
लक्की चौधरी
काठमाडौं, चैत १९ गते । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडकखण्डका स्थानीयहरुले सोमबार भौतिक योजना तथा निर्माण मन्त्रालयमा गई ज्ञापनपत्र बुझाउँदै आक्रोश सुनाएका हुन् ।
मन्त्री रघुवीर महासेठले स्थानीयको गुनासो सुनेर अव काममा ढिलाईको कुनै बहाना सह्य नगर्ने प्रतिवद्धता जनाए । “यो वा त्यो बहानामा सडक निर्माण कार्य अब रोकिदैन, मैले वैशाख ७ सम्मको ठेकेदारलाई अल्टिमेटम दिएको छुँ, सो अवधिमा परिणाम नदेखि कारवाही गर्छु” मन्त्री महासेठले प्रतिवद्धता जनाए ।
आफू मन्त्रीको जिम्मेवारीमा आएपछि सो सडकखण्ड निर्माण कार्यको अनुगमन गरेको बताउँदै मन्त्री महासेठले यसअघि जेजस्तो ढिलासुस्ती भयो, अब हामी कुनै बहानामा कसैलाई छुट दिने पक्षमा छैनौं उनले भने । “वैशाख २० गतेभित्र भत्काउन बाँकी घरहरु भत्काउने र सोभन्दा अघि भत्केको ठाउँमा सडक कालोपत्रे गर्न निर्देशन दिएको छुँ” मन्त्री महासेठले भने, “मन्दिरको नाममा, माथिको शक्तिको आडमा अब कसैलाई छुट दिइँदैन, मलाई रिजल्ट चाहिन्छ ।”

भत्केको घरको सरकारले नियमाअनुसार मुआव्जा र क्षतिपूर्ति प्रदान गर्ने भन्दै उनले त्यसको ग्यारेन्टी आपूmले बस्ने प्रतिवद्धता जनाए । मन्त्री महासेठ चैत २१ गते स्थानीयसँग छलफल गर्न सो सडक खण्डको भिजिटमा जाने बताए । “जहाँ समस्या छ, त्यहीबाट समाधानको काम शुरु गर्छु, स्थानीयको कुरा सुनेर त्यसपछि नियमाअनुसार एक्सन लिन्छु” मन्त्री महासेठले स्थानीयलाई आश्वस्त पार्ने प्रयास गरे ।
सो अवसरमा काठमाडौं ९ का सांसद कृष्णगोपाल श्रेष्ठले सडक निर्माण कार्यमा ढिलासुस्तीले लाखौंको स्वास्थ्यअवस्थामा प्रतिकुल असर परिरहेको बताए । काठमाडौं भित्रिने र बाहिरिने मुख्यनाका भएकाले पनि निर्माण कार्यमा कुनै हालतमा ढिलाई सह्य नहुने उनले बताए । स्थानीयको तर्फबाट आफूले पनि सो कामकानिम्ति दिनरात खट्ने प्रतिवद्धता उनको छ ।
चन्द्रागिरी वडा नं. १५ का वडाअध्यक्ष उत्तमबहादुर राउतले ठेकेदारले सर्भे रिपोर्टअनुसार काम नगरी आफूखुशी गरेकाले समस्या आएको बताए । घर भत्केको ठाउँमा समेत कामले गति लिन नसकेको गुनासो गर्दै उनले सडक निर्माणको ढिलासुस्तीले स्थानीय सँगसँगै सो सडकभएर यात्रा गर्ने लाखौं नागरिक सास्ती भोगिरहेको चर्चा गरे । ज्ञापनपत्र बुझाउँदै उनले आफूहरुको माग सुनुवाई नभए दवावको कार्यक्रम लिएर सडकमा उत्रने मन्त्री महासेठको ध्यानाकर्षण गराए ।

सरकारले त्रिपुरेश्वर–नागढुंगा सडक (१२ किमि) निर्माणकालागि २०७२ साउनमा मुख्य ठेकेदार शारदाप्रसाद अधिकारी नेतृत्वको सैलुङ कन्स्ट्रक्सनलाई ३० महिने समय तोकेर ठेक्का दिएको थियो । करिब एक अर्व रुपैयाको लागतमा निर्माणकार्य भइरहेको सो सडक खण्डको निर्माणकार्य करिब ३० प्रतिशतमात्र सम्पन्न भएको स्थानीयहरुको भनाई छ ।
२०७४ माघमा ठेक्का समय सकिए पनि निर्माण कार्यमा प्रगति नदेखिएपछि स्थानीयहरु मन्त्री महासेठलाई भेटेर सोबारे गुनासो पोखेका हुन् । रकमको अभावले सडक निर्माणकार्यमा ढिलाई भएको होइन, ठेकेदारको लापरवाहीले ढिलाई भएको मन्त्री महासेठले भने ।
प्रतिनिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि टोलीले मन्त्री महासेठलाई सडक निर्माण कार्यमा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न माग गरेको छ । म्याद सकिदासमेत ठेकेदारलाई कारवाही नहुँदा ठेकेदारको आफूखुशी देखिएको भन्दै स्थानीयले काम देखाउन मन्त्री महासेठसँग आग्रह गरेका छन् ।
सो सडकखण्डमा पानी परेकाबेला हिलाम्य हुने र घाम लागेकाबेला धुलाम्य हुने समस्याले नागरिकहरु निकै सास्ती खेप्न बाध्य छन् । कलंकी–नागढुंगा (९ किमी) सडकमा सबैभन्दा समस्या भएको बताउँदै स्थानीयले कालीमाटी, सतुंगल, गर्जुधारामा घरहरु भत्काउन बाँकी रहेको भन्दै मन्त्री महासेठको ध्यानाकर्षण गराएका थिए ।
को हुन् ठेकेदार अधिकारी ?
कन्स्ट्रक्सनका मालिक ठेकेदार शारदाप्रसाद अधिकारी वाम शक्तिलाई मिलाउनेमध्येका एकजना व्यक्ति हुन् । उनकै घरमा अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेरा लिएर बसेका छन् । वाम दलका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पटक पटक उनको घरमा वार्ता भएको छ ।

त्यही शक्तिको आडमा अधिकारीले सडक निर्माण कार्यमा ढिलासुस्ती गरिरहेको आरोप स्थानीयको छ । तर मन्त्री महासेठले आफूले प्रधानमन्त्रीबाट स्पष्ट निर्देशन पाइसकेकाले अव शक्तिको आडमा ठेकेदारलाई कुनै बहानामा माफी नदिइने प्रतिवद्धता जनाए ।
ज्ञापनपत्र बुझाउन सो टोलीमा सांसद विणा श्रेष्ठ, प्रदेश ३ का सांसद केशव पोखरेल, वडा नं. १५ का वडा अध्यक्ष राउत, सदस्यहरु माधवकुमार केसी, कृपाल खडका, स्थानीयहरु राजभाइ महर्जन, राजु महत, गोपिचन्द्र कार्की, विकास श्रेष्ठ, ललिक महर्जन, अनन्त भण्डारी लगायत करिब २५ जनाको सहभागिता थियो ।




