
काठमाडौं, फागुन २० गते । संघीय संसदको पहिलो बैठकअघि आइतबार प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्टिय सभाका ५९ मध्ये ५५ जना सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा भएको शपथ ग्रहण कार्यक्रममा रेशम चौधरीसहित चारजना प्रतिनिधिसभाका सदस्य अनुपस्थित रहे । अनुपस्थित सांसदमा माओवादी केन्द्रका टोपबहादुर रायमाझी, धर्मशिला चापागाई र राजपाका महेन्द्र राय यादव र चौधरी छन् ।
माओवादी केन्द्रका सांसद रायमाझीको बुवाको निधनका कारण उपस्थित भएनन् । यादव विसन्चोका कारण उपस्थित नभएको बताएका छन् । तर चौधरीले निर्वाचित प्रमाणपत्रसमेत पाएका छैनन् । पुर्पक्षकालागि थुनामा रहेका चौधरीले शपथ लिन चाहँदाचाहँदै शपथ लिन नपाएका हुन् ।

टीकापुर घटनामा संलग्न रहेको अभियोगमा अहिले सांसद चौधरी पुर्पक्षका लागि कैलाली कारागारमा छन् । थुनामा भएकाकारण उनले सपथ ग्रहण समारोहमा सहभागी हुन पाएनन् ।
त्यस्तै, राष्टियसभाका सदस्य रमेशप्रसाद यादवसहित राष्टपतिबाट मनोनित गरी चारजना सांसदले शपथ लिन पाएनन् । सरकारको सिफारिसमा मनोनित सांसदहरु डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई सर्वोच्चले अहिले शपथ नगराउन अन्तरिम आदेश गरेको थियो ।

संसद बैठक रोक्ने चेतावनी
रेशम चौधरीलाई प्रमाणपत्र उपलब्ध गराई शपथको व्यवस्था नगरे प्रदेश ७ को प्रदेश संसद बैठक चल्ने नदिने राजपाका सांसदहरुको चेतावनी छ । राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेश सांसद कृष्ण चौधरीले प्रतिनिधि सभा सांसद चौधरीलाई शपथ ग्रहण नगराए फागुन २२ मा बस्ने प्रदेश ७ को संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
आइतबार बसेको प्रदेश संसद बैठकमा बिशेष समय मागेर बोल्दै चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले निर्वाचित सांसद चौधरीलाई प्रमाणपत्र र शपथ ग्रहण गराउने वातावरण मिलाउन अनुरोध गरे ।
थारु समुदायलाई राज्यले विभेद कायमै राखेको आरोप लगाउँदै उनले शपथ ग्रहणको वातावरण नमिलाए आगामी प्रदेश संसद अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।




