
लक्की चौधरी
काठमाडौं, फागुन २० गते । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिन सोमबार सवा तीनबजे नेपाल पुग्दैछन् ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री अब्बासी ३ः१५ बजे ३० सदस्यीय प्रतिनिधि टोलीको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । आफ्नै निजी एयरक्राफ्टबाट नेपाल आउन लागेका अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तयभएको मन्त्रालयका शिष्टाचार महापाल दिपक अधिकारीले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार विमानस्थलबाट प्रधानमन्त्री अब्बासी सिधै टुँडीखेलको सैनिकमञ्चमा प्रस्थान गर्नेछन् । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली सेनाको एक तुकडीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले त्यहाँ पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई औपचारिकरुपमा स्वागत गर्नेछन् ।
दुवै प्रधानमन्त्रीबीच आफ्ना प्रतिनिधिसहितको भेटवार्ता होटल याक एण्ड यतिमा साँझ ६ बजे तय गरिएको छ । करिब एक घण्टासम्म दुवै प्रधानमन्त्रीबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए । भेटवार्ता लगत्तै प्रधानमन्त्री अब्बासीको टोलीको विशेष स्वागतमा प्रधानमन्त्री ओलीले सोही स्थानमा रात्रीभोजको आयोजना गर्नेछन् । रात्रीभोजपछि पहिलो दिन (सोमबार) को कार्यक्रम सम्पन्न हुनेछ ।
प्रधानमन्त्रीमा ओली दोस्रो पटक नियुक्त भएपछि उनलाई औपचारिकरुपमा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री आउँदैछन् ।
प्रधानमन्त्रीमा ओली दोस्रो पटक नियुक्त भएपछि उनलाई औपचारिकरुपमा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री आउँदैछन् । यसअघि कुनै नेपाली प्रधानमन्त्रीलाई छिमेकीमुलुकको प्रधानमन्त्रीले भेटेरै बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएको उदाहरण छैन ।
नेपाल बसाईको दोस्रो दिन मंगलबार पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल अधिकारीकाअनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अब्बासीबीच १० बजे शितलनिवासमा भेटवार्ता हुनेछ । करिब आधा घण्टाको भेटवार्तापछि प्रधानमन्त्री अब्बासी शितलनिवासबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्कने छन् ।
प्रधानमन्त्री अब्बासी मंगलबार विहान ११ बजे आफ्नो निजी विमानबाट स्वदेश फर्कने कार्यक्रम रहेको शिष्टाचार महापाल अधिकारीले बताए । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालकाअनुसार अब्बासी नेपालमा रहँदा दुवै प्रधानमन्त्रीबीच दुई देशवीचको सम्बन्धका विषयमा छलफल हुनेछ ।
भेटकाक्रममा दुवै प्रधानमन्त्रीबीच रोकिएको सार्क सम्मेलनको विषयमा पनि छलफल हुने बताइएको छ । हाल नेपाल सार्क राष्ट्रको अध्यक्षको नाताले सार्क बैठकबारेमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले चासो राख्न सक्नेछन् । भारत र पाकिस्तानबीचको तिक्तताकाकारण सार्क बैठकबारे निर्णय हुन सकिरहेको छैन । सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमा गर्ने यसअघिको बैठकले निर्णय गरेको थियो ।




