२०७५ मा १२ वटा सरकारी विदा काटियो, वर्षभरी ८९ दिन सार्वजनिक विदा हुने


लक्की चौधरी
काठमाडौं, चैत १५ गते । सरकारले आगामी आर्थिक वर्षमा १२ दिन कम सरकारी विदा दिनेगरी सरकारी विदाको कटौती गर्ने निर्णय गरेको  छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारलाई बैठकबारे जानकारी दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले २०७५ सालमा सरकारी विदा कटौती गर्ने निर्णय भएको बताउनुभयो । यसअघि दिंदैआएको सरकारी विदाभन्दा १२ दिनको सरकारी विदा कटौती गर्ने निर्णय भएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा सरकारले कुल ८९ दिन सरकारी विदा दिने निर्णय गरेको छ ।

राज्यमन्त्री बाँस्कोटाकाअनुुसार सम्बन्धित धर्मालम्बीकालागि २२ दिन र सबैकालागि ६७ दिन विदा दिइने छ । अहिलेसम्म करिब वर्षभरीमा १०४ दिन सरकारी विदा दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यसअघि दिंदैआएको सरकारी विदाभन्दा १२ दिनको सरकारी विदा कटौती गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

सोहीअनुसार मन्त्रिपरिषदको बैठकले जापान सरकारले वस्तु तथा सेवा प्रवाहमा गर्ने सहयोग स्वीकृत गरेको राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो । नेपालको आर्थिक तथा समाजिक विकासकालागि जापान सरकारले ६८ करोड ६० लाख रुपैयाँ सहयोग गर्नेभएको छ ।

त्यस्तै बैठकले विशिष्ट श्रेणी सेवा सुविधाकालागि दुईजना चिकित्सक नियुक्त गर्ने निर्णय गरेको छ । निर्णयअनुसार डा. विद्यासिंह शाह र डा. दिलिप शर्मालाई नियुक्त गर्ने निर्णय भएको हो । सोहीअनुसार सरकारका दुईजना मन्त्रीको विदेश भ्रमणको स्वीकृति बैठकले प्रदान गरेको    छ ।

राज्यमन्त्री बाँस्कोटाकाअनुसार उर्जा, जलश्रोत र सिंचाईमन्त्री वर्षमान पुन अजरवैजानको भ्रमणमा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली थाइल्याण्डको भ्रमणमा जानुहुनेछ । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा भने छलफल नभएको राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो । बैठकले विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीको संघीय संसदमा हुने सम्बोधनको विषयमा पनि छलफल गरेको राज्यमन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

त्यस्तै, प्रदेश तथा स्थानीय तहको कानून निर्माण गर्ने जिम्मा कानून मन्त्रालयलाई दिने निर्णय बैठकले गरेको छ । सोहीअनुसार मन्त्रिपरिषद बैठकले संघीय, प्रदेश र स्थानीय सरकारमा रहने कर्मचारीको दरबन्दी स्वीकृत गरेको राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो ।

उहाँकाअनुसार जिल्ला समन्वय समितिसहित ८३० स्थानीय तहमा श्रेणीबाहेक ५७ हजार ३५४ कर्मचारीको दरवन्दी कायम गरिएको छ । मन्त्रालयहरुमा यसअघि ३२६० कर्मचारीको दरवन्दी कायम गरिएको थियो । अब कटौती गरेर २६५४ कर्मचारी मात्र रहने छन् ।

कुन कुन विदा काटियो?
सरकारले २०७५ मा वैशाख ११ को लोकतन्त्र दिवस, जेठ १५ को गणतन्त्र दिवस, माघ १६ को शहिद दिवस, भदौ १० को जनै पूर्णिमा, पुस २७ को राष्ट्रिय एकता दिवस, भाद्र १७ को कृष्णजन्माष्टमी, भाद्र २७ को ऋषि पञ्चमी, असोज २४ को घटस्थापना, कात्तिक ४ को द्वादसी, कात्तिक ६ को कोजाग्रत पूर्णिमा, चैत ३० को रामनवमी विदा कटौती गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया