
काठमाडौं, फागुन २६ गते । फागुन २० गतेदेखि धनगढी कारागारभित्र आमशरण अनसन शुरुगरेका रेशम चौधरीको स्वास्थ्यअवस्था प्रतिकुल भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनमा थप उपचारकालागि उनलाई शनिबार काठमाडौं ल्याइएको छ । चौधरीको वीर अस्पतालमा उपचार भइरहेको छ ।
२०७२ भाद्र ७ गते भएको कैलालीको टीकापुर काण्डका मुख्य अभियुक्तको आरोप खेपेका चौधरीलाई धनगढीबाट युबद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइएको हो। राजपाका नेताहरुले शनिबार विहान गृहमन्त्री थापासँग छलफल गरी चौधरीको उपचारको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलकाअनुसार चौधरीलाई एयरपोर्टबाट सिधैँ वीर अस्पतालमा भर्ना गरिएको छ । टीकापुर घटना पछि फरार रहेका चौधरी फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसअघि उनी भारत बस्दै आएका थिए।
आत्मसर्पण गरेका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाएको थियो। थुनामा रहँदा चौधरीले अनसन सुरुगरेपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । रेशमसँगै कारागारमा रहेका अन्य राजबन्दीले पनि आमरण अनसन शुरु गरेका छन् । उनीहरुको स्वास्थ्य अवस्था पनि चिन्ताजनक रहेको छ ।

भारतमै रहेर राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए । तर उनी अहिलेसम्म विजयी प्रमाणपत्र पाएका छैनन ।
रेशम चौधरीसहित लक्ष्मण थारु, लाहुराम चौधरी, विश्राम चौधरीलगायतले कारागारभित्र अनसन बसेपछि स्वास्थ्यअवस्थामा प्रतिकुलता देखिएपछि सेती अञ्चल अस्पतालमा उपचारकालागि भर्ना गरिएको थियो । रेशम चौधरी वेहोस भएपछि थप उपचारकालागि काठमाडौं ल्याइएको हो ।
टीकापुर घटनाको आरोपमा लगाइएका झुठा मुद्दा खारेज हुनुपर्ने, रेशम चौधरीलाई विजयी प्रमाणपत्र प्रदान गरी शपथ खुवाउनु पर्ने, पीडितलाई क्षतिपूर्ति प्रदान गर्नुपर्ने मागसहित राजबन्दीहरुले अनसन शुरुगरेका थिए ।




