
लक्की चौधरी
काठमाडौं, फागुन १४ गते । हेटौडा सिमेन्ट लि.को ‘शक्ति’ सिमेन्टको तौलमा घटी देखिएको छ । ५० केजीको बोरामा चार किलोग्रामसम्म तौल कमी पाइएको हो । विक्री डिपो टेकुको साझा स्टोरमा सोमबार नेपाल गुणस्तर तथा नापतौल विभागले महानगरीय प्रहरी वृत्त कालीमाटीको सहयोगमा छापा मारेको छ ।
विक्री डिपो सञ्चालक चन्द्रमान महर्जनले कम तौल भएको र कमसल गुणस्तरका सिमेन्ट विक्री गरेको उपभोक्ताको गुनासो आएपछि विभागले सुरक्षाकर्मीको सहयोगमा छापा मारेको हो । कुलेश्वरस्थित आवासीय घर निर्माण गरिरहेका बाबुचन्द्र चौधरी (रौतहट) ले १२ सय बोरा शक्ति सिमेन्ट खरिद गर्दा आशंका लागेर प्रहरी कार्यालय र विभागमा उजुरी दिएका थिए ।

उपभोक्ता चौधरीको उजुरीकाआधारमा विभागले विक्री डिपोमा छापा मारेर तौल परीक्षण गरेको थियो । नमूनाकालागि ३० वटा बोराको तौल परीक्षण गर्दा २८ वटा वोराको तौल ५० केजी नपुगेको भेटिएको फिल्डमा खटिएका विभागका प्राविधिक अधिकृत रमेश खड्काले बताए । विक्री डिपोको परीक्षणगर्दा डिपोमा बोरा सिल्ने मेशिन भेटिएको, सिमेन्टहरु विक्री डिपोमै भर्ने गरिएको आशंका खड्काले गरे ।
महानगरीय प्रहरी बृत्त कालीमाटिका प्रहरी नायव उपरक्षिक (डि.एस.पी.) प्रदीपबहादुर क्षेत्रीले उपभोक्ताको उजुरीकोआधारमा सिमेन्ट डिपोमा छापा मारिएको बताए । छापा मार्दा विक्री डिपोमै बोरा सिल्ने मेशिन भेटिनुले झन आशंका उब्जाएको उनले बताए । ऐनअनुसार विक्री डिपोलाई बोरा सिलाउने मेशिन राख्ने अनुमति नरहेको क्षेत्रीले बताए ।
विक्रीकर्ताले सिमेन्टको बोरामा आफै सिमेन्ट भर्नेगरेको आशंका बढेपछि त्यसको छानविन थालिएको डिएसपी क्षेत्रीले बताए । सिमेन्ट विक्रीकर्ता महर्जनलाई कानूनअनुसार कारवाहीकालागि सिमेन्ट परीक्षणको प्रक्रिया अघि बढाएको उनले बताए । विक्री डिपो साझा स्टोरमा गोदामभरी खाली प्लाष्टिकका बोरा र सिमेन्टहरु छरपष्ट भेटिनुले थप आशंका उब्जायो क्षेत्रीले भने ।
घर निर्माणकालागि सिमेन्ट खरिदकर्ता बाबुचन्द्र चौधरीले घर बनाउने मिस्त्रीले सिमेन्टले रङ नदिएको र चाँडै सेट नहुनेगरेको बताएपछि सिमेन्टबारे चासो राखिएको बताए । सो डिपोबाट १२ सय बोरा सिमेन्ट खरिद गरेको र आशंका लागेपछि परीक्षण गर्दा कम तौल र कम गुणस्तरको सिमेन्ट भेटियो चौधरीले भने ।

नापतौल विभागबाट खटेर गएको टोलीले सिमेन्टको परीक्षणकालागि डब्बामा सिमेन्टको नमूना सिलगरी लगेको छ । प्रक्रियाअनुसार सिमेन्टको परीक्षण गर्दा कमीकमजोरी भेटिएमा सिमेन्ट उत्पादक संस्था समेत कारवाहीको दायरामा आउने विभागका महानिर्देशक विश्ववावु पुडासैनिले बताए ।
विक्री डिपो सञ्चालक चन्द्रमान महर्जनले आफूले कमजोरी नगरी सिमेन्ट उत्पादक संस्थाबाटै कम तौलका सिमेन्ट आउनेगरेको दावी गरे । कुनै बोरामा ५० केजीमाथि तौल हुन्छ, कुनैमा कम हुन्छ, यो त उत्पादक कम्पनीले जिम्मा लिने काम हो, हामी कसरी दोसी भयौं ? उनले भने ।
कम गुणस्तर भएको विषयमा भने आफूलाई थाहा नभएको महर्जनले बताए । आफूले विक्री डिपोबाट होलसेल र खुला (फुटकर) रुपमा सिमेन्ट विक्री गर्ने हुनाले सिलाई मेशिन राखेको उनले बताए । तर नापी विभागबाट खटिएका कर्मचारी र सुरक्षाकर्मीले त्यसरी मेशिन राख्नु गैरकानूनी भएको बताए । विक्रेता महर्जनलाई सोधपुछकालागि सुरक्षाकर्मीले गिरफ्तार गरेको छ ।
साझा स्टोर विक्री डिपोबाट अर्घाखाँची, युनाइटेड, विजय, शिवम, उदयपुर ब्राण्डका सिमेन्टहरु विक्री हुनेगरेका छन् । शक्ति सिमेन्टको तौल र गुणस्तरमा प्रश्न उठेपछि अनुगमनका क्रममा त्यस डिपोबाट विक्री हुने सबै सिमेन्टको तौल गरिएको थियो ।
अन्य सिमेन्टको तौल ठिकै भेटिए पनि शक्तिको तौलमा घटबढ देखिएको हो । ३० वटा बोराको नापलिदा २ बेराको तौल ४६ केजी, १३ वटा बोराको ४७ केजी, १० वटाको ४८, ३ बोराको ४९ केजीको फेला परेको थियो । बोराको मापदण्ड ५० केजी तौलको हुन्छ ।




