संघीय संसदको पहिलो बैठक आजबाट, अन्तरिम कार्यविधि पारित गर्ने


काठमाडौं, फागुन २१ गते । संघीय संसद्को पहिलो अधिवेशनको पहिलो बैठक आज सोमबारदेखि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक बस्दैछ । बैठकको तयारी पूरा भएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्को निर्वाचन सम्पन्न भएको तीन महिनापछि अधिवेशन सुरु हुन लागेको हो। निर्वाचित सांसदहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिरमा नै सम्पन्न भए पनि राष्ट्रियसभा सदस्य निर्वाचन माघ २४ मा मात्र सम्पन्न भएको थियो। फागुन ३ मा नयाँ प्रधानमन्त्री चयन भएसँगै फागुन ८ मै राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद अधिवेशन आह्वान गरिएको थियो।

चालू अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि पदाधिकारी चयनसम्मका महत्वपूर्ण कार्यसूची छन्। अपराह्न बस्ने बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बस्नेछ।

चालू अधिवेशनमा प्रधानमन्त्रीले विश्वासको मत लिनेदेखि पदाधिकारी चयनसम्मका महत्वपूर्ण कार्यसूची छन्। अपराह्न बस्ने बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बस्नेछ।

आजको पहिलो बैठकमा ज्येष्ठ सदस्यबाट राष्ट्रपतिले अधिवेशन आह्वानकालागि गरेको पत्राचार पढेर सुनाइनेछ। यस्तै, राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री चयन तथा मन्त्रीको कार्यविभाजन सम्वन्धी पत्र पनि सदनको जानकारीका लागि वाचन गरिनेछ।

पहिलो बैठकले संसद्को कार्यसञ्चालनका लागि अन्तरिम कार्यविधि ०७४ पारित गर्नेछ। स्थायी नियमावली नबनेसम्म अन्तरिम कार्यविधिबाटै बैठक सञ्चालन हुनेछन्।

यस्तै, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने अध्यक्ष मण्डल पनि आजै चयन गर्ने कार्यसूची तय भएको छ। बैठकमा प्रतिनिधिसभाको अन्तरिम कार्यविधि ०७४ को दफा ६(१) अनुसार प्रतिनिधिसभाका सभामुख चयनको औपचारिक मिति तोकिनेछ।

यस्तै संसदको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने तयारी छ । सोमबारको बैठकमा सबैदलका प्रतिनिधिले सम्बोधन गर्न नभ्याउने भएकाले मंगलबार  बैठक बस्ने भएको हो । दलका प्रतिनिधिले सम्बोधन गर्ने छन् ।

तपाईको प्रतिक्रिया