नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताले गरे तोडफोड

तोडफोडप्रति एमालेको गम्भीर आपत्ति


Makune

काठमाडौं, मंसिर ४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको रौतहटको गौरस्थित घरमा मधेसी मोर्चा सम्बद्ध व्यक्तिबाट शुक्रबार भएको आक्रमण र तोडफोडको सो पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

पूर्व प्रधानमन्त्री नेपालको घरमा शुक्रबार दिउँसो गौर नगरपालिका ३, स्थित पुख्र्यौलीघरमा आन्दोलनका क्रममा मोर्चा सम्बद्ध कार्यकर्ताले घरमा तोडफोड गरेको पार्टीले बताएको छ । आक्रमणले घरको शीशा तथा गेटमा क्षति भएको पार्टीले जनाएको छ । घरमा कोही नभएको सुनसान घरमा आक्रमण भएको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।

“तोडफोडजस्तो व्यवहार र रवैया अविलम्ब नियन्त्रण गर्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई समयमै सचेत गराउन चाहन्छ” भन्नुहुँदै एमाले केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आन्दोलनले आफ्नो संयम् र विवेक गुमाउनु गम्भीर विषय भएको बताउनुभयो ।

“राजनीतिक नेतृत्व तहका वरिष्ठ नेताको घरमा आक्रमण वा तोडफोड गरेर कुनै समस्या समाधान हुन सक्दैन” भन्नुहुँदै सचिव ज्ञवालीद्वारा प्रेसित विज्ञप्तीमा भनिएको छ, यस्तो व्यवहारले परिस्थितिलाई झन् खराव र नाजुक बनाउने निश्चित् छ । मधेस केन्द्रित दलका नेताहरुलाई यस्ता क्रियाकलापलाई तुरुन्त नियन्त्रण गर्न उहाँले आग्रह गर्नुभयो । विद्यमान समस्या समाधानका लागि वार्ता, संवाद र समझदारी बाहेक अर्को उपयुक्त विकल्प नरहेको उहाँले विज्ञप्तीमा चर्चा गर्नुभएको छ ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार घरमा कोही नभएको बेला तोडफोड भएको हो । घर रेखदेखका लागि एकजना भाइ घरमा बस्दैआएका थिए । यसअघि घर भाडामा दिइएको भएपनि अहिले घर खालि थियो ।

तपाईको प्रतिक्रिया