नेता तथा लेखक वामदेव गौतमको नेपाल नवनिर्माण महाअभियान यात्रा

पुस्तक समिक्षा


पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले आफ्नो आठौं पुस्तक बजारमा भर्खर ल्याउनुभएको छ । मुलुकको आर्थिक समृद्धि र त्यसको योजनामा केन्द्रीत पुस्तकले नेपालको नवनिर्माण महाअभियानको यात्राको पाइलालाई बुँदागतरुपमा प्रस्तुत गरेको छ । मुलुकले राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको दिशा तय गर्न लागेकाबेला गौतमले लेख्नुभएको यो पुस्तक नेपालको भावी आर्थिक समृद्धिको सिंढी बन्ने आधार बोकेको छ ।

२००५ साल असार २८ गते प्यूठानको दाखाक्वाडीमा जन्मनुभएका नेता गौतमले यसअघि ७ वटा पुस्तक प्रकाशन गर्नुभएको छ । नेपाली क्रान्तिको व्यवहारमा विकसित सिद्धान्त जनताको बहुदलीय जनवाद (२०५३), नेपालको दीर्घकालिन राजनीतिक–आर्थिक विकास सम्बन्धी अवधारणा (२०५९), कम्युनिष्ट पार्टी निर्माण सम्बन्धी आधारभूत प्रस्थापना (२०६७), जनताको बहुदलीय जनवाद र ऐतिहासिक कार्यभार (२०६७), फरक मत (२०६७), आज नेकपा (एमाले) को मार्गदिशा (२०७१) र मेरो गीतियात्रा (२०७२) नेता गौतमका प्रकाशित कृति हुन् ।

कछुवा गतिले होइन, फड्को मारेर हिँड्ने कङ्गारु तालले नेपालको नवनिर्माण महाअभियान सम्पन्न गर्नुपर्छ” पुस्तकको मुख्य ध्येय देखिन्छ ।

पछिल्लो पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’ ले मुलुकको विकासको गहन चिन्तन र उपाय सुझाएको छ । एक सम्पन्न र समृद्ध नेपाल निर्माण गर्ने अठोट लिएको यस पुस्तकले नीति निर्मातादेखि युवापीढिलाई समेत विकास निर्माणको महाअभियानमा लाग्न उत्प्रेरित गर्ने प्रयास गरेको छ ।

राज्य प्रशासनको उच्चतम तहको जिम्मेवारी निर्वाह गरिसक्नुभएका लेखक गौतमले हिजोको कठिन भूमिगत जीवन र कार्यक्रमिक संकल्पदेखि आजको राजनीतिक परिवर्तन पछिको निर्णायक तहसम्मको भूमिका निर्वाह गरिसक्नुभएको छ । अर्थात् उहाँ राजनीतिकरुपमा सफल व्यक्तित्व त हो नै, आर्थिक समृद्धि कायम गर्ने विषयमा समेत पोख्त देखिनुभएको छ । “प्रधान अन्तरविरोध पछाडि परेको उत्पादन सम्बन्ध र अगाडि बढेको जनताको चाहनाबीच रहेको छ, यसको समाधान आजको समृद्धि हो । त्यसकालागि कछुवा गतिले होइन, फड्को मारेर हिँड्ने कङ्गारु तालले नेपालको नवनिर्माण महाअभियान सम्पन्न गर्नुपर्छ” पुस्तकको मुख्य ध्येय देखिन्छ ।

“समुद्र र जमिनको सानो भागबाहेक अरु प्राकृतिक स्रोत नभएको सिङ्गापुरले विकसित देशको तहमा आफूलाई पु¥याउन सक्दछ भने पर्याप्त प्राकृतिक स्रोत भएको नेपालले किन विकास गर्न सक्दैन” पुस्तकले वहस उठाएको छ । हामीसँग समुद्र छैन तर जलस्रोतको अथाह भण्डार   छ । भूपरिवेष्ठित छौं तर छिमेकी देशमा अथाह बजार उपलब्ध हुनसक्ने अवस्था छ । हामीसँग पर्याप्त खेतीयोग्य उर्वरभूमि छ । प्रशस्त जंगल छ । पर्यटनकालागि अनेक मनोरम क्षेत्र छन् । तराईको भूभाग हाम्रो खाद्यान्न भण्डार हो । यी सबैको तारतम्य मिलाएर अगाडि बढ्ने हो भने हामीले एक दशकमै नेपालको कायापलट गर्न सक्छौं लेखक गौतमले पुस्तकमा आशा देखाउनुभएको छ ।

सीमित स्रोतसाधन भएका मुलुकले पनि व्यवस्थित योजनाअनुसार काम गरेर आश्चर्यजनक प्रगति गरेका उदाहरण हामीले देखेका छौं । हजारौं वर्षदेखि मरुभूमिको पीडा खेप्दैआएका अरवका देशले खनिज तेल र समुद्री व्यापार आदिजस्ता सीमित स्रोतसाधनको क्षेत्रमा व्यवस्थित योजनाअनसार काम गर्दा छोटै समयमा ठूलो प्रगति गरेको हामीले देखेका छौं । ती देशले आफ्ना जनतामात्र होइन विदेशी नागरिकलाई समेत ठूलो मात्रामा रोजगारी दिन सफल छन् । इजराइल र मलेसियाजस्ता देश अहिले राष्ट्रिय उन्नतिको दृष्टिले विश्वस्तरमा चर्चा कमाएका छन् । नेपाल प्राकृतिक स्रोतसाधनले समृद्ध देश हो । कृषि, वन, वनौषधि, जलस्रोत, खनिज सम्पदा, जैविक विविधता आदिको प्रचुर सम्भावना छ । यसको सदुपयोगले नेपाललाई समृद्ध गर्न सकिने सुझाव पुस्तकले दिएको छ । २६८+२० पृष्ठको यस पुस्तकमा ६ वटा खण्डमा विभाजित गरेर लेखकले पुस्तक तयार गर्नुभएको छ । विकासप्रेमी र आर्थिक समृद्धि चाहने पाठककालागि पुस्तक पठनीय र संग्रहणीय छ ।

इजराइल र मलेसियाजस्ता देश अहिले राष्ट्रिय उन्नतिको दृष्टिले विश्वस्तरमा चर्चा कमाएका छन् । नेपाल प्राकृतिक स्रोतसाधनले समृद्ध देश हो । कृषि, वन, वनौषधि, जलस्रोत, खनिज सम्पदा, जैविक विविधता आदिको प्रचुर सम्भावना छ ।

पुस्तकमा नेता गौतमले संघीयतालाई मुलुकको आवश्यकताभन्दा पर राख्नुभएको छ । अर्थात् मुलुकको समृद्धिकालागि संघीयतालाई बाधक ठान्नुभएको छ । जुन अहिलेको सन्दर्भमा त्यति मेल खाने लाग्दैन । जनताले निकै संघर्ष गरेर प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो, त्यसलाई त्यहीरुपमा बुझ्न आवश्यक छ । अब मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामा गइसकेकाले पुनः पछाडि फर्किन सक्ने अवस्था छैन । तर पुस्तकले आर्थिक समृद्धिका सबै विषयलाई सकारात्मक ढंगले उठाउँदा उठाउँदै संघीय प्रणालीलाई अपजशकोरुपमा प्रस्तुत गर्दा पाठकको मनमा अमिलोपन महशुस गराउन सक्छ । बाँकी विषयवस्तुले पुस्तक संग्रहणीय सावित भएको छ ।

पुस्तकः नेपाल नवनिर्माण महाअभियान
लेखकः वामदेव गौतम
मूल्यः ४००
प्रथम संस्करणः २०७४ पुस ।
प्रकाशकः बुकमार्ट पोखरा प्रा.लि.

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया