मोर्चा सम्बद्ध दलले संयुक्त जनप्रदर्शन गर्ने


काठमाडौं, मंसिर ५ गते । संघीय गठबन्धन दलहरुले मंसिर ७ देखि २७ गतेसम्म तराईभर विभिन्न १२ स्थानमा जनप्रदर्शनसहितको दवावसभा आयोजना गर्ने निर्णय गरेको छ ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा शनिबार बसेको गठबन्धनको बैठकले त्यस्तो निर्णय गर्दै आन्दोलन शुरुगरेको एकसय दिन पुगेकोमा आन्दोलनका क्रममा सहादत्त प्राप्तहरुको स्मरणमा श्रद्धाञ्जलिसभा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।
गठबन्धनले घोषणा गरेको कार्यक्रममा मंसिर ७ गते काठमाडौंको माइतीघर मण्डलामा १ बजे मौनधारण र श्रद्धान्जलि सभा आयोजना गर्ने, मंसिर ११ गते सुनसरीको इटहरीमा जनप्रदर्शन र सभा, मंसिर १३ गते मोरङ्को विराटनगर, १६ गते धनुषाको ढल्केबर, १७ गते सर्लाहीको लालबन्दी, १८ गते बाराको निजगढ, १९ गते मकवानपुरको हेटौडा, २० गते नवलपरासी, २१ गते रुपन्देही, २२ गते दाङ, २४ गते कैलालीको अत्तरिया र मंसिर २७ गते काठमाडौंमा संयुक्त जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।
गठबन्धनले जनसंख्याको आधारमा समानुपातिक समावेशीता, स्वायत्तता तथा स्वशासनका लागि दवावमूलक कार्यक्रमहरु संयक्तरुपमा जारीराख्ने निर्णय गरेको छ । गठबन्धनमा संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना पार्टी, तमसपा नेपाल, संघीय लिम्बुवान पार्टी नेपाल, थरुहट तराई पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी, संघीय गणतान्त्रिक जनमुक्ति पार्टी, आदिबासी जनजाति पार्टी नेपाल आवद्ध छन् ।

तपाईको प्रतिक्रिया