लेखक साहित्यकारकालागि लेखेर बाँच्नसक्ने आधार बनाउनुपर्छः मन्त्री पुन


काठमाडौं, चैत ३० गते । उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले राजनीतिक स्थायित्वपछि मुलुक आर्थिक समृद्धिको बाटो तय गरेकाले आगामी दिनमा साहित्यकार तथा लेखकलाई लेखेर बाँच्न पाउनेगरी आर्थिक व्यवस्थापन हुने बताउनु भएको छ ।

जीतबहादुर सिंजाली मगर साहित्यिक प्रतिष्ठानद्वारा स्थापित साहित्यिक पुरस्कार वितरण समारोहमा शुक्रबार यहाँ बोल्दै मन्त्री पुनले त्यस्तो बताउनुभयो । मुलुकको विकास भएपछि सबै क्षेत्रको आवश्यक विकास हुने र साहित्यिक क्षेत्रको विकासले पनि प्राथमिकता पाउने उहाँले चर्चा गर्नुभयो । “अहिलेसम्म साहित्यिकार तथा लेखकलाई लेखेर बाँच्न सक्ने अवस्था छैन, तर विश्वास गरौं भविष्यमा त्यसको समुचित वातावरण बन्छ” मन्त्री पुनले भन्नुभयो ।

सबै जाति समुदायको भाषा नै पहिचान र संस्कृतिको प्रमुख आधार भएको बताउँदै मन्त्री पुनले सबै भाषा र संस्कृतिको राज्यले सम्मान गर्नुको विकल्प नरहेको बताउनुभयो । मुलुक संघीयतामा गएपछि सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता संविधानले दिएकाले मातृभाषाले पनि अब सरकारी कामकाजको भाषाकोरुपमा ठाउँअनुसार प्रयोगमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नयाँ संविधानले लिएको बहुभाषिक नीतिकलाई अंगीकार गर्न पनि सबै जाति समुदायले आफ्नो मातृभाषाको संरक्षणमा लाग्न जरुरी रहेको बताउँदै मन्त्री पुनले प्रतिष्ठानले मगर भाषा, साहित्य र संस्कृतिको जगेर्नामा उल्लेखनीय भूमिका खेलिरहेकोभन्दै प्रसंशा गर्नुभयो ।

तीन साहित्यकार सम्मानितः
प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफामगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पुनले तीनजना साहित्यकारलाई नगदसहित सम्मानपत्रले सम्मानित गर्नुभयो । सो अवसरमा जीवसीम साहित्य पुरस्कारबाट रुद्र सन्देश मगर सम्मानित हुनुभयो । उहाँलाई नगद ६० हजार रुपैयाँ र सम्मानपत्रले मन्त्री पुनले सम्मानित गर्नुभयो ।

त्यस्तै, जयबहादुर हितान मगर स्मृति पुरस्कारबाट हिरासिंह थापामगर सम्मानित हुनुभयो । उहाँलाई नगद ३० हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिएको थियो । सोहीअनुसार जीवसीम नवप्रतिभा साहित्य पुरस्कारबाट लक्ष्मण घर्तीमगर सम्मानित हुनुभयो । उहाँलाई मन्त्री पुनले नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गर्नुभयो ।

मगर समुदायको भाषा, संस्कृति र साहित्यको उत्थानका निम्ति उल्लेखनीय भूमिका खेलेबापत उहाँहरुलाई सम्मानित गरिएको थियो । सो अवसरमा भाषा साहित्यमा योगदान दिएको भन्दै अन्य व्यक्तित्वहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा भाषा आयोगका अध्यक्ष तथा पत्रकार सन्त गाहामगर लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया