
काठमाडौं, फागुन २७ गते । कैलालीको घोडाघोडी नगरपालिका–५ देउवकिलया गाउँमा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाहीगर्न जिल्ला प्रशाशन कार्यालयलाई सरकारले निर्देश गरेको छ ।
प्रधानमन्त्रीको सचिवालयले आइतबार प्रेसनोट जारी गर्दै त्यस्तो निर्देश गरेको हो । घटना घटेको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
हालसम्म प्राप्त विवरणअनुसार फागुन २४ गते बिहिबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको खवर बाहिर आएको थियो ।
स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारकालागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाहीगर्न सम्बन्धित निकाय अग्रसर भैसकेको सरकारले बताएको छ ।
प्रहरीले निज रामबहादुर चौधरीलाई छानबिनकालागि पक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जान नदिई उनलाई छोडिएको जानकारी प्राप्त भएको छ । मानवताविरुद्धको यस्तो जघन्य अपराधमा संलग्न जो कसैलाई पनि उन्मुक्ति हुन सक्दैन र दिइनेछैन प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारकालागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाहीगर्न सम्बन्धित निकाय अग्रसर भैसकेको सरकारले बताएको छ ।
नेपाल लगायत विश्वले अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्धविश्वास र कुरीतिको जरा समाजको तल्लोतहमा फैलिएको प्रष्ट भएको छ । यस घटनाले आधुनिक मानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्ता आपराधिक घटना भविश्यमा दोहोरिन नदिन जनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपन जस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वित हुनखोज्ने गतिविधिलाई कठोरताकासाथ रोक्न जरुरी रहेको उल्लेख गरिएको छ । अन्धविश्वासविरुद्ध लड्न र तिनलाई निर्मूल पार्न सरकारलाई सधैं सबै नागरिकको सहयोग प्राप्तहुने अपेक्षागर्दछौं प्रधानमन्त्रीका सूचना प्रेषक रामशरण बजगाईले भन्नुभएको छ ।




