मंसिर ५ देखि थारुको आन्दोलन

शैक्षिकक्षेत्र खुला रहने


Tharuhat

अविनाश चौधरी
धनगढी, मंसिर ३ गते । मंसिर ५ गतेदेखि आन्दोलन शुरुगर्ने घोषणा गरेको थरुहट÷थारुवान संघर्ष समितिले आन्दोलनताका क्रममा शैक्षिकसत्र सुचारु हुनदिने भएको छ ।

थरुहट पक्षधरले बिहीवार धनगढीमा पत्रकार सम्मेलन गरी केन्द्रिय निर्णयअनुरुप आन्दोलनका क्रममा शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई निर्वाध सुचारु हुन दिने बताएको हो । आन्दोलनकाक्रममा उद्योग व्यापार, कलकारखाना, बजार, यातायात, सरकारी तथा गैरसरकारी संस्था बन्दगरी आन्दोलनलाई सहयोग गर्न आग्रह गरेको छ ।
थरुहट÷थारुवान पक्षधरले कञ्चनपुरदेखि चितवनसम्मको भूभाग थरुहट प्रदेश बनाउनुपर्ने माग राख्दै आन्दोलन गर्दैआएका छन् । सरकारले मागलाई गम्भीरतार्पूक नलिए संघर्षको कार्यक्रम कडा बनाउने थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक कृष्णकुमार चौधरीले बताउनुभयो ।

पत्रकारको एक जिज्ञासाको जवाफ दिदैं संयोजक चौधरीले कैलालीलाई टुक्रयाउने कुरा सबैभन्दा घटिया रहेको भन्दै थरुहट÷थारुवान आन्दोलनको बटमलाइन नै चितवनदेखि कञ्चनपुरसम्म एक प्रदेश रहेको बताउनुभयो ।

आन्दोलनलाई सफल बनाउन मङ्सिर ४ गते साँझ मसाल जुलुश प्रदर्शन गर्ने, पाँच गतेदेखि भित्तेलेखन सहित दवावको कार्यक्रम जारी हुने संघर्ष समितिले बताएको छ । संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरीले आन्दोलन कडा बनाइने बताउनुभयो ।

थारुको माग सम्बोधन गर्न ढिलाई गरिए कैलालीमा सङ्कलन गरिएको नागरिकता राज्यलाई बुझाउने प्रवक्ता चौधरीले बताउनुभयो । “सङ्कलन गरिएको हजार बढी नागरिकता अहिलेसम्म हामीसंगै राखेका छौं, सरकारलाई त्यो अन्तिम अवस्थामा बुझाउँछौं” प्रवक्ता चौधरीले भन्नुभयो ।
थारुको जायज मागलाई बेवास्ता गरी सरकारले दोस्रो दर्जाको व्यवहार गरेको भन्दै थारुहरुले नागरिकता संकलन गरी स्थानीय प्रशासन मार्फत सरकारलाई सामुहिकरुपमा बुझाउने तयारी गरेका छन् ।

तपाईको प्रतिक्रिया