ढुकुटीको अवस्था कस्तो बनायो, अवको सम्भावना के छ ? जनतालाई जानकारी गराउन आर्थिक श्वेतपत्र जारी गर्न सुझाएका छौं । देशको विकास कृषि क्षेत्रबाट शुरु गर्नुपर्छ । दुई वर्षभित्र भूमिसँग सम्बन्धित सबै समस्या समाधान गर्न सकिन्छ भन्ने कार्ययोजनासहितको सुझाव छ । कृषिलाई व्यावसायिक र औद्योगिकरण गर्दै दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सुझाव दिएका छौं ।
प्रतिवर्ष विदेशबाट औद्योगिक सामानकालागि आठ खर्व रुपैयाँको सामान ल्याइरहेका छौं । खाद्यान्नकालागि डेढ दुई खर्वको सामान    ल्याउँछौं । यसलाई बचाउन सक्ने हो भने दुई वर्षमा नसोचेको काम हुन्छ । विद्युतको उत्पादन गरी त्यसमार्फत काम गर्न सकिन्छ, प्रतिवेदनमा सुझाव छ । पाँच वर्षभित्र सबै आर्थिक कारोबार ‘क्यासलेस इकोनोमी’मा र दुई वर्षभित्र अनलाईन प्रणालीमा लगेर सुशासन कायम गर्न भनेका छौं ।

कर प्रणालीलाई संस्कृतिकोरुपमा विकास गर्नुपर्छ । सबैले कर तिर्ने वातावरण बनाउनुपर्छ । तलब खाने सरकारको, कर नतिर्ने भनेर हुन्छ ? विकासमा हातहाल्दा एकैचोटी खरवौं खरवको योजनामा हात हाल्नुपर्छ । सानोतिनो विकास अभियानले मुलुकको विकासमा छलाङ मार्न सकिदैन । अव समस्या छैन, सरकार स्थायी बनेको छ, राजनीतिक स्थायित्व कायम भएको छ । विकासको काम गर्न अव समस्या पर्दैन । विकास गर्न सकिन्छ । हामीले दिएको प्रतिवेदन र चुनावी घोषणापत्रअनुसार सरकारले काम ग¥यो भने विकास सम्भव छ । जनतालाई सेवा दिनुपर्छ । सेवादिएर काम लिन सकिन्छ । विकासको महाअभियानमा जनताको सहभागिता चाहिन्छ । त्यो गराउन सकिन्छ ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया