राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय


लक्की चौधरी
काठमाडौं, फागुन २३ गते । नेकपा (एमाले) ले २९ गते हुने राष्ट्रपति निर्वाचनकालागि पुनः विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । बुधबार निर्वाचनकालागि मनोनयन दर्ता गर्ने समयतालिका भएपछि एमालेले मध्ये रातीसम्म बैठकबसी सो नाममा सहमति जुटाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजेदेखि साढे १२ बजेसम्मको डिनरसहितको बैठकमा नेताहरुको लामो संवाद र छलफल चलेको थियो । पार्टीका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माकाअनुसार लामो कसरतपछि पुनः भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति जुटेको हो ।

राष्ट्रपतिका लागि वरिष्ठ नेता झलनाथ खनालले दावी गर्नुभएपछि पार्टीका नेताहरु दुई खेमामा विभाजित भएका थिए । संस्थापन पक्षले पुनः भण्डारीलाई नै राष्ट्रपतिमा दोहो¥याउने प्रस्ताव गरेको थियो । तर नेता माधवकुमार नेपाल पक्ष र खनालपक्षका नेताहरुले नयाँलाई अवसर दिनुपर्ने अडान राख्दैआएका थिए । पार्टीको निर्णयलाई एकतावद्ध बनाउन पनि सर्वसहमतिको निर्णय गर्नुपर्ने आवश्यकता भएकाले अन्ततः सहमति जुटेको नेता विश्वकर्माले बताउनुभयो ।

पार्टीका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माकाअनुसार लामो कसरतपछि पुनः भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति जुटेको हो ।

स्थायी कमिटी बैठकमा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नामले समेत वैकल्पिक उम्मेदवारको चर्चा पाएको एक नेताले बताउनुभयो । अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै राष्ट्रपतिमा भण्डारीलाई दोहो¥याउने प्रस्ताव गर्नुभएको थियो । तर वरिष्ठ नेता खनालले इच्छा व्यक्त गर्दै अडान राख्नुभएपछि विकल्पमा नेम्वाङ्को नाममा समेत छलफल चलेको थियो ।

राष्ट्रपतिको निर्वाचनकालागि बुधबार विहान १० बजेदेखि अपरान्ह २ बजेसम्म उम्मेदवार दर्ता गर्ने समय तोकिएको छ । त्यस्तै, २९ गते विहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचन आयोगले यसअघि नै संघीय संसद सचिवालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको थियो । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गरेको थियो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालकाअनुसार राष्ट्रपति निर्वाचनकालागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यगरी कुल ८८० जना मतदाता रहने छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीनजना सदस्यको नाममा सर्वोच्चले अन्तरिम आदेश दिएकाले ती तीनजना सदस्य र प्रदेशसभाका सदस्य राजीव गुरुङको नाम मतदाता नामावलीमा समावेश नगरिएको आयोगले जनाएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपतिको निर्वाचन हुनेछ । यसअघि कांग्रेसबाट डा. रामवरण यादव र एमालेबाट विद्यादेवी भण्डारीले राष्ट्रपतिको भूमिका निर्वाह गरिसक्नुभएको छ । संघीय संसदमा पहिलो पटक राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।

सोहीअनुसार प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले राष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न बुधबार विहान ९ बजेकालागि बैठक आव्हान गरेको छ ।

नेपाललाई जन्मदिनको शुभकामना
स्थायी कमिटीको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको ६५ औं जन्मोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले आफ्नै हातले केक काटेर नेता नेपाललाई खुवाउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेता नेपाललाई फूलको बुके प्रदान गरेर उहाँको दीघार्यूको कामना पनि गर्नुभयो । नेता नेपालले प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यलाई धन्यवाद दिनुहुँदै आफ्नो जन्मोत्सवको केक खुवाउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठकमा नेता नेपाललाई जन्मदिनको अवसरमा पार्टीका नेताहरुले शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया