
लक्की चौधरी
काठमाडौं, वैशाख ६ गते । गत असोज १७ गते पार्टी एकता गर्नेगरी सातबुँदे सहमति गरेका वाम गठबन्धनका दुई दल नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा ढिलाई हुँदा नेता कार्यकर्ता तहमा एकताबारे आशंका उब्जिन थालेका छन् ।
दुई दलको एकता यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि चैत २१ गते गर्ने तयारी गरिएको थियो । तर एकता प्रक्रियाको गृहकार्य पूराहुन नसकेपछि एकता घोषणा हुन नसकेको बताइयो । सोपछि कार्यदलले सिफारिस गरेअनुरुप कम्युनिष्ट पार्टी स्थापना भएको दिन वैशाख ९ गते (अप्रिल २२) गर्ने तयारी थालियो ।
तर सो मिति आउन दुई दिनमात्र बाँकी छँदा गृहकार्य नपुगेको भन्दै ९ गते एकता घोषणा करिब नहुने निश्चित भएको छ । अब काल्स माक्र्स जन्मेको दिन वैशाख २२ गते पार्टी एकता घोषणाको उपयुक्त तीथि हुनसक्ने आँकलन वाम नेताहरुको छ । सो दिन माक्र्स जन्मेको दुईसय तीथि पुग्ने र सोहिदिन पार्टी एकता घोषणाको उपयुक्त समय हुने कार्यदलका सदस्य तथा एमाले नेता वेदुराम भुषालले बताए । ९ गते नहुने भएपछि २२ गते (मे ५) कालागि नेताहरुबीच आन्तरिक कुरा भइरहेको उनको भनाई छ ।
९ गते नहुने भएपछि २२ गते (मे ५) कालागि नेताहरुबीच आन्तरिक कुरा भइरहेको उनको भनाई छ ।
नयाँ पार्टी एकताकालागि गृहकार्य गर्न भन्दै दुईवटा कार्यदल गठन गरिएको थियो । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल संयोजकत्वमा राजनीतिक प्रतिवेदन र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा पार्टीको संरचना र अन्तरिम विधान तयारी कार्यदल बनाइएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको लामो समय भयो । यद्यपि थापा नेतृत्वको कार्यदलले आगामी पार्टीको चुनाव चिन्ह र माओवादीद्वारा प्रस्तावित जनयुद्ध शब्दमा सहमति नजुटाएर प्रतिवेदन दियो ।
सो विवादित विषय सल्टाउन कार्यदलले निकै गृहकार्य थाल्यो । कार्यदल बैठकले सल्टाउन नसकेपछि एमाले महासचिव तथा कार्यदलका सदस्य ईश्वर पोखरेल र संयोजक थापालाई सहमति गर्ने अख्तियारी दियो । एक सातासम्म दुईजना नेताले गृहकार्य गर्दासमेत सहमति जुट्न नसकेपछि विवादका विषय जस्ताकोतस्तै पार्टी एकता संयोजन समिति अर्थात् दुई अध्यक्षको नेतृत्वको समितिमा पठाउने निक्र्यौलमा कार्यदल पुग्यो । अहिले विवादसहितको प्रतिवेदन एकता संयोजन समितिमा थन्किएको छ ।
कार्यदलले दिएको प्रतिवेदन अध्ययनकोक्रममा रहेकाले अझै संयोजन समितिको बैठकमा सो विषयले प्रवेश नपाएको कार्यदलका सदस्यहरुको भनाई छ । दुई अध्यक्षबीच विवादको विषयमा टुंगो लगाएर मात्र संयोजन समितिको बैठक आव्हान गर्ने तयारी गरिएको छ ।
दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वान–टु–वान वार्ता सघनरुपमा भइरहेको छ । तर विनानिष्कर्ष बैठक सकिएको खवर बाहिर आइरहेका छन् । विहिबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । पुरानै विषयमा छलफल केन्द्रीत भएपनि कुनै ठोस सहमति नबनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वाम विश्लेषक भन्छन्
वाम विश्लेषक मुमाराम खनालले दुई पार्टीको एकता मुलुकका लागि आवश्यक भएकाले ढिलाचाँडो पार्टी एकता हुनेमा आफू विश्वस्त रहेको बताए । मुलुकको आर्थिक समृद्धि कायम गर्न राजनीतिक स्थायित्व अनिवार्य रहेको बताउँदै उनले अहिलेको राजनीतिक परिवेशले त्यसको झलक दिइरहेको बताए ।
“वाम एकता नहोस् भन्ने चाहने पनि तमाम होलान्, तर मुलुकको आर्थिक विकास र समृद्धिकालागि दुई दलको एकता अनिवार्य छ, दुई अध्यक्षहरु आफने व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा ध्यान दिनुपर्छ” उनले भने । नेपाली वामपन्थी नेताहरु बढी व्यक्तिवादी छन्, यो सबैलाई थाहा छ, तर उनीहरुले चाहेमा मुलुक बनाउन पनि सक्छन् विश्लेषक खनालले भने, “प्रतिशतमा समानताको कुरा माओवादीको बार्गेनिङमात्र हो, अन्ततः ६०–४० मै कुरा मिल्ने म देख्छुँ ।”
अर्का वाम विश्लेषक श्याम श्रेष्ठले पार्टी एकता मुलुकको आवश्यकता भएपनि नेताहरुको व्यवस्थापनको विषयले एकतामा आशंका उब्जाएको बताए । पहिलो पार्टीको सैद्धान्तिक र वैचारिक विषयलाई टुंगो लगाएर एकता प्रक्रिया अगाडि बढ्नुपथ्र्यो, त्यो नमिलाएर जाँदा अहिले समस्या देखिएको हो श्रेष्ठले भने ।
विश्लेषक खनालले भने, “प्रतिशतमा समानताको कुरा माओवादीको बार्गेनिङमात्र हो, अन्ततः ६०–४० मै कुरा मिल्ने म देख्छुँ ।”
एकताको सवाल महत्वपूर्ण रहेको भन्दै विश्लेषक श्रेष्ठले भने, “अब बन्ने नयाँ पार्टीको केन्द्रीय कमिटीमा ५०–५० प्रतिशतको हैसियत नहुने हो भने माओवादीको एउटा पनि एजेण्डा पारित हुने अवस्था रहँदैन, त्यही डरले अध्यक्ष प्रचण्डले ५० प्रतिशतको कुरा उठाएका हुन् ।” ठूलो दल एमाले हो त्यसैले उसले छाती ठूलो पार्न सक्नुपर्छ श्रेष्ठले सुझाव दिए ।
वाम विश्लेषक तथा पूर्व एमाले नेता मोदनाथ प्रश्रितले पार्टी एकता घोषणा वैशाख मसान्तभित्रै हुनेमा आफू विश्वस्त रहेको बताए । प्रमुख दुई नेताको सही व्यवस्थापन हुनसके बाँकी विषय गौण हुन भन्दै त्यसकैलागि अहिले एकतामा ढिलाई भइरहेको उनले टिप्पणी गरे ।
वाम एकता अहिलेको मुलुकको लागि बाध्यता हो, कुन दललाई फाइदा वा घाटाको विषय होइन, विश्लेषक प्रश्रितले भने, “६०–४० को हैसियतमा दुवै दलको एकता हुनुपर्छ, त्यसरी नै दुवै दलको सम्मान हुन्छ, अनावश्यक वार्गेनिङमा लाग्नु हुँदैन ।” वाम एकता नभएमा मुलुक पुनः राजनीतिक अस्थिरतामा धकेलिने र मुलुकको आर्थिक समृद्धि सपनामात्र हुने उनले सुनाए ।




