
धुलो र हिलोमा खेलिने हुनाले थारुले यस पर्वलाई धुरहेरी भन्छन् । यसलाई होरी, होली पनि भनिन्छ । थारु भाषाको ठेट शब्द ‘होरी’ अथवा ‘धुरहेरी’ नै हो । परापूर्वकालदेखि यो सांस्कृतिक पर्वलाई थारु जातीले मनाउँदै आएका छन् । महाभारतको कथासँग थारुको तमाम संस्कृति र पर्व मिलेजस्तै यो होली पर्व पनि महाभारतको कथा कहानीसँग मेलखान्छ । सत्य र इमान्दारिताको जीत, असत्य र छलकपटको हार, महाभारतको कथामा उल्लेख भएअनुसार यो होली पर्वको कहानी पनि सत्यको असत्यमाथि भएको जीतको महिमालाई देखाएको छ । सत्यको असत्यमाथि विजय गरेको सन्दर्भलाई खुशियालीकोरुपमा मनाइने पर्व होली, थारु समुदाय पनि त्यही सन्दर्भलाई मान्दैआएको छ । विशेषगरी धुलोबाट खेलिने चाड भएकैकारण थारुहरु यो पर्वको नाउँ नै ‘धुरहेरी’ राखेको हुनुपर्छ ।
भगवान विष्णुको परमभक्त प्रल्हाद आफ्नो बाबा हिरण्यकश्यपूको घमण्डमाथि विजय प्राप्त गरेको प्रसंग यसमा देखाइएको छ । प्रल्हादको फुफु होलिका भगवान ब्रम्हाबाट आगोमा नजल्ने वरदान पाएकी हुन्छिन् । तर आफ्नो वरदानको दुरुपयोग र घमण्ड गरेकैकारण उनको वरदानको नष्ट गरिएको छ । उनी आगोमा जल्छिन् । होलिकाको कपटपूर्ण व्यवहारको अन्त्यगरी सद्भाव र सत्यलाई विजय गराएको प्रसंग होलीमा चर्चा गरिन्छ । नेपालमा हिन्दू धर्म मान्नेहरुको बाहुल्यता छ । यसै परिपेक्ष्यमा अन्य धर्म अवलम्बन गर्नेहरुमा पनि हिन्दूवादीको छाप ज्यादा परेको अनुभूति हुन्छ । त्यसो त थारुहरुलाई पनि हिन्दू धर्मसँग जोडिएको छ । तथापि आज केही थारुहरु हिन्दूधर्मको विरोध गरी भगवान् गौतमबुद्धको सन्तानकोरुपमा आफूलाई चर्चा गर्नेगरेका छन् । नेपाली पाठ्यक्रममा राखेर जवर्जस्ती थारुलाई हिन्दूकरण गरेको उनीहरुको आरोप छ । त्यसो त नेपालमा हिन्दूबाहेक अन्य धर्ममा विश्वास गर्ने जातजाति पनि छन् तर हिन्दू धर्मको अनुपातमा न्यून छन् ।
थारु तराईका मुलवासी आदिवासी भएपनि उनीहरु हिन्दूवादीको चाडवाड, तरतिहारको अनुसरण गर्ने गरेको देखिएको छ । खासगरी शिक्षाको अभाव र आफ्नो पहिचानको खोजीमा नलागेकैकारण थारु आज आफ्नो पहिचान गुमाउनेतिर छन् । तराईलाई बस्नलायक समथर भूभाग बनाउने थारु आज आफै तराईबाट विस्थापित भइरहेका छन् । अन्य जातजातिहरुको तिव्र बसाई सराई र थारुउपर गरिएको नीतिगत शोषण र दमनकाकारण आज थारु वहुसंख्यकबाट अल्पसंख्यकमा परिणत भएका छन् । सबै जातजातिको जनसंख्या बृद्धि हुनेक्रममा छ तर थारुको जनसंख्या दिनदिनै क्षयीकरण भइरहेको छ । थारुको तथ्याङ्क संकलनमा वास्तविक तथ्याङ्क आउन नसक्दा पनि थारुको जनसंख्या कमी देखिएको केहीको गुनासो देखिन्छ । अधिकांश थारुहरु जन्मदर्ता र विवाहदर्ता गरेका छैनन् । धेरैलाई गाउँघरमा यससम्बन्धी जानकारी पनि हुने गर्दैन । कोइ त नागरिकता पनि नबनाई बुढो भएर मृत्युवरण गर्नपुग्छन् । यसैकारण थारुको वास्तविक तथ्याङ्क आउन नसकेको केहीको दावी छ ।

कसरी खेलिन्छ ?
होली थारुको पूर्णिमाको दिन चिरदहन गरेपछि शुरुहुन्छ । चिरदहनको अर्थ होलिकाको दहन हो सांकेतिकरुपमा । देशभरका थारुले चिरदहन गरेका छन् । उपत्यकासहित पहाडी भागमा पूर्णिमाकै दिन होली मनाउने प्रचलन रहेपनि तराईमा पूर्णिमाको दिन चिरदहन गर्ने र सोपछिको दुईदिन होली खेल्ने प्रचलन छ । त्यसैले पहाड र तराईको होली अघिपछि पर्नेगर्छ । होली पूर्णिमाको विहान्नैबाट शुरुहुने भएपनि थारु समाजमा साँझ गोठालाले गाईवस्तु गोठमा बाँधी सकेपछि चिरदहन शुरु हुन्छ । चिरदहनको प्रसंग होलीकाको नाउँबाट जुरेको छ । सिमलको सानो रुखलाई गाउँको चौराहामा ठड्याइ त्यसमा तोरीको सुकेको डाँठ (कून्यू) राखी आगो लगाउने गरिन्छ । आगो लगाउनुको अर्थ दुष्ट होलीकालाई जलाएको संकेत गर्छ । अर्थात् दुष्टआत्मालाई जलाएर नष्ट गर्ने महिमा छ । आगो लगाई बलिरहेको आगोमा ढुंगा, मुढा पनि वर्साइन्छ । ठड्याएको सिमलको रुखको हाँगा धारिलो आँसीले छिनाल्ने परम्परा पनि थारु समुदायमा छ । यसको अर्थ कपटी, दुष्ट होलिकाको घाँटी काटेको बुझिन्छ । चिरदहन गरेको दोस्रो दिनदेखि माटो, धुलो, खरानीले होली खेल्छन् थारुहरु । तेस्रो दिनमात्र होली खेल्दा रंग र अविरको प्रयोग हुन्छ । दोस्रो दिनको होली तुलनात्मकरुपमा खतरापूर्ण हुन्छ ।

लेखकः लक्की चौधरी
माटो, हिलोपानी, खरानीको प्रयोगले खेलिने हुनाले धेरैको आँखा विग्रने सम्भावना रहन्छ । कसैको शरीरमा तातै आगोको खरानी (भुवा) दल्नाले शरीर नै जल्ने गर्छ । फोहर पानीले शरीर कपडा फोहर हुने गर्दछ । यसरी होली मनोरञ्जनभन्दा तिक्तता बढ्ने सम्भावना रहन्छ । तेस्रो दिन रंग र अविरले होली खेलिन्छ । यो दिन तुलनात्मकरुपले सभ्य हुन्छ । जति माटो, धुलो र खरानीले बढी होली खेलिन्छ, त्यति रंग वा अविरले खेलिने प्रचलन छैन । अर्थात् रंग अविर किन्नुपर्ने, पैसा खर्च गर्नुपर्ने भएकाले कम प्रभाव परेको हुनसक्छ । धुलोमाटोले होली खेल्ने थारुहरु रंग र अविरलाई आधुनिक जमानाको विकृतिको रुपमा लिने गर्दछन् । थारु समाजमा होलीको महत्व अन्य पर्वकोजस्तो छ । नातागोता, आफन्तहरुसँग भेटघाट हुने, आपसी सौहाद्रपूर्ण वातावरणको सृजना हुने, वर्षौपछि नातागोता, चेलीबेटीसँग भेटघाट हुने अवसर मिल्ने हुनाले यस पर्वलाई महत्वकासाथ लिइन्छ ।
जब पृथ्वीमा रंगको उत्पत्ति भएको थिएन । त्यतिबेला यही धुलो र माटो, पानीमात्रै थियो । रंगको अविस्कार भएको थिएन । त्यतिबेलादेखि होली पर्व मनाउँदा आदिबासीथारुले यिनै माटो, धुलो र पानीको प्रयोग गर्थे । त्यतिबेलादेखि यी रंग विनाको होली पर्व मनाउने प्रचलन रहीआएकाले पनि रंग र अविरको होलीभन्दा पहिलो दिन थारुले माटो, धुला, पानी र खरानीले होली खेल्छन् ।
रानाथारु र कठरिया थारु समाजमा त झन होली पर्वको महत्व नै बेग्लै छ । यिनीहरु होलीलाई दशैकोरुपमा मनाउने गर्दछन् । सबैभन्दा ठूलो पर्व सो समुदायको होली नै हो । दशैमा यो समुदाय खासै रमाइलो गर्दैनन् । होलीमा महिना दिनसम्म फागु खोली रानाथारुले होली मनाउँछन् ।
यसको प्रभाव
हरेक सांस्कृतिक पर्वको आफ्नै सकारात्मक नकारात्मक पक्ष रहेजस्तै यसको पनि सकारात्मक र नकारात्मक पक्ष रहन्छ नै । आफन्त, नातागोताहरुसँग भेटघाट गर्ने अवसर जुटने र दुःख सुखका कुरा साटासाट गर्ने अवसर मिल्ने हुनाले यसलाई सकारात्मक रुपमा हेरिन्छ । एकअर्कासँग रामरमाइलो गर्ने, आपसी भाइचाराको सम्बन्ध बनाउनु राम्रो पक्ष हो । होली पर्वमा जाँरदारु धेरै पिउने, हिलोमाटोले होली खेल्ने, महिला र अन्जान बटुवाहरुलाई पनि ईच्छाविपरित रंग अविर र हिलो लगाउनु यसको विकृत पक्ष हो । यस्ता गलत पक्षलाई सुधारी होली मनाउन सकेमा होली पर्वलाई मनोरन्जनपूर्ण बनाउन सकिन्छ । मुखमा, आँखामा रंग, अविर, हिलो दल्नाले जिन्दगीभरीको लागि आँखाको ज्योति गुमाउने डर रहन्छ । जोर जवर्जस्ती गर्नु, महिलालाई खोजीखोजी हिलो पानी छ्याप्नु अर्को विकृति हो । यसले मानिसको स्वतन्त्रताको हनन हुन्छ ।

किन हिलो माटोः
थारु समुदाय आदिम समुदाय हो भनेर सबैले स्वीकारेको विषय हो । जब पृथ्वीमा रंगको उत्पत्ति भएको थिएन । त्यतिबेला यही धुलो र माटो, पानीमात्रै थियो । रंगको अविस्कार भएको थिएन । त्यतिबेलादेखि होली पर्व मनाउँदा आदिबासीथारुले यिनै माटो, धुलो र पानीको प्रयोग गर्थे । त्यतिबेलादेखि यी रंग विनाको होली पर्व मनाउने प्रचलन रहीआएकाले पनि रंग र अविरको होलीभन्दा पहिलो दिन थारुले माटो, धुला, पानी र खरानीले होली खेल्छन् । यो विगतको परम्परा हो । तर त्यसलाई सभ्यरुपमा मनोरन्जन बनाउनेगरी खेल्न सक्नुपर्छ । कसैलाई जोरजवर्जस्ती गर्नु हुँदैन । इच्छाविपरित कसैलाई पनि होली खेलाउने, पानी छ्याप्ने, हिलो लगाउने गर्नु हुँदैन । होली पर्व रंगको पर्व हो भने यसलाई त्यहीअनुसारको रंगीन र मनोरन्जनपूर्ण बनाउनुपर्छ । यसो गर्नाले एकअर्कामा थप सदभाव र प्रेममा बढोत्तरी हुन्छ ।



