‘सेतो टीका कहिलेदेखि कसले लगाउन सुरु गरेको हो’ अध्ययन भएको छैन । अक्सर आदिबासी जनजातिहरुको चाड पर्वमा यस्तो टीका लगाइन्छ । आदिवासीले शुद्धिको प्रतीकको रुपमा सेतो टीका लगाउँछन् । तर बाहुन क्षेत्री समुदायले सेतो टीका शुद्धीको रुपमा नभइ, अशुद्धी प्रतीकको रुपमा लगाउँछन् । अधिकांश आदिबासी जनजातिले प्रयोगमा ल्याउने सेतो टीकालाई यहाँका भूमिपुत्र आदिमबासी थारूहरुले दशैं, तिहार तथा अन्य बेला देवीदेवतालाई लगाइदिने गर्छन् । पौराणिककालदेखि थारूले सेतो टीकालाई प्रयोगमा ल्याउँदैआएका छन् । अहिले फाट्टफुट्ट रुपमा देखासिखीमा रातो टीका प्रयोगमा ल्याएका देखिन्छ । तर सेतो टीका नै थारू समुदायको प्राचीन सभ्यता हो । आदिवासी जनजातिभित्र पर्ने थारू, नेवार, मगर, गुरुङ, राई, लिम्बू लगायतका सबै आदिवासीले सेतो टीका अङ्गिकार गरेका छन् ।
सेतो टीका नै थारू समुदायको प्राचीन सभ्यता हो ।
उसो त आदिबासीहरु पृथ्वीमा पहिलो पटक आँखा उघार्दा यहाँ कुनै रङको विकास भइसकेको थिएन । मात्र एउटा सेतो रङ थियो । जुन प्रकृतिको उपहार थियोे । चाहे पानीको फोहरा होस् । माटो होस्, धुलो होस् या हिमाल सबै सेतै उत्पत्ति भएका हुन् । अद्यापि छँदैछन् । सेतो रङ प्राकृतिक रङ हो । सेतो रङ शान्तिको प्रतीक पनि हो । धेरैपछि विकास भए अन्य कृत्रिम रङ रातो, खैरो, निलो, पहेलो, कालो, हरियो रङहरु । सेतो रङमा यी रङलाई मिसाउँदा अन्य रङको निर्माण हुनेगर्छ । सेतो रङ चोखो र प्राकृतिक रङ मानिन्छ । यही चोखो रङको प्रभाव आदिवासीमा परेको हो । त्यसैले थारू जातिको पुरानो पहिरन पनि सेतो नै छ । सेतो रङ प्रकृतिको उपहार भएर होला यो अरु रङभन्दा शुद्ध मानिन्छ । चाहे विवाह गर्दा होस् । मृत्यु हुँदा होस् या अन्य बेलामा । महिला तथा पुरुषले लुङ्गी, लङ्गौटी, धोटी या चोलो, गुनियाँ सबै सेतो नै लगाउँछन् । थारू समाजमा विशेष चाडपर्वमा सेतो पहिरनमै महिला पुरुषहरु सजिने गरेका हुन्छन् ।
हिन्दू धर्म मान्नेहरुले सेतो टीकालाई अशुद्धिको रुपमा प्रयोग गर्छन् । चाड पर्वमा जाँड, रक्सी, सुंगुर छुनु पनि हुँदैन, भन्छन् । तर आदिवासी जनजातिहरुलाई ती चिज नभई घर व्यवहार चल्दैन । आदिवासी जनजातिहरु हिन्दू हुन् त ? प्रसङ्ग कोट्याउन सकिन्छ । यद्यपि थारू लगायतका आदिवासीहरु अझ हिन्दू र बौद्ध दुवै धर्म मान्दै आएका छन् । सेतो टीकालाई शान्तिको प्रतीक मान्छन् । जुन टीका गौतमबुद्धले पनि ग्रहण गर्दैआएका थिए । तथापि गौतमबुद्धले कहींकतै सेतो टीकाको महिमाबारे प्रष्ट्याएको भने देखिदैन ।
निधारमा लाउने टीकाले मन शुद्ध हुन्छ । निधारको टीका वीरताको संकेत पनि हो । मानिस विजय प्राप्त गर्दा होस् या नयाँ कामको सुरुवात गर्न निधारमा टीका लगाउने गर्छन् । लामो यात्रामा जाँदा होस् या भगवानको पूजागरी प्रसादीको रुपमा प्रायः टीका लगाइन्छ । निधारलाई शरीरको देवस्थान मानिन्छ । त्यसैले पनि टीकाद्वारा त्यसलाई सजाइन्छ । टीकालाई तेस्रो आँखाको दर्जा दिइने गरिन्छ । यसलाई ज्ञानचक्षु, आज्ञाचक्र पनि भनिन्छ । सेतो टीका शुद्धताको प्रतीक भएजस्तै रातो टीकालाई शक्तिको प्रतीक, पहेंलो टीकाले आध्यात्मिकता जनाउँछ । त्यस्तै, कालो टीका पनि शक्तिको प्रतीक मानिन्छ ।
लामो यात्रामा जाँदा होस् या भगवानको पूजागरी प्रसादीको रुपमा प्रायः टीका लगाइन्छ ।
थारू जातिले सेतो टीकालाई कसरी प्रचलनमा ल्याए त ? यस विषयमा थारू अगुवा तथा संस्कृतिका जानकारहरुको विश्लेषण यस्तो छ –
(क) अशोक थारू, (दाङ)
प्रकृति र आदिमजातिको सम्बन्ध अटुट छ । अन्य कृत्रिम रङको उत्पत्ति नहुँदै प्राकृतिक रङ सेतोमात्र थियो । त्यही रङ पहिलेदेखि चलनचल्तीमा ल्याइएकाले थारूहरुको प्यारो रङ सेतो बन्यो । देवी देवताको पूजा गर्दा र पहिरनमा समेत प्रमुख रङ सेतो कायम भयो । सेतो रङसँग थारूको प्राकृतिक सम्बन्ध छ । त्यही सम्बन्धलाई कायम राख्न थारू लगायतका आदिवासीहरु सेतो रङको प्रयोग गर्छन् । सेतो रङले थारूको विरासत झल्काउँछ ।
थारू समाजका महिला–पुरुषले लगाउने सबै पोसाक सुरुमा सेतो थियो । अन्य रङको विकाससँगै अहिले थरिथरिका कपडाहरुको विकास भएपछि युवा पीढीले अन्य रङको पोसाक लगाउन थाले । विशेष चाडपर्वमा अझै पनि थारूले सेतो पोसाक र टीकालाई महत्व दिने गर्छन् । यसलाई कायम राख्नु हाम्रो प्रकृतिसँगको सम्बन्ध र आफ्नो विरासत जोगाउनु हो । सृष्टिकर्ता जाति भएका नाताले पनि प्रकृतिसँग रमाउनु र नजिक हुनु थारू समुदायको अहोभाग्य मान्नुपर्छ ।
प्रकृतिपूजक आफै शान्तिका प्रतीक हुन् ।
सेतो रङको टीका गौतमबुद्धले पनि प्रयोग गर्थे भनेर यसको इतिहास बुद्धकालसम्म मात्र सीमित गर्न मिल्दैन । बुद्ध आफै शान्तिकामी र थारूका सन्तान भएकाले स्वभावैले उहाँले पनि सेतो टीकाको प्रयोग गर्नुभयो । प्रकृतिपूजक आफै शान्तिका प्रतीक हुन् । गौतमबुद्धको इतिहास २६ सय वर्षमात्र भयो । थारू जातिको इतिहास लाखौं वर्ष पुरानो छ । थारू समुदायभित्रका एक सदस्य गौतमबुद्ध हुनुहुन्थ्यो । उहाँले सेतो रङलाई अङ्गिकार गर्नु उहाँको कर्तव्य थियो । सेतो रङको सान्दर्भिकता र महत्व हिजो जति थियो, आज पनि उत्तिकै छ । यसलाई निरन्तरता दिनु नै थारूसहित आदिवासीहरुको पहिचान र महत्व कायम रहन्छ ।
(ख) सुशील चौधरी, (वर्दिया)
सेतो रङ शान्तिको प्रतीक हो भन्ने त जगजाहेरै छ । थारू जाति शान्तिकामी जाती हुन् । लडाई झगडा र छलछाममा विश्वास गर्दैनन् । प्राचीनकालमा थारू जातिले आफ्नो देवी देवतालाई गाईको दुधले पूजा गर्ने गर्दथे । गाईको दुध पनि सेतो भएकाले त्यसलाई प्रकृतिसँग जोडेर हेर्ने प्रचलन थियो । देवताका लागि गाईको दुध र स्वच्छ पानी सबैभन्दा पवित्र मानिने हुनाले थारूले त्यसको उपयोग गर्दै आए । यद्यपि थारू जातिले गाईलाई माताको सङ्ज्ञा कहिल्यै दिएनन् । गाईको दुध सेवन पनि गरेनन् । देवतालाई मात्र चढाउने काम गरे । सायद त्यही भएर होला गाईको दुध सेवनभन्दा पनि गाईको बाच्छालाई हुर्काइबढाई खेत जोत्ने काममा उपयोग गर्दै आए । जुन अद्यापि जारी छ । यद्यपि थारूको देवता गुर्वावालाई गाईबाट जन्मेको विश्वास गरिन्छ ।
बुद्ध स्वयम् थारू थिए भन्ने कुरा धेरै इतिहासकारले चर्चा गरेका छन् ।
थारूहरुको इतिहास बुद्धसँग जोडिएको छ । बुद्ध स्वयम् थारू थिए भन्ने कुरा धेरै इतिहासकारले चर्चा गरेका छन् । थारू भएकैकारण बुद्धले शान्ति फैलाउने काम गर्नुभयो । सेतो रङको उपयोग गर्नुभयो । थारूको इतिहास बुद्धकालदेखि सुरु नभई बुद्ध पनि थारूको एक सदस्य हुनुहुन्थ्यो भनेर बुझ्दा इतिहास बुझेको मानिन्छ । सेतो टीका प्राचीनकालदेखि उपयोग भएकै कारण दशैं, तिहार तथा देवतालाई अन्य बेला पनि सेतो रङले पूजागर्ने प्रचलन कायम छ । थारू सदस्यको नाताले बुद्धले पनि सेतो टीकाको अनुशरण गर्नुभयो । तर उहाँले सेतो टीका चलनचल्तीमा ल्याउनु भएको हो भन्न चाहिँ हुँदैन ।
(ग) लाहुराम चौधरी, (कैलाली)
सेतो रङको महत्व भनेको छलछाम नगर्नु, पक्षपातपूर्ण काम नगर्नु, इमान्दार तथा सहयोगी र परोपकारी हुनुसँग जोडिएको छ । थारू जातिको दिमागमा दायाँबायाँ गर्ने कुनै ज्ञानै थिएन । प्रकृतिले दिएको ज्ञानरुपी उपहारलाई उनीहरुले प्रयोग गरे । समय परिवर्तन भैसक्दा समेत त्यही बाटोलाई अँगालेका छन् । पछिबाट आएका जातजाति प्रकृतिको विरोधी देखिए । छलछाम र कपटपूर्ण काम गरे । थारूको सोझोपन र इमान्दारीताको फाइदा उठाए । थारूहरुकै श्रीसम्पत्ति हडपेर हैकम जमाए । अनेक जालझेल र षडयन्त्रमा पारी थारूलाई पछाडि पारे ।
आदिमकालदेखि सुरु भएको सेतो रङलाई थारूले अहिले पनि उपयोग गर्छन् । स्वच्छ, सफा र चोखोपनको महत्व बोकेको सेतो रङलाई आदिम जाति थारूसहित आदिवासीहरुले उपयोगमा ल्याउनु स्वभाविक थियो । अहिले वीरताको संकेतको रुपमा रातो रङको टीकालाई मानिन्छ । तर थारूको प्राचीन रङ र वीरता र शुद्धताको प्रतीक सबै सेतो रङ नै हो ।
(लेखक चौधरी थारू संस्कृतिका अनुसन्धाता हुनुहुन्छ ।)



