
काठमाडौं, वैशाख १२ गते । गोरखाली भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष कुष्णकुमार राईले आफूहरुको माग र आन्दोलन सबै नेपाली र जनजातिको माग र आन्दोलन भएकाले सम्बोधन गराउनमा सहयोग गर्न पत्रकारसँग आग्रह गर्नुभएको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारीहरुसँग छलफल गर्दै अध्यक्षसहित गेसोका पदाधिकारीहरुले सो माग गरेका हुन् । भूतपूर्व सैनिकहरुको बेलायत सरकारसँग राखिएको माग नेपालीकै साझा माग भएकाले नेपाल सरकारले पहल लिनुपर्ने उहाँहरुको भनाई छ ।
तर सरकारले सो बारेमा अझै चित्तबुझ्दो पहल लिन नसकेको भन्दै गेसोका पदाधिकारीले दुःख व्यक्त गर्नुभयो । आदिबासी जनजातिको माग भनेर सरकारले पन्छाइरहेको महुशस आफूहरुलाई भएको गुनासो उहाँहरुको छ ।
बेलायती सेनामा काम गर्दा र पाउनुपर्ने सुविधाका विषयमा आफूहरुलाई बेलायत सरकारले विभेद गरेको भन्दै लामो समयदेखि भूतपूर्व सैनिकहरु संघर्षमा हुनुहुन्छ । बेलायती सेनामा भर्ना भई काम गरेका नेपालीहरु अवकास पाउँदा पाउनुपर्ने सुविधा नपाएर विभेदको शिकार हुँदैआएका छन् । सरकारलाई पहल गरिदन गेसोका पदाधिकारीले निरन्तर आग्रह र दवावका कार्यक्रम गर्दैआएका छन् ।
गेसोले गोरखा सैनिकहरुलाई समानताको सिद्धान्तमा व्यवहार गरिनुपर्ने, अवकाश प्राप्त भएपछि पाउने पेन्सनमा समानता हुनुपर्ने, गोरखा सैनिकलाई अलग्गै नागरिकता सम्बन्धी व्यवस्था गरिनुपर्ने लगायतका माग राखी संघर्ष गर्दैआएका छन् ।
सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरुङले गेसोको माग जायज भएकाले त्यसको सुनुवाई गरिनुपर्ने बताउनुभयो । गेसोको माग नेपालीको माग भएको बताउँदै सम्बोधन गराउन सरकारले नै पहलकदमी लिनुपर्ने उहाँले बताउनुभयो ।
पत्रकारिताको माध्यमबाट दवाव सिर्जना गर्ने काममा फोनिजको तर्फबाट जहिले सहयोग रहने प्रतिवद्धता जनाउँदै उहाँले गेसोको माग सम्बोधन गराउनमा फोनिजले पनि सकारात्मक दवावको कार्यक्रम गर्ने प्रष्ट पार्नुभयो । सो अवसरमा गेसाको उपाध्यक्ष, कोषाध्यक्षसहित पदाधिकारी र फोनिजका पदाधिकारीहरुबीच छलफल भएको थियो ।




