
काठमाडौं, चैत १० गते । सिहंदरवारलाई हरियालीयुक्त र सफा बनाउने उद्देश्यसाथ शुक्रबारदेखि सिंहदरवारमा सरसफाई अभियान शुरु गरिएको छ । सरसफाई अभियानको नेतृत्व मुख्यसचिव लोकदर्शन रेग्मीले गरेका थिए ।
सधैं कुर्सीमा बसेर फाइल पल्टाउनमै व्यस्त रहने कर्मचारीहरु सबैले हातमा झाडु लिएर सरसफाईमा उत्रेका थिए । सरसफाईमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार बिष्णु रिमालले झाडु लगाउँदै अभियानलाई निरन्तरता दिन कर्मचारीहरुलाई आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सो अभियान सञ्चालन गरिएको र आगामी दिनमा जारी राख्ने प्रधानमन्त्री कार्यालयका अधिकृत गोपालप्रसाद दाहालले बताए ।
सरसफाईमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार बिष्णु रिमालले झाडु लगाउँदै अभियानलाई निरन्तरता दिन कर्मचारीहरुलाई आग्रह गरे ।
सरसफाई अभियानमा करिव तीनसय जना कर्मचारीको सक्रिय सहभागिता रहेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पुरानो भवनबाट सुरु गरिएको सरसफाई, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परिसर, सामान्य प्रशासन मन्त्रालयको परिसर, सडक किनारमा सरसफाई गरिएको दाहालले बताए ।
अधिकृत दाहालले सिंहदरवारमा छ्यापछ्याप्ती रहेका छाडा कुकुरको पनि व्यवस्थापन गरिने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको पहलमा गरिएको सरसफाई अभियानमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उच्च पदस्थ कर्मचारीहरु, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सिहंदरवार सुरक्षामा रहेका नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका केन्द्रिय अध्यक्ष पुण्य ढकालसहित पदाधिकारीहरुको सरसफाईमा सहभागिता थियो ।




