सिकलसेलबारे अध्ययन गर्न थारु अगुवाको माग


images

काठमाडौं, मंसिर ४ गते । थारु समुदायलाई मात्र लाग्ने वंशानुगत रोगबारे सरकारी तवरबाट अध्ययन अनुसन्धान गर्न थारु समुदायका अगुवाहरुले सरकारसँग माग गरेका छन् ।
स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई शुक्रबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै कैलाली र कञ्चनपुरका थारु अगुवाहरुले संयुक्तरुपमा अनुसन्धानको माग गरेका हुन् । कैलाली र कञ्चनपुरका गरी सातवटा थारु संघ संस्थाहरुको तर्फबाट संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै थारु अगुवाहरुले सरकारी तवरबाट सो रोगबारे गम्भीरतापूर्वक अध्ययनको माग गरे ।
सिकलसेल एनिमिया रोगबारे अध्ययन अनुसन्धान गर्न छुट्टै यूनिटको गठन गरिनुपर्ने, रोगबाट बच्न थारु समुदाय बहुल क्षेत्रमा सरकारी तवरबाटै सचेतना कार्यक्रम सुचारु गरिनुपर्ने, सिकलसेलका विरामीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने, रोग परिक्षणका लागि हरेक जिल्ला अस्पतालमा आधुनिक मेशिनको व्यवस्था गरिनुपर्ने लगायतको माग थारु अगुवाहरुको छ ।
थारु नागरिक समाज कैलाली, सेती अञ्चल नेपाल औषधि व्यवसायी संघ, थारु कल्याणकारिणीसभा कैलाली, स्वास्थ्यकर्मी युनियन नेपाल, फोरम (लोकतान्त्रिक) कैलाली र कञ्चनपुर, पुनरबास पोलिक्लिनिक कञ्चनपुरका प्रतिनिधिले सिकलसेल एनिमिया रोग र त्यसको अध्ययनबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
स्वास्थ्यमन्त्री चौधरीले रोगबारे अध्ययन र अनुसन्धानको आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धता जनाए । संस्थाको तर्फबाट ज्ञापनपत्र बुझाउने प्रतिनिधि टोलीमा दिलबहादुर चौधरी, रोहित चौधरी, गयाप्रसाद कुश्मी, नरेश चौधरी, बासुदेव राना, पुष्कल चौधरी र धोखे राना लगायतको उपस्थिति थियो ।
थारुमा मात्र लाग्ने यो रोगबाट जनसंख्याको करिब ३० प्रतिशत थारु प्रभावित रहेको चिकित्सकहरुको दावी छ । तराईको कैलाली, कञ्चनपुर, वर्दिया, बाँके लगायतको जिल्लामा सिकलसेलका रोगी बढी देखिएका छन् । यो रोग लागेमा रक्त अल्पता हुने, रक्तकोष हसिया आकारको रुपलिने लक्षण देखिने गरेको चिकित्सकको भनाई छ ।
सरकारले सिकलसेल ऐनिमिया रोग लागेकालाई उपचारखर्च बापत एक लाख रुपिया सहयोग गर्दैआएको छ । तर थारु समुदायले रोगीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राख्दै आएका छन् ।

तपाईको प्रतिक्रिया